अविनाश चौधरी
धनगढी, असार १८ गते । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सरकारले नीतिगत प्रतिबद्धता अनुसार नै आगामी आर्थिक वर्षको बजेट बनाएको बताउनुभएको छ ।
प्रदेश सभामा बजेटमाथि छलफलको क्रममा उठेको विषयमा जवाफ दिदैं उहाँले बजेट नीतिगत प्रतिबद्धताभन्दा फरक नरहेको उल्लेख गर्नुभयो । चार बुँदे नीतिगत प्रतिबद्धतालाई अङ्गिकार गरेर सरकारले बजेट बनाएको भन्दै उहाँले थप्नुभयो,“नीतिगत प्रतिबद्धताविपरीत बजेट बनेको प्रमाणसहित प्रमाणित भएमा प्रदेश सरकार कारबाहीको भागेदार हुन तयार छ ।”
मन्त्री थापाले सरकार बजेट किनबेच र बिचौलिया प्रवृत्तिको विरुद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले एक हजारदेखि पाँच हजारसम्मका योजना प्राविधिक त्रुटि रहेको जनाउँदै त्यस्ता योजना कार्यान्वयन नहुने स्पष्ट पार्नुभयो ।
१० लाखमुनिका योजना नबनाउने सरकारले नीतिगत प्रतिबद्धता जनाए पनि केही अति आवश्यक र चाँडै प्रतिफल दिने योजनालाई सरकारले अपवादको रुपमा राखेको मन्त्री थापाको स्वीकारोक्ति थियो । उहाँले रातो किताबप्रति सबै प्रदेश सभा सदस्यको सहमति रहेको र खुशी व्यक्त गरेको जिकिर गर्नुभयो ।