• १८ असार २०८२, बुधबार

गठबन्धनको विकल्प छैन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, असार १८ गते । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सरकारका कामकारबाहीका सन्दर्भमा गम्भीर विमर्श भएको छ । असार १६ गते सुरु बैठकको दोस्रो दिन मङ्गलबार नेताहरूले सरकारका काम प्रभावकारी बनाउनुपर्ने बताउँदै पक्षविपक्षमा बहस गरेका हुन् । 

बैठक कांग्रेस केन्द्रीय सदस्य एवं गृहमन्त्री रमेश लेखकले सरकारका कामकारबाही र सञ्चालनमा कुनै समस्या नरहेको प्रस्ट पार्नुभयो । उहाँले कांग्रेस र एमालेका शीर्ष नेता सम्मिलित उच्चस्तरीय संयन्त्रले काम गरिरहेको, सरकारको कामलाई प्रभावकारी बनाउनुपर्ने र गठबन्धनको विकल्प खोज्न नहुने बताउनुभयो । 

बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेससँग गठबन्धनका धेरै विकल्प नरहेकाले समीकरणको अभ्यासभन्दा पनि काममा ध्यान दिनुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य रामहरि खतिवडाले निजामती सेवा विधेयकको व्यवस्था हेरफेरमा आफू संलग्न नरहेको दाबी गर्नुभयो । उहाँले छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । 

केन्द्रीय सदस्य विनोद चौधरीले सोमबार केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राखेको भनाइप्रति आपत्ति व्यक्त गर्नुभयो ।  डा. कोइरालाले मधेशी कोटाबाट केन्द्रीय सदस्य बनेका चौधरीको योग्यतामाथि प्रश्न उठाउनुभएको थियो । बैठकमा कांग्रेसले नेकपा (एमाले) सँगको सत्ता साझेदारी प्रभावकारी बनाउन पर्याप्त गृहकार्य नभएका नेताहरूले बताए । साथै गठबन्धनको विकल्प नसोचिए पनि काम गर्ने शैली बदल्न माग गरे । संसद्मा रहेका विधेयक, निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन गर्न गरिएको घटनासहित समसामयिक विषयमा नेताहरूले धारणा राखेका छन् । 

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय सदस्यहरू रमेश रिजाल, उमा रेग्मी, जिपछिरिङ लामा, अर्जुनप्रसाद जोशी, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, डिला सङ्ग्रौला, किरण यादव, लक्ष्मी परियार, कृष्णकिशोर घिमिरे, टेकप्रसाद गुरुङ, चन्द्रबहादुर केसी, मानबहादुर नेपाली, उदयशमशेर राणा, दिलमान पाख्रिन, गुरु बराल, उर्मिला नेपाल केसी, सीताकुमारी राना, राधा घले, सीतादेवी देवकोटा, शारदा पौडेल र आमन्त्रित सदस्य पुष्पराज पराजुलीले बोल्नुभयो । बैठकमा पार्टीको सयदिने अभियानका प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन र प्रतिष्ठानको प्रतिवेदन, अनुशासन समितिको प्रतिवेदन, क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण प्रस्तुत गरिएको छ ।