• २३ असार २०८१, आइतबार

बालबालिकालाई शिक्षा शिविर

blog

दिपायल समाचारदाता

दिपायल, साउन २६ गते । आदर्श गाउँपालिका–१, बाहुनटाँकका नवीन खड्का कक्षा ३ मा पढ्छन् । अरू दिन विद्यालय गए पनि शनिबारको बिहान ७ बजे पढाइ शिविरमा सहभागी बन्छन् । पढाइ शिविरमा सहभागी हुनुअघि पढाइमा मन नलगाउने, बोल्न लजाउने नवीन विद्यालयबाट फर्केपछि बिदाको समय गाउँघर डुलेरै बिताउँथे । नवीनकी आमा कल्पनाका अनुसार उनी अहिले निरन्तर विद्यालय जान्छन् । पढ्न रुचाउँछन् । निर्धक्क बोल्न र प्रश्नको जवाफ दिन्छन् । घरको पढाइ कुनामा आफूले बनाएका चित्र र पुस्तक जतन गरी राख्छन् । 

आदर्श–५, पिडकी लक्ष्मी धामी पनि आत्मविश्वाससाथ आफ्नो प्रस्तुति दिन सक्छिन् र निरन्तर पठनपाठनमा ध्यान दिन्छिन् । नवीन र लक्ष्मी मात्र होइन, उनीहरूजस्तै धेरै बालबालिका पढाइ शिविरका कारण आफ्नो सिकाइ स्तर र अतिरिक्त क्रियाकलापमा समेत अब्बल बन्न थालेका छन् । 

पढाइ शिविरको लक्ष्य बालबालिकामा बुझेर पढ्ने बानीको विकास गरी सिकाइ उपलब्धि बढाउने रहेको छ । अहिले डोटीको आदर्श गाउँपालिका, सायल गाउँपालिका, पूर्वीचौकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका ९२ वटा टोलमा पढाइ शिविर केन्द्र सञ्चालन गरिएको छ । प्रारम्भिक शिक्षालाई गुणस्तरीय र बालबालिकामा नियमित पढ्ने बानीको विकास गर्न बालबालिकाको सिकाइ उपलब्धिमा वृद्धि गर्न शिविर सञ्चालन गरिएको सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष हेमराज जोशीले बताउनुभयो ।

हरेक हप्ताको शनिबार सञ्चालन हुने पढाइ शिविरमा तीन वर्ष उमेर पुगेका बालबालिकादेखि कक्षा ३ सम्म पढिरहेका बालबालिकाको सहभागिता हुन्छ । वल्र्ड भिजन इन्टरनेसनलको आर्थिक सहयोगमा सामुदायिक विकास केन्द्र र सिड नेपाल डोटीले जिल्लाका विभिन्न समुदायमा पढाइ शिविरलगायत अन्य शैक्षिक कार्यक्रम गर्दै आइरहेका छन् । ९२ वटै पढाइ शिविर केन्द्रमा एक÷एक जना तालिमप्राप्त पढाइ विकास सहजकर्ता राखेर गाउँभरिका बालबालिकालाई एक ठाउँमा भेला गराएर हरेक शनिबार ९० मिनेटको कक्षा सञ्चालन गरिन्छ । सहजकर्तासँग बालबालिका खेल खेल्ने, गीत गाउने, कथा सुन्ने र चित्र बनाउने पनि गर्छन् । शिविरमा आउने बालबालिकालाई कापी, किताब, पेन्सिललगायतका शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराइन्छ । शिविरबाट ३ कक्षा पास गरेका बालबालिकालाई प्रमाणपत्रसहित बिदाइ गरिन्छ ।

शिविरमा बालबालिकालाई सातवटा चरणमा पढाउने गरिन्छ । सुरुमा स्वतन्त्र खेलबाट सुरु हुने कक्षा क्रमशः बाल गीत, विषयवस्तु, कथा, पढ्ने लेख्ने क्रियाकलाप, बनाऊ र लैजाऊ हुँदै दैनिकी लेख्न लगाएर अन्त्य हुन्छ । शिविरमा आउने बालबालिकामा बढ्ने बानीको विकास भएको अभिभावक बताउँछन् । शिविरमा आउने बालबालिकाका अभिभावकलाई महिनाको एक दिन भेला गराएर सचेतना गोष्ठी पनि गरिन्छ । जसले गर्दा अभिभावकमा आफ्ना बालबालिकाको पढाइ, सरसफाइलगातका कुरामा ध्यानाकर्षण गराउँछ । पढाइ शिविर सञ्चालन भएपछि विद्यालयमा पनि राम्रो प्रभाव परेको प्रधानाध्यापक गणेशप्रसाद अवस्थीको दाबी छ । पढाइ शिविर प्रभावकारी देखिएकाले परियोजनाको समयावधिपछि पनि गाउँपालिकाले कार्यक्रमलाई निरन्तरता दिने आदर्श गाउँपालिकाका अध्यक्ष गणेश खड्काले बताउनुभयो । 

शिक्षा परियोजनाले गाउँपालिकामा सुरुवात गरेको पढाइ शिविरले बालबालिकामा पढ्ने बानीको विकास भएको जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला परियोजना सल्लाहकार समितिका संयोजक लक्ष्मणबहादुर सिंहले बताउनुभयो । पढाइ शिविर सञ्चालन हुने ठाउँ बालबालिकाको रुचि जाग्ने खालका चित्र भएका पुस्तक, पोस्टर, रङ्गीन प्ले कार्ड, कथाका पुस्तकलगायतका शैक्षिक सामग्रीले सजाएको पाइन्छ । जसले गर्दा बालबालिका सिक्न पढ्न निकै उत्साहित हुन्छन् ।

घरघरमा पढाइ कुनो

शिविरमा आउने बालबालिकाको घरमा अभिभावकको सहकार्यमा पढाइ कुना बनाइएकोे हुन्छ । घरको एउटा कोठामा बालबालिकाका शैक्षिक सामग्री, पोसाक आदि राखिएको ठाउँलाई पढाइ कुना भनिन्छ । पढाइ शिविरमा बालबालिकाले आफूलाई मन पर्ने चित्र बनाइ आफ्नो घरको पढाइ कुनामा सजाउने गरेको आदर्श गाउँपालिका–५ स्थित पढाइ शिविर सहजकर्ता भगवती धामीले बताउनुभयो ।

उहाँका अनुसार बालबालिका घरमा समेत रुचिपूर्ण तरिकाले पढून् भन्ने उद्देश्यले गाउँघरमा पढाइ कुनालाई अनिवार्य गरिएको छ । घरमा पढाइ कुना राखेसँगै बालबालिका चाँडै घर आउने, खाना खाइसकेपछि पनि आफ्नो पठनपाठनमा लाग्ने चित्र बनाउने, विद्यालयबाट फर्किसकेपछि गृहकार्य गर्नेजस्ता क्रियाकलापमा लाग्ने गरेको अभिभावक बताउँछन् ।