सिराज खान
नेपालगन्ज, चैत १९ गते । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा हनुमान जयन्तीको अवसरमा बिहीबार भव्य शोभायात्रा निकालिएको छ । सुन्दरकाण्ड मित्र मण्डल हनुमत गौशाला र त्रिशक्ति मन्दिर नेपालगन्जको संयुक्त आयोजनामा रामभक्त श्री हनुमान जयन्तीको अवसरमा शोभायात्रा निकालिएको हो ।
विभिन्न प्रकारका झण्डा, ब्यानर र झाँकीसहित निकालिएको शोभायात्रामा ठुलो सङ्ख्यामा भक्तजनको सहभागिता थियो । शोभायात्राले नगर परिक्रमा गर्दा स्थानीयवासीले एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । कसौधन समाज संरक्षक मण्डलका अध्यक्ष नन्दलाल वैश्यका अनुसार सो अवसरमा त्रिभुवन चोक लगायतका विभिन्न स्थानमा सर्वत पानी र प्रसाद वितरण गरिएको थियो ।
हनुमान जयन्तीकै अवसरमा बिहीबार सुन्दरकाण्ड मित्र मण्डल हनुमत गौशालाले बृहत् भण्डाराको आयोजना गरेको छ भने साँझ त्रिशक्ति मन्दिरमा समेत भण्डारा आयोजना गरिने अध्यक्ष वैश्यले जानकारी दिनुभयो ।
भगवान् श्री हनुमानको असीम कृपा, शक्ति, साहस र भक्तिको चर्चा गर्दै शोभायात्रासँगै विशाल मोटरसाइकल र्याली समेत निकालिएको सुन्दरकाण्ड मित्र मण्डल हनुमत गौशालाका संयोजक पवन जयसवालले बताउनुभयो । सहरका विभिन्न स्थानबाट सुरु भएको यात्रा गौशाला पुगेर समापन भएको थियो । शोभायात्राका माध्यमबाट सनातन धर्म, संस्कार र एकताको सन्देश फैलाइएको त्रिशक्ति मन्दिरका अगुवा नरेश अग्रवालले उल्लेख गर्नुभयो ।
हनुमान जयन्तीकै अवसरमा नेपालगन्ज उपमहानगरपालिका–२ स्थित हनुमानगढीमा तीन दिनसम्म अखण्ड रामायण पाठ, अष्टयाम सङ्कीर्तन एवं निशान पूजनसहितका विविध कार्यक्रम भइरहेका छन् ।