गोरखापत्र अनलाइन
भक्तपुर, चैत १९ गते । दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८२ हुने भएको छ । महोत्सवको आकर्षण ‘लन्डन ब्रिज’ राखिने आयोजकको भनाइ छ । महोत्सव चैत २६ देखि २०८३ वैशाख ६ गतेसम्म सञ्चालन हुने आयोजकको भनाइ छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक दीपक थापाले महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ राखिने जानकारी दिनुभयो । महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेलका साधनहरू व्यवस्था गरिने संयोजक थापाले बताउनुभयो ।
नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर भक्तपुरमा महोत्सव आयोजना हुने उहाँको भनाइ छ ।
औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज ब्याण्डको आयोजनामा महोत्सव सल्लाघारीस्थित चौउरमा ११ दिनसम्म सञ्चालन हुने संयोजक थापालेट जानकारी दिनुभयो । “भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ विगत वर्षहरूदेखि निरन्तर रूपमा यो महोत्सव आयोजना गर्दै आएका छौं” थापाले भन्नुभयो ।
उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने आयोजकको तयारी छ । साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवर्धन गर्नु पनि महोत्सवको अर्को मुख्य उद्देश्य रहेको संयोजक थापाको भनाइ छ।
ती स्टलहरूमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि राखिने छ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिनुभयो ।
त्यसैगरी विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति दैनिक रूपमा आयोजना हुने अध्यक्ष महतको भनाइ छ । महोत्सवमा उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवर्धन गर्नुका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउने आयोजकको तयारी छ ।
चैत २६ गतेदेखि नयाँ सालको वैशाख ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा रहेका स्टलबाट करिब ५ करोडको व्यापार हुने विश्वास गरिएका छ । २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सव हेर्न काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रापेछाप, सिन्धुलीलगायतका जिल्लाबाट स्थानीयहरु आउने विश्वास गरिएको छ ।
महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरू रहने छन् । प्रवेशका लागि विद्यार्थीका लागि ५० रुपियाँ तथा सर्वसाधारणका लागि १०० रुपियाँ टिकट दर निर्धारण गरिएको छ । २०८३ बैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकार सहभागी सांस्कृतिक कार्यक्रम आयोजना गर्ने निर्देशक सुनिल बज्राचार्यले बताउनुभयो ।