• ५ साउन २०८१, शनिबार

बाढीले क्षति पुगेपछि दुई हजार घरधुरीमा खानेपानीको हाहाकार

blog

भादगाउँ खानेपानी आयोजनाको बाढीले क्षति पुर्याएको क्षेत्र। तस्बिर–गोरखापत्र

अमररराज नहर्की

तनहुँ, साउन ५ गते।  बाढीले क्षति पुगेपछि तनहुँको व्यास नगरपालिका–१ र १२ का दुई हजार भन्दा धेरै घरधुरीमा खानेपानीको अभाव भएको छ।  

खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि दश दिन अघिदेखि हाहाकार भएको हो। भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले १४ किलोमिटर टाढामा रहेको व्यास नगरपालिका–१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि पानी आपूर्ति बन्द हुँदा  समस्या भएको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो। 

एक साता सञ्चालनमा ल्याउने गरी मर्मत सम्भारको काम भइरहेको उहाँले जानकारी दिनुभयो। बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि उपभोक्ता काकाकुल भएको उहाँले बताउनुभयो । 

सानाठुला गरी चार आयोजनाबाट पानी सङ्लन गरी व्यास नगरपालिकाको वडा नम्बर १ र १२ का दुई हजार छ सय ८० घरमा खानेपानी आपूर्ति गर्दै आइरहेको थियो। खरखाँदी मुहानको पानीको क्षमता प्रतिसेकेन्ड नौ लिटर रहेकामा पहिरोले अवरुद्ध भएपछि पानी वितरणमा समस्या भइरहेको समितिले जनाएको छ। समितिका अनुसार छाब्दी मुहान, छाब्दी खोलाका दुई बोरिङ र धुपखोला मुहानका पानी प्रयोग गर्दा प्रतिसेकेन्ड १५ लिटर सङ्लन हुँदै आएको थियो। बाढीले नोक्सान पुर्‍याए पछि ट्याङ्कीमा पानी जम्मा गर्न समस्या भएकोले वितरण बन्द भएको छ।