• २३ असार २०८१, आइतबार

जोखिममा कपुरकोट

blog

सल्यान समाचारदाता

सल्यान, साउन २६ गते । कपुरकोट बजार पहिरोको जोखिममा परेको छ। खारा पहिरोका कारण कपुरकोट गाउँपालिका–३ को कपुरकोट बजार र राप्ती लोकमार्ग बर्सेनि भासिँदै गएका छन्।

पहिरोका कारण कपुरकोट बजारका चार दर्जनभन्दा बढी घरधुरी अति जोखिममा रहेका छन्। कपुरकोट गाउँपालिका–२, कपुरकोटका केशव शर्माले दिनप्रतिदिन जमिन भासिँदै गएपछि स्थानीयवासी त्रसित भएको बताउनुभयो।

सडकछेउमा रहेका घर जमिनसंगै भासिएपछि राप्ती लोकमार्ग पनि भासिँदै गएको छ। स्थानीय मधुसूदन गिरीले घर भासिएर क्षति भएको बताउनुभयो। उहाँका अनुसार पहिरोले बस्ती जोखिममा परेको छ। व्यवसायीहरू भासिएको जमिनमा रहेका सटरमा दिनभर व्यवसाय चलाएर राति अन्तै बास बस्न जाने गरेका छन्। पहिरोका कारण बजार, राप्ती लोकमार्ग र कालिका माध्यमिक विद्यालय उच्च जोखिममा रहेका छन्। 

आठ वर्षअघि वर्षासँगै आएको पहिरोले बजार नजिकैको कालिका माध्यमिक विद्यालयका तीन भवन बगाएको थियो। बीच बजारमा रहेको लोकमार्ग दुई मिटर भासिँदा दुईवटा पक्की घरसहित दर्जन घुम्ती भत्किएका छन्। कपुरकोट–३ की तारादेवी सेनले पहिरोले भासिएका मर्मत गरी भासिएका र चर्किएका घरमा बस्दै आएको बताउनुभयो। बस्तीदेखि करिब ४० मिटर दूरीमा रहेको खारा पहिरोबाट निरन्तर माटो बगिरहेको छ। यसले थप जोखिम निम्त्याएको स्थानीय भीमबहादुर भण्डारीले जानकारी दिनुभयो।

लोकमार्ग बग्ने खतरा

कपुरकोट बजारमा जमिन भासिँदै गएपछि राप्ती लोकमार्ग पनि जोखिममा परेको छ। सो लोकमार्ग पहिरोको जोखिम क्षेत्र हुँदै अगाडि बढ्छ। यसलाई समयमै रोक्न सकिएन भने लोकमार्ग नै अवरुद्ध हुने त्रास छ।

स्थानीय घनश्याम शर्माले राप्ती लोकमार्ग भासिएमा सल्यान, रोल्पा, रुकुम, डोल्पा आवतजावत गर्ने स्थानीय बासिन्दा प्रभावित हुने तथा अर्बौंको क्षति राज्यलाई हुने बताउनुभयो।