• ८ असार २०८१, शनिबार

बलियो राजनीतिक शक्ति बनाउने संकल्प

blog

‘सङ्कल्प’ भनेको काम गर्ने दृढ निश्चय हो । यसलाई ‘मनसुवा, परिणाम निकाल्ने आकस्मिक प्रस्ताव, पुरोहितद्वारा पढिने प्रतिज्ञावाक्य’ भनेर पनि बुझ्न सकिन्छ । कलियुगमा यो शब्दको धेरै दुरुपयोग हुने गरे पनि सत्य युगतिर यसको भरपुर सदुपयोग भएको उदाहरण धार्मिक ग्रन्थहरूमा हामी पढ्छौँ । कलियुगमा जे सङ्कल्प गरे पनि हुने, जे कसम खाए पनि हुने तर कार्यान्वयन गर्दै नगर्ने प्रवृत्ति छ । अर्थात् सङ्कल्प शब्दलाई मानवद्वारा नै हल्का बनाइएको छ । शब्दको वजनलाई व्यवहारमा कार्यान्वयन गरेर सम्मान गरिएको छैन । त्यसैले वर्तमान युगलाई कलियुग भनिएको होला । सत्य त सत्य नै हो । सत्य कसैलाई दिएको वचन हो । प्रतिज्ञा र कबुल हो । पृथ्वीभन्दा माथिको सात लोकमध्ये सबैभन्दा माथिल्लो लोक ‘सत्यलोक’ हो भनिन्छ । जहाँ ईश्वर र देवताको बास छ, त्यही सत्यलोक हो भनेर धर्मले भन्छ । सत्य, त्रेता, द्वापर र कलि गरी चार युग छन् । त्यसमध्ये पहिलो युग सत्ययुग हो । 

नागरिकको विश्वास जित्न नेता तथा नेतृत्व र राजनीतिक दलले काममा खरो उत्रनै पर्छ ।

झट्ट हेर्दा राजनीतिक जीवनमा सङ्कल्प शब्दको अधिक दुरुपयोग भएको देखिन्छ । जनतासँग जे पनि वाचा गर्ने, वचन दिने, प्रतिबद्धता जनाउने, कसम खाने, सङ्कल्प गर्ने तर कार्यान्वयन गर्दै नगर्ने प्रवृत्ति राजनीतिक दलका नेतामा विद्यमान देखिन्छ । त्यसैले हो नेता तथा नेतृत्वले भाषण गर्दैमा, लिखित मौखिक सङ्कल्प गर्दैमा कार्यान्वयन ‘भइहाल्छ’ भन्ने विश्वास नागरिकले गरिहाल्दैनन् । नागरिकको विश्वास जित्न नेता तथा नेतृत्व र राजनीतिक दलले काममा खरो उत्रनै पर्छ । कामबाटै नागरिकको विश्वास जित्न सकेमात्र सङ्कल्प शब्दको सार्थकता रहन्छ । अन्यथा ‘कलियुगमा यस्तै हो’ भन्ने बुझाइ आमरुपमा रहिरहन्छ ।  

विशेषगरी चुनावताका सबै राजनीतिक दलले ‘यो गर्छु त्यो गर्छु’ भनेर सङ्कल्प गर्ने गर्छन् । नेता तथा उम्मेदवारले समाज र आम नागरिकबिच आफ्नै किसिमको प्रतिबद्धता र सङ्कल्प गर्छन् । निर्वाचित भएपछि गरिएका प्रतिबद्धता र सङ्कल्प पूरा गर्दैनन् । सीमित स्रोत र साधनका कारण सबै वाचा पूरा नहुन सक्लान् । तर थोरै भए पनि गरेर देखाउँदा जनतामा विश्वास पलाउँछ । जति गर्न सक्ने हो त्यति मात्र वाचा गर्न पनि सकिन्छ । चुनावताका नेताहरू बहकिन्छन् । जनतामाझ अनेक वाचा बन्धन गर्न पछि हट्दैनन् । आफूले गरेको सङ्कल्प पूरा नहुँदा पनि आत्मालोचना गर्ने बानी छैन । त्यही प्रवृत्तिबाट जनता निराश हुन्छन् । जनतामा अविश्वास गहिरो हुँदैजान्छ । आत्मालोचना गर्दा सानो भइहाल्ने होइन । तर पनि गर्दै नगर्ने प्रवृत्ति छ । राजनीतिक दल, दलका नेता तथा नेतृत्व गण रूपान्तरण हुनैपर्छ । जे काम गर्न सक्छौँ त्यति मात्र सङ्कल्प गर्नुपर्छ ।  

धर्मले भन्छ, शिव भगवान् पटक–पटक अवतार लिएर पृथ्वीलोकमा जन्मे । असत्यलाई सत्यमा बदल्न कहिले ‘बजरङ’, कहिले अन्य रूपमा आए । विष्णु भगवान् पनि राम, गौतमबुद्ध, कृष्णको रूपमा पृथ्वीलोकमा अवतरण भए । अधर्मलाई समाप्त गर्न अनेक रूप धारण गरी भगवानले भूमिका निर्वाह गरेको विश्वास गरिन्छ ।  धर्मलाई सत्य र सत्यलाई धर्मसँग तुलना गरिन्छ । हामी धर्मग्रन्थ त पढ्छौँ तर व्यवहारमा कार्यान्वयन गर्न बिर्सन्छौँ ।  

आत्मालोचना गर्दा सानो भइहाल्ने होइन । तर पनि गर्दै नगर्ने प्रवृत्ति छ ।

एमालेले समृद्धिका लागि सङ्कल्प यात्रा २०८० नाम दिएर झुलाघाट–चिवाभञ्ज्याङको मध्यपहाडी यात्रा सम्पन्न गर्‍यो । मङ्सिर १४ देखि पुस १ गतेसम्म करिब एक करोड २० लाख बसोबास गर्ने जनतामाझ यात्रा सम्पन्न गरेर विभिन्न सात (७) सङ्कल्प कार्यान्वयन गर्ने वचन दिएर फर्क्यौ । त्यही सङ्कल्पको कठघरामा आज एमाले उभिएको छ । जनताले एमालेलाई नियालिरहेका छन् । सो दलले आफ्नो अभियानलाई केवल यात्रा भनेन । ‘सङ्कल्प यात्रा’ भन्यो । अर्थात् समृद्धिका लागि सङ्कल्प यात्रा । यसर्थ, उसले गरेका सङ्कल्प कार्यान्वयन गर्नैपर्छ । कार्यान्वयन गरे एमालेलाई अवश्य सफलता प्राप्त होला । दलीय व्यवस्थामा जनता नै सर्वेसर्वा हुन्छन् । नीति निर्माणमा दलका प्रतिनिधिको नेतृत्वदायी भूमिका रहेजस्तै दललाई बलियो बनाउने या कमजोर त्यो शक्ति जनतामा निहित हुन्छ । 

एमालेसामु चुनौती र अवसर दुवै छ । चुनौतीलाई अवसरमा बदल्न सक्नु नै सफलता हुनेछ । नेल्सन मण्डेलाले भनेका छन्, ‘एउटा पहाड उक्लेपछि थाहा हुन्छ चढ्न अझ धेरै पहाड बाँकी छन् ।’ एमालेका लागि यी सङ्कल्प त केवल प्रारम्भिक पहाड उक्लाइ मात्र हुन् । यस्ता कठिन यात्रा त कति तय गर्नुपर्छ, पर्छ । समृद्ध नेपाल, सुखी नेपालीको प्रतिबद्धता पूरा गर्न अझ संयौं यस्ता पहाड उक्लिनु पर्छ । यो कुरा एमालेजनलाई राम्ररी थाहा छ ।

यात्राको सङ्कल्प 

मूलतः एमालेले गरेको सङ्कल्पमा लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ उन्नत लोकतान्त्रिक गणतन्त्र हो भनेको छ । त्यसमा पछि नहट्ने सङ्कल्प गरेको छ । विविधता भित्रको एकता नेपालको पहिचान भएकाले यसलाई अझ सुदृढ बनाउने अर्को सङ्कल्प गरेको छ । सुशासनको प्रत्याभूति गर्न विकासको यात्रालाई निर्बाध अघि बढाउने र ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा साकार गर्ने अर्को सङ्कल्प छ । त्यस्तै, सङ्कल्प यात्राका क्रममा जनताले राखेका माग अलपत्र पर्न नदिई कार्यान्वयन गर्ने अठोट लिएको छ । दलको नेतृत्वमा सरकार बन्नासाथ दिगो समाधान गर्ने सङ्कल्प गरेको छ । पहाडी भूभागलाई समृद्धिको केन्द्र बनाउने एमालेको सङ्कल्प छ । मध्यपहाडी लोकमार्गलाई स्तरीय, छरितो, दिगो र सुविधायुक्त राजमार्गका रूपमा विकास गर्ने जनतामाझ सङ्कल्प गरेको छ । र, एमालेलाई बहुमत प्राप्त राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने सङ्कल्प उसको छ । यी सङ्कल्प पूरा गर्न सहज त छैन । तर असम्भव पनि छैन ।

सङ्कल्प कार्यान्वयन

मध्यपहाडी लोकमार्ग स्तरीकरणलाई समृद्धिको मेरुदण्ड बनाउन सम्भव छ । पहाडी क्षेत्रका बासिन्दालाई पहाडी क्षेत्रमै रोक्ने र सो क्षेत्रलाई उर्वर बनाएर देशको समृद्धि सम्भव बनाउन सकिन्छ । पहाडी क्षेत्रलाई पर्यटन हब पनि बनाउन सकिन्छ । जडीबुटी, फलफूल उत्पादन र खानीको हबको रूपमा विकास गर्न सकिन्छ । विजुलीबत्ती परियोजनाको विकास गरी सेतो सुन आर्जन गर्न सम्भव छ । तर चुस्त योजना, लगानी र कार्यान्वयन चाहिन्छ । एमालेले आफ्नो नेतृत्वमा यो काम गर्न सकेमा समृद्धि सम्भव छ । उत्तरी भू–भागमा असरल्ल सेता हिमाल छन् । पर्यटकलाई त्यहाँ पुर्‍याउन सके पर्यटन क्षेत्रबाटै नेपालको समृद्धि सम्भव हुन्छ ।

मुलुकको समृद्धि जनताको पूर्ण सहयोगमा सम्भव छ । र, त्यो तब सार्थक हुन्छ जब जनताले प्रत्यक्ष तथा परोक्ष रूपमा दल, नेता र कार्यकर्तासँगै हातेमालो गर्न लामबद्ध हुन्छन् । जनताहरू दलसँग हातेमालो तब गर्छन् जब दलले जनताको पूर्ण विश्वास जित्न सफल हुन्छन् । जनताको विश्वास आर्जन गर्ने सरल उपाय भनेकै दलका नेता, कार्यकर्ता जनतामाझ पुग्नु हो । जनताको समस्यालाई आफ्नो समस्या ठानेर समाधानको उपाय खोज्नु हो । दुःखमा र सुखमा साथ रहनु हो । एमालेले अभियानलाई जनताकेन्द्रित गरेर सकारात्मक सन्देश दिइसकेको छ । हिमाल, पहाड र तराई सबै क्षेत्रका जनतामाझ एमाले यसैगरी पुग्नुपर्छ । खुसीको कुरा त के भने एमालेले सङ्कल्प यात्रा सम्पन्न गरेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा, नेकपा (एस) लगायतका दलले पनि अनुसरण गरिरहेका छन् । यसले एमालेप्रति जनताको विश्वास बढाएकै छ । नेतृत्वकर्ता दल एमाले हो भन्ने सन्देश प्रवाह भएको छ ।  

मुलुकको समृद्धि पहाडी क्षेत्रको विकासले मात्र हुने होइन । सबै भूगोलको समग्र विकासले सम्भव हुने हो । दलका नेता आफू सच्चिएर कार्यकर्तालाई त्यहीअनुरूप सुधार्न सक्नुपर्छ । खोलाको पानी सङ्लिन मुहान नै सङ्लिनुपर्छ भनेझैँ सबै दलका नेतृत्व पहिले सच्चिनुपर्छ । नेतृत्वको आनीबानी र व्यवहार सङ्लिनुपर्छ । नीति बनाएर मात्र हुँदैन, व्यवहारमा रूपान्तरण गर्नुपर्छ । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाइ जनताको प्रिय दल बन्न एमालेले सङ्कल्प कार्यान्वयन गर्नैपर्छ ।

गठबन्धन टिकाउने सङ्कल्प  

फागुन २१ गते पुनः एमाले–माओवादी केन्द्र–रास्वपा–जसपा–नेकपा (एस) सहित दलहरूको नयाँ गठबन्धन बनेको छ । यसअघि २०७९ पुस १० गते सोही गठबन्धन बनेर दुई महिनामा भत्केको थियो । त्यही भएर यो गठबन्धन टिकाउ होला भन्ने विश्वास नागरिकमा अझै कम छ । यद्यपि एमाले र माओवादी केन्द्रसहित दललाई गठबन्धन टिकाउनुको विकल्प भने छैन । यो गठबन्धन देशको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि बनेको अर्थ लगाइएको छ । विगतको कमजोरीबाट पाठ सिक्दै बनेको गठबन्धन भएकाले ‘टिक्छ’ भन्ने आशा छ । गठबन्धनको प्रमुख घटक एमाले र सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रले गठबन्धन टिकाउने सङ्कल्प गरेका छन् । इमान्दारिता कायम रहेमा विगतको गल्ती दोहोरिने छैन भन्ने विश्वास गर्न सकिन्छ । 

गठबन्धन टिक्ने आधार

सरसर्ती  विश्लेषण गर्दा गठबन्धन टिकाउने आधार निम्न हुन सक्छन्–

१) नेपालको संविधानको प्रस्तावनाले समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने सङ्कल्प गरेको छ । त्यो तब सम्भव हुन्छ जब देशमा बलियो स्थायी राजनीतिक शक्ति बन्छ । वामपन्थीहरू एक भएमा त्यो बलियो शक्ति निर्माण सम्भव छ । व्यक्तिगत स्वार्थ त्यागी देश र जनतालाई समृद्ध बनाउने सङ्कल्पले मात्र त्यो सम्भव हुन्छ । गठबन्धन टिकाउने पहिलो आधार त्यही हो । 

२) गठबन्धन दल सरकारमा जानु परीक्षामा उत्रनु हो । देश र जनताको पक्षमा सुखद कामको सुरुवात गर्न सक्नु नै परीक्षामा उत्तीर्ण हुने सङ्केत देखिनु हो । भनिन्छ नि ‘दिनको सङ्केत बिहानीले गर्छ’ भनेझैँ एमाले–माओवादी केन्द्रसहित बाम शक्तिहरू एकीकृत हुन सक्नु नै शक्ति सङ्गृहीत हुनुको सङ्केत हो । तर त्यसमा इमान्दारिता र वचनबद्धता अनिवार्य सर्त हो । इमान्दारिता कायम रहे गठबन्धन कसैले हल्लाउन सक्दैन । 

३) पानी बाराबारको अवस्थामा रहेका कम्युनिष्ट नेताहरू एउटै मञ्चमा उभिनु नै अर्को शुभ सङ्केत हो । केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, नेत्रविक्रम चन्दसहितका कम्युनिष्ट नेताहरू एउटै मञ्चमा उभिनुको स्वार्थ व्यक्तिगत नभएर देश र जनताको पक्षमा हो भन्ने सन्देश प्रवाह गर्न सक्नुपर्छ । बाँकी अन्य कम्युनिष्ट शक्तिलाई पनि यसैगरी समेटेर सँगसँगै लग्न सक्नुपर्छ । त्यसो हुनसके कम्युनिष्ट शक्ति बलियो हुन्छ र राजनीतिक स्थायित्व सम्भव हुन्छ । 

४) विगतको निर्वाचन परिणामले कम्युनिष्ट शक्तिहरू मिल्दा जनमत बढ्ने र फुटेर चुनाव लड्दा जनमत खस्किने पुष्टि भइसकेकै छ । आगामी २०८४ को निर्वाचनमा कम्युनिष्ट शक्तिहरू एक भएर गए सुखद परिणाम आउने आधार यो गठबन्धन एकताले बनाएको छ । त्यसको सदुपयोग गर्नमा नेताहरू चुक्नु भएन भने परिणाम निसन्देह हात लाग्नेछ ।

५) अबको दुई वर्ष सरकारको नेतृत्व प्रचण्डले गर्ने र बाँकी चुनावी दुई वर्षे कार्यकाल एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने जुन जेन्टलमेन एग्रिमेन्ट भएको छ, त्यसलाई इमान्दारितापूर्वक कायम राखेर चुनावमा सँगै जानसके गठबन्धन दलमा रहेका सबै दललाई तुलनात्मक उपलब्धि हात लाग्नेछ । निर्वाचनपछि आउने परिणामले पनि यही गठबन्धनको सरकार कायम रहने निश्चित प्रायः देखिन्छ ।

६) यो गठबन्धन सरकारको प्रमुख घटक शक्ति एमाले हो । मन्त्रिपरिषद् निर्माण हुँदा एमालेले त्याग गरेको छ । कुनै पनि मन्त्रालय छानेर लिएको छैन । यसले एमालेको सोच गठबन्धन टिकाउनेतिर केन्द्रित छ भन्ने प्रष्ट छ । प्रधानमन्त्री प्रचण्डलाई सहज तरिकाले सरकार चलाउने वातावरण बनाएको सन्देश पनि प्रवाह भएको छ । अब प्रधानमन्त्रीले देश र जनताको पक्षमा काम गरेर देखाउन सके जनताको भरोसा सरकार र गठबन्धन दुवैप्रति बढेर जाने छ । 

७) गत निर्वाचनमा देशको जिम्मेवारी काँधमा लिनसक्ने नेताहरू पराजित हुनुभएको छ । आउने निर्वाचनमा त्यसो नहोस् भन्ने चिन्ता उहाँहरूमा निसन्देह छ । मिलेर निर्वाचनमा गएमा ठुला नेताहरू निर्वाचित भएर आउने सम्भावना प्रबल रहन्छ । फुटेर निर्वाचनमा होमिए यो भन्दा दुःखद परिणाम आउने निश्चित प्रायः छ । त्यसैले पनि अब यो गठबन्धन टिक्ने विश्वास गर्न सकिन्छ । गठबन्धन शक्ति मिलेर निर्वाचनमा गए उम्मेदवारलाई निर्वाचन क्षेत्र परिवर्तन गरिरहनु पर्दैन । 

८) अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डमा सुशासन कायम गर्ने हुटहुटी देखिन्छ । बलियो सरकार र गठबन्धन भएमा त्यो अभियान सुचारु गर्न सहज हुन्छ । सरकारले काम गर्न थाल्यो भन्ने सन्देश पनि जनतामा यसैबाट प्रवाह हुनेछ । देशको समृद्धि पनि सुशासनबाटै कायम हुन्छ । यसप्रति गठबन्धन सरकार ध्यान दिनुपर्छ र अभियान सुरु गरिहाल्नुपर्छ । ‘आफू भला त जगत् भला’ को नीति अख्तियार गरी काम गरेमा सफलता दौडेर आउँछ, खोज्न कतै जानु पर्दैन ।  

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।