गोरखापत्र अनलाइन
काठमाडौं, कात्तिक ५ गते । राष्ट्रिय युवा संघ नेपालले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाउनमा संलग्न भनेर पक्राउ परेका सोनम थेबे राष्ट्रिय युवा संघ नेपालमा कहिल्यै आवद्ध नभएको स्पष्ट पारेको छ । बुधबार युवा संघका प्रवक्ता निरोज पौडेलले विज्ञप्ति जारी गर्दै उनी संघमा नरहेको स्पष्ट पार्नुभएको हो।
विज्ञप्तिमा भनिएको छ, "विभिन्न सञ्चार माध्यमहरू र सामाजिक सञ्जालहरूमार्फत सम्माननीय पूर्व राष्ट्रपति विद्यादेवि भण्डारीको निवासमा आगजनि गरिएको विध्वंसकारी घटनासँग राष्ट्रिय युवा संघ नेपाललाई जोडेर मिथ्या तथा भ्रामक प्रचारप्रसार गरिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।"
युवा संघ नेपालले लोकतन्त्र, राष्ट्रियता र जनताको जनजीविकाको सवालमा सदैव राजनीतिक, सामाजिक र कानुनी मूल्य–मान्यताको अधिनमा रहेर पैरवी गर्दै आएको प्रष्ट पारेको छ ।
ज्ञप्तिमा भनिएको छ, "राष्ट्रिय युवा संघ नेपाल यस विषयमा विभिन्न संचार माध्यम र आम जनतालाई भ्रममा नपर्न अनुरोध गर्दछ । साथै, संगठनका कुनै पनि नेता वा कार्यकर्ताले सार्वजनिक वा निजी सम्पत्तिमा क्षति पुर्याउने वा गैर कानुनी गतिविधि गर्ने हकमा, संगठनले आन्तरिक अनुशासनात्मक र कानुनी कारबाही गर्ने कुरा स्पष्ट गर्दछ ।" सोनम थेवे आन्दोलनका क्रममा राप्रपाका रविकिरण हमाल सँगसँगै देखिएको संघले दावी गरेको छ ।