• ५ कात्तिक २०८२, बुधबार

अध्यक्ष भएर बस्नुपर्छ भन्ने सोच छैन : संयोजक प्रचण्ड

blog

नेकपा माओवादी केन्द्रका संयोजक एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

रामगोपालपुर, (महोत्तरी), कात्तिक ५  गते ।  नेकपा माओवादी केन्द्रका संयोजक एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू अध्यक्ष भएर बस्नुपर्छ भन्ने सोच नरहेको बताउँदै राष्ट्र बचाउनु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताउनु भएको छ ।

महोत्तरीको रामगोपालपुरमा तिहारको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी भई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो । 

“अध्यक्ष भएर बस्नुपर्छ भन्ने मेरो सोच होइन। राष्ट्र बचाउनु नै मुख्य हो। आवश्यकता परे म जे जस्तो त्याग गर्न पनि तयार छु।” उहाँले भन्नुभयो ।“तर जिम्मेवारीबाट भाग्ने मेरो स्वभाव होइन। अहिलेको अवस्थामा म जिम्मेवारी लिनबाट पछि हट्नेवाला छैन।”

संयोजक प्रचण्डले सम्बोधनमार्फत पार्टीको वर्तमान धारणा, आगामी रणनीति र राष्ट्रिय एजेन्डा स्पष्ट पार्नुभयो। देशमा परिर्वतित समयमा मधेशमा जेन्सी युवाहरूसहितको सहभागितामा आयोजित कार्यक्रममा उहाँले आफू जेन्सी आन्दोलनपछिको नयाँ अवस्था र पहिलोपटक मधेशमा आयोजित ठुलो कार्यक्रममा सहभागी भएको बताउनुभयो । 

“अब जेन्सी र माओवादी मिलेर चुनाव लड्नुपर्छ। अरुले जेन्सीका मागहरू पूरा गर्दैनन्। माओवादी नै त्यो शक्ति हो, जसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समावेशी लोकतन्त्रलाई व्यवहारमा ल्याउन सक्छ।”

संयोजक प्रचण्डले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई लिएर कुनै अन्योल नराख्न आग्रह गर्दै भन्नुभयो,“चुनाव हुन्छ, हुनैपर्छ। यही अहिलेको एक मात्र विकल्प हो।”

उहाँले निर्वाचनको तयारीमा जुट्न सबैलाई आह्वान गर्दै भन्नुभयो,“मतदाता नामावली अद्यावधिक गर्नुहोस्। नयाँ मतदाताहरूको नाम लेख्नुहोस्। हामीले राष्ट्रिय एजेन्डा सेट गरिसकेका छौँ— संविधान संशोधन, भ्रष्टाचार अन्त्य, जेन्सी युवाका माग सम्बोधन र समानुपातिक प्रणाली।”

उहाँले विभिन्न दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका जेन्सी युवासहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने ६०० भन्दा बढी नयाँ सदस्यलाई पार्टीमा स्वागत गर्नुभयो ।