• ५ कात्तिक २०८२, बुधबार

अध्यक्ष दाहालद्वारा विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग भेटवार्ता

blog

जेनेभामा भेटवार्तामा व्यस्त राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल। तस्बिरः संघीय संसद् सचिवालय

जेनेभा, कात्तिक ५ गते। जेनेभामा जारी अन्तर व्यवस्थापिका संघको १५१ औँ महासभामा सहभागिताका लागि जेनेभामा रहनुभएका राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।

अध्यक्ष दाहालले महासभामा सहभागी हुन आएका संयुक्त अधिराज्य (बेलायत), जनवादी गणतन्त्र चीन र श्रीलङ्काका संसदीय प्रतिनिधि मण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो।

अध्यक्ष दाहालले सीचन टाङ नेतृत्वको चिनियाँ संसदीय प्रतिनिधि मण्डल, फेबियन ह्यामिल्टन नेतृत्वको वेलायती संसदीय प्रतिनिधि मण्डल र सुनिल वाटगाला नेतृत्वको श्रीलङ्काको संसदीय प्रतिनिधि मण्डलसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुभएको हो ।

भेटमा राष्ट्रको आपसी सम्बन्ध, संसदीय मैत्री समूहमार्फत् संसदीय अनुभव आदानप्रदान, अन्तर्राष्ट्रिय मञ्चमा सहकार्य र सहयोग लगायतका विषयमा छलफल भएको थियो।

अध्यक्ष दाहालले नेपालमा पछिल्लो समयमा भएको जेनजी आन्दोलन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै तोकिएको समयमै निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताउनुभयो।


त्यस्तै, आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निमाण र नयाँ निर्वाचनका लागि मित्र राष्ट्रहरूको साथ र सहयोगको लागि अध्यक्ष दाहालले आग्रह गर्नुभयो। 

भेटमा अध्यक्ष दाहालले जलवायु परिवर्तनको असर नेपालीले प्रत्यक्ष भोगिरहेको प्रसङ्ग उल्लेख गर्दै विकासोन्मुख देशलाई विश्व समुदायले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।