• ५ कात्तिक २०८२, बुधबार

उपचार खर्च नहुँदा सुत्केरीको बिचल्ली

blog

भैरहवा मेडिकल कलेजमा उपचाररत सरस्वता सुनार । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा 
गुल्मी, कात्तिक ५ गते ।
उपचार खर्च नहुँदा गुल्मीमा एक सुत्केरीको बिचल्ली भएको छ । यस जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–५ वस्तु अमराईकी २९ वर्षीय सरस्वता सुनार भैरहवा मेडिकल कलेजमा बिचल्लीमा पर्नुभएको हो । उहाँलाई सुत्केरीको बेथा लागेपछि गत असोज २६ गते धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । धुर्कोटमा प्रसुती हुन नसकेपछि आइतबार नै उहाँलाई गुल्मी अस्पताल रिफर गरियो ।

तम्घास अस्पतालले बच्चाको निधन भइसकेको र शल्यक्रियापछि आमालाई बचाउन सकिने भनेपछि उहाँको शल्यक्रिया भयो । तर आमाको उच्च रक्तश्राव र करिब चार घण्टासम्म होस नआएपछि प्रभास रिफर गरियो । प्रभास अस्पतालमा पनि एक हप्ताको उपचारपछि आइतबार भैरहवा मेडिकल कलेज लगेको उहाँका जेठाजु बाबुराम सुनारले बताउनुभयो । ‘‘धेरै दिन भयो, निको पनि भएको छैन, पैसा धेरै खर्च भइसक्यो, अझै कति हुन्छ थाहा छैन ।’’ सरस्वतीका जेठाजु सुनारले भन्नुभयो, ‘‘भएभरको सम्पत्ति सकियो, अब कुनै उपाय छैन ।’’

उहाँले अहिले आफुहरु अस्पतालमै रहेको र बिरामीको होस आउने–जाने भइरहेको बताउनुभयो । अस्पतालमा अझै एक हप्ताजति बस्नुपर्ने तर लाग्ने खर्चबारे आफुहरुलाई अस्पतालले केही नभनेको उहाँको भनाइ छ । अहिले सरस्वतीलाई मेडिकल कलेजको आइसियु नम्बर २ मा राखिएको छ । सरस्वतीलाई यसभन्दा अगाडि जुम्ल्याहा छोरी जन्मिएका थिए । उहाँका छिमेकी राजु विकले अहिले सरस्वती बचाउ अभियान नै सुरु गर्नुभएको छ ।

आइतबारबाट सुरु गरेको अभियानमा ४० हजार रकम सङ्कलन गरेको विकले बताउनुभयो । सरस्वतीको आर्थिक अवस्था निकै नाजुक भएकाले सहयोग उठाउन थालिएको विकको भनाइ छ । सहयोग गर्न चाहानुहुने व्यक्तिहरुले छिमेकी राजु विक (९८५७०७३०५९) अथवा जेठाजु बाबुराम सुनार (९७६५८७५०५४) मा सम्पर्क गरी सहयोग गरिदिनका लागि परिवारले सबैसँग आग्रह गरेको छ । अथवा निज सरस्वतीका जेठाजु बाबुराम सुनारको नाममा लक्ष्मी सनराइज बैंकमा रहेको खाता नम्बर ०९१११७०७०१२०५००१ मा जम्मा गर्न सकिने परिवारले जनाएको छ ।