काठमाडौँ, साउन १७ गते । दैलेख क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अम्मरबहादुर थापाले गठन हुने तयारीमा रहेको मिडिया काउन्सिललाई स्वायत्त संस्थाको रूपमा गठन गर्न आवश्यक रहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनको ‘सांसदलाई सवाल’मा संवाद गर्दै उहाँले सो कुरा बताउनुभयो ।
प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको सभापतिको जिम्मेवारीमा रहनुभएका सांसद थापाले मिडिया काउन्सिल विधेयकको मस्यौदामाथि समितिमा छलफल र सुझाव लिनेक्रम जारी रहेकाले त्यसमा रहेको कमजोरी करेक्सन गरेर परिस्कृत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“मिडिया काउन्सिल विधेयकको मस्यौदामा कतिपय त्रुटिहरू रहेका छन्, त्यसमा सुझाव लिने क्रम जारी छ । नेपाली पत्रकारितालाई नियन्त्रण गर्ने आशयका प्रावधान परिमार्जन गरी नियमनकारी निकाय बनाउनेमा समितिले ध्यान दिन्छ” उहाँले भन्नुभयो, “सञ्चार सम्बद्ध सबै सङ्घ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूसँगको छलफल र सुझावका आधारमा मस्यौदा विधेयकमा परिमार्जन गरिने छ ।”
लोकतन्त्रमा मिडियाकर्मीलाई डण्डा लगाउने काम गर्नुहुँदैन तर पत्रकारलाई छाडा हुन पनि दिनु हुँदैन ।
“उत्कृष्ट र जवाफदेही मिडिया काउन्सिल बनाउनेमा हाम्रो ध्यान छ, पत्रकारिता क्षेत्रलाई मर्यादित र जिम्मेवार बनाउनेमा हाम्रो चासो छ” उहाँले भन्नुभयो, “लोकतन्त्रमा मिडियाकर्मीलाई डण्डा लगाउने काम गर्नुहुँदैन तर पत्रकारलाई छाडा हुन पनि दिनु हुँदैन । यसमा ध्यान दिएर समितिको तर्फबाट विधेयक परिमार्जनमा ध्यान दिन्छौं ।”
काउन्सिललाई संसदप्रति उत्तरदायी बनाउन सके समग्र पत्रकारिता क्षेत्रलाई जिम्मेवार र जवाफदेही बनाउन सहज हुन्छ भन्नुहुँदै सभापति थापाले भन्नुभयो, “काउन्सिलको नेतृत्व पूर्व ध्यायाधीशमध्येबाट गराउन सके काउन्सिलको गरिमा बढ्छ । सिफारिस समितिको संयोजकमा लोकसेवा आयोगको अध्यक्षलाई बनाउँदा सन्तुलित हुन्छ, सञ्चार मन्त्रालयको प्रतिनिधि र विज्ञ पत्रकार एक जना सफारिस समितिमा राख्न सकिन्छ ।”
समृद्धिको चाहना जनताको चाहना भएकाले सबै क्षेत्र अनुशासित र जवाफदेही हुन जरुरी रहेको उहाँको भनाइ छ । दैलेखमा ११२ अर्ब घनमिटर मिथेन ग्यास फेला परेकाले त्यसको व्यावसायिक व्यवस्थापनको खाँचो रहेको भन्दै उहाँले भन्नुभयो, “केपी शर्मा ओली नेतृत्वको सरकारले राम्रो काम गरेको छ, यसलाई टुङ्गो लगाएर नेपाललाई ग्यासमा आत्मनिर्भर बनाउनुपर्छ । यो काम सम्पन्न भएमा ओली नेतृत्वको उत्कृष्टमध्येको यो काम एक हुने छ ।”
“सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको चाहना अनुसार जनताको घर–घरमा पाइपलाइनबाट ग्यास लग्ने सपना दैलेखले पूरा गर्ने देखिएको छ । यो आयोजना चाँडोभन्दा चाँडो सम्पन्न गर्नमा सरकार लाग्नुपर्छ” सांसद थापाले भन्नभयो, ”दैलेखमा फेला परेको मिथेन ग्यास सरकारको सम्पत्ति हो, देशको सम्पत्ति हो । यसमाथिको दायित्व पनि सरकारको हो, छिटो आयोजना सम्पन्न गरेर देशको अर्थतन्त्रमा सुधार गर्नुपर्छ ।“
सांसद थापा २०७९ मा भएको निर्वाचनमा १८ हजार २९७ मत ल्याएर निर्वाचित हुनुभएको थियो । दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका थापा एक पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएर प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उहाँले दैलेखी जनताको शीर निहुराउनेगरी कुनै काम नगर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
प्रस्तुत छ दैलेखको शिक्षा, स्वास्थ्य, बाटोघाटो तथा विकासका अन्य समसामयिक विषयमा केन्द्रित भएर दैलेख क्षेत्र १ का सांसद अम्मरबहादुर थापासँग गोरखापत्र अनलाइनका निमित्त सम्पादक लक्की चौधरी, प्राविधिकतर्फ मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको भिडियो अन्तरवार्ता–