• १५ साउन २०८२, बिहिबार

थारूको उत्सव हर्दहवा

blog

हर्दहवा अथवा हर्दहुवा भनेको रोपाइँ सकेर मनाइने एक किसिमको उत्सव हो । हर्दहवा ठेट थारू शब्दमा पर्छ । ‘हर’ भनेको शरीर बुझिन्छ । ‘धुवाइ’ भनेको धुनु, सफा गर्नु हो । एक महिनासम्म हिलोमैलो भएर खेतबारीमा रोपाइँको काम सम्पन्न गरेपछि हरधुवाइको काम गरी मनाइने उत्सवलाई नै हर्दहवा भनिन्छ ।

हरधुवाइ शब्द बोलीचालीमा अपभ्रंश हुँदै हर्दहवा बनेको हो । नेपाली बृहत् शब्दकोषले हर्दहवा भनेको रोपाइँ सकेको खुसियालीमा थारू समुदायले रमाइलोका साथ गर्ने खानपान भनेको छ । 

रोपाइँ सम्पन्न भएको दिन हिलोपानीमा देवर–भाउजू, साली–भेना अर्थात् रोपाहारबीच रमाइलोका लागि हिलोपानीसँग रमाइलो गर्नुलाई पनि हर्दहवा भनिन्छ । थारू समुदायमा एउटा बुझाइ छ, खेत रोप्दारोप्दै एकअर्कासँग हर्दहवा जति खेल्यो पछि धान त्यति राम्रो फलेर आउँछ । झमझम पानी परेका बेला धान रोप्दै हिलोपानीसँगै एकअर्कासँग शरीरमा हिलोपानी छ्यापेर रमाइलो गर्नुलाई हर्दहवा खेल्नु भनिन्छ । 

महिना दिनसम्म हिलो माटोमा काम गरेर रोपाइँ सम्पन्न हुने दिन त्यसै पनि कृषकको मन फुरुङ्ङ हुन्छ । त्यही खुसियालीमा रमाइलो गर्ने प्रचलन थारू समुदायको छ । यसरी खेतमै रोपाइँ सकेको दिनमा रमाइलो गर्नुलाई ‘सेकौनी’ रमाइलो भनिन्छ । यो रमाइलो घरपरिवारका सदस्यबीच मात्र सीमित हुन्छ । 

हर्दहवा भनेको सामूहिक उत्सव हो । गाउँघरका सबै घरपरिवारले रोपाइँ सम्पन्न गरेपछि सामूहिक रूपमा रमाइलो गर्ने काम हर्दहवा मनाउनु हो । उसो त हर्दहवाको तोकिएको तिथिमिति छैन । रोपाइँको काम सम्पन्न भएपछि गाउँमा एक दिन पारेर सामूहिक रूपमा मनाइन्छ । हर्दहवामा सुँगुर या बङ्गुरको मासु अनिवार्य हुन्छ । गाउँघरका सबै घरधुरीलाई पुग्ने गरी बङ्गुरको मासु व्यवस्थापन गरिन्छ । 

बङ्गुर मारी मासु भाग लगाएर खुसियाली मनाइने प्रचलन हर्दहवामा छ । गाउँघरमा रोपाइँको काम चलिरहेको र सम्पन्न गर्ने गाउँका सदस्यले हर्दहवा मनाएर खुसी साटासाट गर्छन् । असारमा सुरु गरेको रोपाइँ प्रायः साउन मसान्तसम्म सम्पन्न हुने गर्छ । हर्दहवा पनि असार र साउन दुवै महिनामा मनाइन्छ ।

हिलो माटोमा महिना दिनसम्म काम गरेपछि गाउँका सदस्यले थकान महसुस गर्छन् । त्यही थकान मेट्न रमाइलो गरी हर्दहवा मनाउने गरिन्छ । हिलोमाटोमा महिना दिनसम्म रोपाइँको काम गर्दा शरीर गलेको हुन्छ । शरीरबाट शक्ति क्षीण भएको हुन्छ । शरीरको शक्ति पुनः जगाउन माछा, मासु र मिठो परिकार खाएर शरीरलाई तागतिलो बनाउने काम हर्दहवाले गर्ने बुझाइ गाउँका अगुवाको छ । 

हर्दहवामा सुँगुर या बङ्गुरको मासुबाहेक माछा, घुँघी या सिपीको परिकार, गँगटा र गेडागुडीको परिकार तयार गरी खुसियाली मनाउने प्रचलन थारू गाउँमा रहेको छ । तागतिलो परिकार खाएर थकित शरीरलाई पुनर्ताजगी ल्याउने काम गर्ने गरिन्छ । 

हर्दहवामा विवाहित चेली, फुपूलाई माइतीमा बोलाएर मिठो मसिनो खुवाउने प्रचलन छ । परिवारका सदस्य, गाउँका सदस्य तथा आफन्तजन सामूहिक रूपमा खानपिन गरी रमाइलो गर्ने गर्छन् । हर्दहवामा झुम्रा, धुम्रा, छोक्रा नाच पनि नाचिन्छ । यसरी रमाइलो गर्दा थकित शरीरमा पुनर्ताजगी आउने बुझाइ छ ।

माछा, मासु, घुँघी, गँगटाको परिकारसँगै जाँड, घरेलु रक्सी पिउने र पाहुनालाई पिलाउने गरिन्छ । हर्दहवा मूलतः रोपाइँ सकेको खुसियाली मनाउने प्रचलन भएकाले एकापसमा जमेर रमाइलो गर्ने गरिन्छ । यो कुनै पर्व नभएर रोपाइँ सम्पन्न गरी सामूहिक रूपमा गाउँका सदस्यले खुसी मनाउने बहाना मात्र भएको धनगढी उपमहानगरपालिका–८ का भलमनसा (बरघर) सरोजकुमार चौधरीको भनाइ छ । 

  –युवामञ्च   

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइन प्रकाशनको निमित्त सम्पादक हुनुहुन्छ ।