काठमाडौँ, भदौ ७ गते । सर्लाही जिल्लाबाट प्रतिनिधि सभा सदस्य रहनुभएकी सरस्वती सुब्बाले राजनीतिक स्थायित्व कायम भएपछि मुलुकको विकासले गति लिइरहेको बताउनुभएको छ । गोरखापत्र अनलाइनको भिडियो अन्तरवार्ता ‘सांसदलाई सवाल’ मा कुरा गर्दै उहाँले सो कुरा बताउनुभयो ।
संसदमा रहेको प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा (एमाले) को सहकार्यमा सरकार गठन भएपछि सरकारले स्थायित्व पाएकाले विकास पूर्वाधार निर्माणले स्पिड लिएको उहाँले दाबी गर्नुभयो । साना दलहरूलाई सहमतिमा लिएर सरकार बनाउनु राम्रो हो, ठुला दल नै मिलेर राजनीतिक र सरकारको स्थायित्व दिनेगरी सहकार्य गर्नु अझ राम्रो भएको छ उहाँले भन्नुभयो ।
राजनीति सेवा हो, पेसा होइन । तर हाम्रो राजनीतिज्ञहरूको बुझाई राजनीति पेसा हो भन्ने देखिन्छ । त्यसले समस्या पारिरहेको छ उहाँले भन्नुभयो, “राजनीतिमा लाग्नु भनेको जनता र देशको सेवा र संरक्षण गर्नलाई लाग्ने हो, कमाउनलाई होइन । त्यसैले राजनीति सेवा हो ।”
संसदमा आएको पछिल्लो राजनीतिक दलका केही सांसदहरू संसदको मर्यादा ख्याल गर्न नसकेको भन्नुहुँदै उहाँले संसद बैठक मर्यादित र गरिमामय बनाउन आवश्यक रहेको बताउनुभयो । ‘संसद जनताको विषयमा बहस गर्ने थलो हो, मर्यादित थलो हो । यसलाई त्यहीअनुसार कायम राख्नुपर्छ’ उहाँले भन्नुभयो, ‘पुरानो दल सबै खराब हुन् भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ, जुन गलत छ । संसदलाई मर्यादित बनाउने कार्यविधि छ, त्यसको सही अर्थमा कार्यान्वयन गर्नुपर्छ ।’
संसद बैठकको शुन्य समय, आकस्मिक समय र विशेष समयमा सांसदहरूले उठाउनुभएको विषय ६० प्रतिशत जति सम्बोधन हुने गरेको बताउँदै उहाँले भन्नुभयो, “अहिले हरेक हप्ता मन्त्रीज्यूहरूले संसदमा आएर जवाफ दिइरहनुभएको छ । प्रधानमन्त्रीज्यू स्वयम् हरेक महिना संसद बैठकमा आएर सवाल जवाफमा सहभागी भइरहनु भएको छ । यसले संसदमा उठेको सवाल सम्बोधनमा सहयोग गरिरहेको छ ।”
पुरानो दल सबै खराब हुन् भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ, जुन गलत छ ।
संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत साधन समितिको सदस्य समेत रहनुभएकी नेकपा (एमाले) का नेत्री सुब्बाले भन्नुभयो, “संसदको पहिलो काम बनेको कानुनको कार्यान्वयन, नबनेका कानुन निर्माणमा सहयोग गर्ने हो । हाम्रो भूमिका त्यसमा केन्द्रित छ । यद्यपि संविधान जारी भएको यो दस वर्षमा सबै कानुन बनाउन सकेका छैनौं, हामी केही हदमा असफल सावित भएका छौं ।”
सांसदको जिम्मेवारी कानुन निर्माण भए पनि जनताको चाहना विकास निर्माणमा रहेको उहाँको भनाइ छ । स्थानीय स्तरमा गाउँघरमा भत्केका बाटो बनाइदिने, कल्भर्ट, पुल पुलेसा निर्माण गर्ने, बिजुली बत्तीको पोल ल्याइदिनेमा बढी जनताको चाहना रहने गरेको उहाँको बुझाइ छ । नागरिकको अपेक्षा कानुनभन्दा पूर्वाधार निर्माणमै भए पनि हाम्रो दायित्वलाई हामीले सँगसँगै सम्पन्न गर्नुपर्छ, उहाँले भन्नुभयो ।
‘संविधान जारी भएको तीन वर्षभित्र भूमिहीन सुकुम्बासीलाई जग्गा दिएर व्यवस्थापन गर्ने र सबै ऐन कानुन बनाएर संघीय व्यवस्थालाई कार्यान्वयन गर्ने संवैधानिक व्यवस्था छ, तर सोअनुसार हामी काम गर्न सकेनौं । त्यसैले हामी असफल भयौं भन्नु ठीक छ’ सांसद सुब्बाले भन्नुभयो, “संविधान कार्यान्वयनमा नागरिक पनि सचेत हुनुपर्छ । शासक र सांसदहरुलाई खबरदारी गरिदिनुपर्छ । जिम्मेवारीमा रहेका शासक र विधायक पनि यसमा गम्भीर हुनुपर्छ ।”
नेपाली युवाहरू दैनिक हजारौंको सङ्ख्यामा कामको खोजीमा विदेश पलायन भइरहेको भए पनि नेपालमै रोक्ने ठोस योजना अझै बन्न नसकेको चर्चा गर्दै उहाँले भन्नुभयो, “विदेशमा पनि युवाहरू परिश्रम गर्न जाने हो, परिश्रम गर्ने ठाउँ यहाँ पनि धेरै छ । खेतहरू बाँझै छ । उद्योग कारखाना सञ्चालन गर्न सकिएको छैन । तरकारी र फलफूल यही उत्पादन गर्न सकिन्छ । सरकारले उत्पादित चिजको बजारभाउ पुग्ने गरी तोकिदिनु पर्छ र न्यूनतम पारिश्रमक पनि त्यहीअनुसार कायम गर्न सके युवालाई रोक्न सकिन्छ ।
प्रस्तुत छ– प्रतिनिधिसभा सदस्य सरस्वती सुब्बासँग गोरखापत्र अनलाइन प्रकाशनका निमित्त सम्पादक लक्की चौधरी, प्राविधिकतर्फ मनोजरत्न शाही र केशब गुरुङले गर्नुभएको भिडियो संवाद–