• १० मंसिर २०८१, सोमबार

तोडमतोड कथा ‘फाइटर’

blog

काठमाडौँ, माघ १५ गते । बलिउडमा भारतीय वायुसेनाका कथामा आधारित रहेर धेरै चलचित्र बनिसकेका छन् । ठुलो पर्दामा लडाकु विमानको लडाइँ हेर्नु आफैँमा एक रमाइलो क्षण पनि हो । सायद यही कारणले पनि दर्शकले विशेष गरी यस्ता चलचित्र मन पराउने गरेका छन् । त्यसमाथि चलचित्रमा नाम चलेका कलाकारको अभिनय हुने हो भने सुनमा सुगन्ध हुन्छ । चलचित्र ‘फाइटर’ पनि यही श्रेणीमा परेको चलचित्र हो । 

बलिउडमा यसअघि गत वर्ष मात्र प्रदर्शन भएको कङ्गना रनौतको अभिनीत चलचित्र ‘तेजस’ मा पनि भारतीय वायुसेनाको यस्तै कलाकौशल देखाइएको थियो । अर्को महिना प्रदर्शन हुने तेलगु नायक वरुण तेजको चलचित्र ‘अपरेसन भ्यालेन्टाइन’ र दसैँमा प्रदर्शनमा आउने अक्षय कुमारको ‘स्काई फोर्स’ पनि भारतीय वायुसेनाको मिसनमा आधारित कथा रहेको छ । 

बलिउडमा वायुसेनाको विषयमा आधारित रहेर चलचित्र बनाउने काम जारी नै छ । चलचित्र ‘फाइटर’ को कथाले कसरी भारतीय वायुसेनाका टोली सीमापारका शत्रुको योजनालाई विफल पार्न लागिपर्छन् भन्ने कुरा देखाइएको छ । साथै यसैभित्र उनीहरूको व्यक्तिगत जीवनको कथा पनि निकै भावुक ढङ्गले प्रस्तुत गरिएको छ । 

कास्मिरको पुलवामा भारतीय सुरक्षा बलमाथि भएको आक्रमणमा ४० सैनिकको मृत्यु हुन्छ । जुन आक्रमण आतङ्कवादी गिरोहका नाइके अजहर अख्तर (ऋषभ साहनी) ले गराएका हुन्छन् । भारतीय वायुसेनाले आतङ्ककारीलाई यसको उचित जवाफ दिन आदेश दिन्छ । मिसनलाई कार्यान्वयन गर्न क्याप्टेन राकेश जय सिंह ​ (अनिल कपुर) र उनको अन्य युनिटका लडाकु पाइलटहरू शमशेर पठानिया (ऋतिक रोशन), स्क्वाड्रन मिनल राठौर ​(दीपिका पादुकोण, ताज (करण सिंह ग्रोवर) र बसिर खान (अक्षय ओबेरोय) लाई जिम्मेवारी सुम्पिएको छ । यस अभियानमा धेरै आतङ्कवादी शिविर ध्वस्त पारिन्छन् । आक्रोशित पाकिस्तानी वायुसेनाले भारतीय वायुसेनामा आक्रमण गर्छन्, जसको भारतीय वायुसेनाले उचित जवाफ पनि दिन्छ तर झडपका क्रममा दुई भारतीय पाइलट ताज र बसिरले पाकिस्तानको एलओसी पार गर्छन् र उनीहरू पाकिस्तानी सेनाको कब्जामा पर्छन् । 

लामो समयपछि पर्दामा देखिएका छन् ऋतिक रोशन । उनको विपरीत मिनलका रूपमा दीपिका पादुकोण पनि निकै आकर्षक देखिएकी छिन् । दीपिकाको शारीरिक सुगठनले उनलाई उत्कृष्ट कलाकारको श्रेणीमा राख्छ । उनले अभिनयमा यति धेरै अनुभव पाइसकेकी छिन् कि आफूलाई जस्तोसुकै अभिनयमा पनि उतार्न सक्छिन् । उनको अभिनय तारिफयोग्य छ । अनिल कपुर यो उमेरमा पनि पछिल्ला युवा कलाकारको बराबर देखिएका छन् । उनको फिटनेसले अहिलेका कलाकारलाई पनि मात दिन्छ । 

हरेक चलचित्र जस्तै यसमा पनि उनको अभिनय फरक छ । गत वर्ष ‘पठान’ र त्यसअघि ‘वार’ बनाएका सिद्धार्थ आनन्दले वायुसेनाको विषयमा चलचित्र त बनाए तर सोचे जस्तो कथा पस्कन सकेनन् । चलचित्रभित्र निर्देशकले पात्रलाई चिनाउन धेरै समय लगाएका छन् जसले दर्शकलाई हाइ काट्न बाध्य बनाउन पनि सक्छ । यो एउटा निर्देशकको ठुलो कमजोरी हो । विशेष गरी धेरै पटक चलचित्रभित्र वायुसेनाको प्लेन लडाइँको दृश्यले दर्शकलाई दिक्क पनि बनाउँछ । अर्को यसको नराम्रो पक्ष भनेको कथा र सङ्गीत हो । कतिपय ठाउँमा कथा कमजोर देखिन्छ । गीत/सङ्गीतमा पनि खासै दम छैन । कतिपय गीतले चलचित्रको लम्बाइ मात्र बढाउने काम गरेको छ ।