रामकृष्ण बोहरा
बागलुङ, चैत १३ गते । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले ऐतिहासिक चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरेको खुला पुरुष ‘कालिका कप’ भलिबल प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।
लिककम नकआउटमा खेलाइएको खेलअन्तर्गत शुक्रबार पहिलो क्वाटरफाइनल खेलमा सिद्धार्थ चस्मा घरले धौलागिरि मोबाइल पसललाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ । दोस्रो खेलमा आदित्य होल्डिङ तित्याङले रायडाँडा खेलकुद विकास समितिलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको खेल संयोजक सचिन खड्काले जानकारी दिनुभयो ।
यसअघि बिहिबार भएको पहिलो क्वाटरफाइनल खेलमा घले हार्भेष्ट्रिङ अष्ट्रेलियाले भिमापोखरा खेलकुद विकास समितिलाई ३–० को सोझो सेटमा र दोस्रो खेलमा बागलुङ भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा पराजित गर्दै गौडाकोट युनाइटेड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
शनिबार सेमिफाइनलको पहिलो खेल घले हार्भेष्टिङ अष्ट्रेलियाविरुद्ध आदित्य होल्डिङ तित्याङ र दोस्रो खेल सिद्धार्थ चस्मा घरविरुद्ध गौडाकोट युनाइटेड बिचमा हुने खेलका रेफ्री संयोजक किशोर थापाले जानकारी दिनुभयो ।
यस्तै, ‘कालिका कप’ महिला भलिबल प्रतियोगितामा जैमिनी नगरपालिकालाई २–१ को सेटमा पराजित गर्दै धौलागिरि वीरेन्द्र मावि र बडिगाड गाउँपालिकालाई २–० सेटमा पराजित गर्दै शान्ता मावि पोखरा दोस्रो चरणमा प्रवेश गरेका छन् ।
पुरुष भलिबलको विजेताले नगद ३ लाख रुपियाँ मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् । द्वितीय हुनेले नगद १ लाख ५० हजार नगद मेडल ट्रफी र प्रमाणपत्र र तृतीय हुनेले नगद ५० हजार मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिनेछ ।
महिला भलिबलमा प्रथम हुनेले नगद १ लाख, द्वितीय हुनेले नगद ५० हजार र तृतीय हुनेले नगद २५ हजार रुपियाँ मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । महिला भलिबलमा पनि विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कृत गरिने संयोजक खड्काले जानकारी दिनुभयो ।