विनय कर्ण
कल्याणपुर (सप्तरी), चैत १३ गते । रामनवमीको अवसर पारेर शुक्रबार सप्तरीको विभिन्न स्थानमा रहेका राममन्दिरहरुमा विशेष पूजा अर्चना गरिएको छ ।
मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मोत्सव रामनवमीको अवसरमा राजविराज स्थित राममन्दिरका साथै जिल्लाभरका राममन्दिरमा विशेष पूजा अर्चना गरिएको हो । बजार तथा गाउँगाउँबाट बाजागाजा सहित राजविराज स्थित राममन्दिर पुगेका श्रद्धालु भक्तजनले झाँकी सहित शोभा यात्रा निकालेका छन् ।
रामसीताको दर्शन गर्न श्रद्धालुहरु मन्दिर परिसरमा भेला भएर झाँकी सहितको शोभायात्रामा सहभागि हुनुभयो । राम मन्दिर पूजा समिति, हिन्दू सम्राट सेना, विश्व हिन्दू परिषद् लगायतका संगठनको अगुवाईमा निकालिएको शोभायात्राका सहभागी भक्तजनले लगाएको जयश्री रामको नाराले नगर गुन्जयमान बनाएको थियो ।
रामनवमीको मिथिलाञ्चलमा विशेष महत्व रहेकोले यहाँ प्रत्येक बर्ष भव्यतामा साथ यो दिनलाई मनाउने गरिएको मैथिली साहित्य परिषद्का पूर्वअध्यक्ष सतिश कुमार दत्तले बताउनुभयो ।