बाबुराम देवकोटा
सिन्धुलीमाढी, चैत १३ गते । निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी क्षेत्रमा मुआब्जा र जग्गा विवादका कारण रोकिएको सडक निर्माण कार्य पुनः सुरु भएको छ । मापदण्डको विषयलाइ लिएर स्थानीय र आयोजना बीच विवाद भई झण्डै एक दशक (सुरु)देखि निर्माण रोकिएको सदरमुकाम क्षेत्रको धुराबजारदेखि ज्यामिरेसम्म विभिन्न छ ठाँउमा गरी करिब एक किलो मिटर सडक निर्माण पुन सुरु भएको हो ।
विवादकै कारण सुरुदेखि नै उक्त राजमार्गको मक्वानपुर क्षेत्रमा दुई ठाँउ र सिन्धुली अन्तर्गत कमलामाई नगरपालिकामा छ ठाँउमा सडक निर्माण रोकिएको थियो । कमलामाई नगरपालिका अन्तर्गत धुरा बजारको मुखमा ३९० मिटर, ढकालगाँउमा १४५ मिटर, कोलपाखा ३३ मिटर, साङ्बाले ११४ मिटर, खट्टार २८२ मिटर र ज्यामिरे ७१ मिटर लम्बाई सडक निर्माण रोकिएको थियो । अहिले यिनै ठाँउमा ठेक्का लगाई निर्माण पुनः सुरु गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल, प्रदेश सांसद छेत्रबहादुर बम्जन, निवर्तमान् सांसद लेखनाथ दाहाल लगायत सरोकारवाला निकायको पहलमा सडकको दाया“वाया“ एक–एक मिटरको नालासहित ११ मिटर क्षेत्रभित्र सडक निर्माण गर्ने आयोजना र स्थानीय बीच सहमती जुटाई उक्त सडक निर्माण सुरु भएको हो ।
मदन भण्डारी राजमार्ग आयोजना पश्चिम खण्डका ईन्जिनियर तथा सूचना याबद सुबेदीका अनुसार विवादी उक्त ठाँउमा सडक निर्माणको लागि यो बर्ष सङ्घिय सरकारले पाँच करोड रुपियाँ बजेट विनियोजन गरेकोमा सिन्धुली बिल्डर्सले चार करोड ५३ लाख रुपियाँमा ठेक्का सम्झौता गरी काम सुरु गरेको हो । उक्त निर्माण कम्पनिले आगामी असार २५ गतेसम्म निर्माण पुरा गर्ने गरी काम सुरु गरेको छ ।
स्थानीय विवाद आएमा कमलामाई नगरपालिकाले समाधान गर्ने गरी सिफारिस लिएर काम अघि बढाएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘सडक निर्माणका क्रममा कुनै विवाद आएमा हामी समाधान गर्छौ भनेर कमलामाई नगरपालिकाका मेयर साप र सम्बन्धित वडा अध्यक्षले भन्नुभएको छ । सोही अनुसार नगरपालिकाबाट सिफारिस लिएका छौं ।’
उक्त सडक निर्माण रोकिएको धुराबजारका बासिन्दा हरिशरण श्रेष्ठ भने आफु बस्दै आएको घर सो सडक निर्माणमा पर्ने र घरको मुआब्जा हालसम्म नपाएकाले नभत्काउने बताउनुहुन्छ । ‘चलन चल्तिको मूल्य अनुसार उचित मुआब्जा पाउनु प¥यो, सिङ्गो घर नै भत्काई दिन्छु । नत्र आफू सुकुम्बासी हुने गरी घरको काँटी पनि उखेल्दिन ।’ सडक निर्माणको काम सुरु गर्न लागेको, घर भत्काई सहयोग गर्नु पर्याे भनेर केही दिनअघि वडा अध्यक्ष र ठेकेदार आफ्नो घरमा आएको उहाँले सुनाउनुभयो ।
निर्माण व्यवसायी (सिन्धुली बिल्डर्स) दिलबहादुर बम्जनले खट्टारबाट यसै सातादेखि काम सुरु गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘पिच, ढलान, नाला र ग्याभिनवालको काम छ । विवाद समाधान भएपछि काम अघि बढाएका हौ ।’ उदयपुरको बसाहादेखि हेटौडा उप–महानगरपालिका–६ चौगडासम्म कुल २५० किलो मिटर लामो उक्त राजमार्गलाई दुई खण्डमा बिभाजन गरी २०७३ सालदेखि निर्माण सुरु गरिएको थियो ।
विवाद भएका केही ठाँउ बाहेक अन्य सबै ठाँउमा सडक निर्माण कार्य सम्पन्न भई सकेको छ । उक्त राजमार्गलाई उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानसम्म १३५ किलोमिटर लम्बाई सडकलाई पुर्वी खण्ड र भिमानदेखि हेटौडा उप–महानगरपालिका–६ चौगडासम्म ११५ किलोमिटर लम्बाई सडकलाई पश्चिम खण्डमा विभाजन गरि निर्माण गरिएको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार बसाहादेखि चौगडासम्म विभिन्न खोलानालामा गरी ९६ वटा पक्कि पुल रहेकोमा ९५ वटा पुल सम्पन्न भई सञ्चालनमा आई सकेका छन् । पश्चिम खण्डमा नै पर्ने सिन्धुलीकै सदरमुकाम सिन्धुलीमाढीस्थित ग्वाङखोला पुल विवादका कारण लाईन दिन नसक्दा निर्माण अधि बढ्न सकेको छैन ।