• १३ चैत २०८२, शुक्रबार

सिमेन्ट उद्योगको पहुँच मार्ग कालोपत्रे गर्न माग

blog

स्थानीयको बिरोधपछि रोकिएका सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोक्ने टिपर ।

घोराही समाचारदाता

घोराही, चैत १३ गते । दाङमा सञ्चालनमा रहेका विभिन्न सिमेन्ट उद्योगका लागि प्रयोग हुँदै आएको चुनढुङ्गा ढुवानी मार्ग जीर्ण बनेपछि प्रभावित क्षेत्रका नागरिकहरू आन्दोलनमा उत्रिएका छन् । 

घोराही–तापा र स्युजा सडक खण्डको सिस्नेखोलामा शुक्रबार भेला भएका स्थानीयले सडक तत्काल गुणस्तरीय कालोपत्रे गर्नुपर्ने माग अघि सारेर टिपर सञ्चालनमा रोक लगाएका छन् ।

सगरमाथा, सोनापुर, सम्राट र अग्नि सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ बोकेर हिँड्ने टिपरले सडक तहसनहस बनाएका छन् । विशेषगरी नवलपुरदेखि चुनढुङ्गा खानीसम्म जाने सडक खण्डमा पर्ने डबरी, धाइरेखुट्टी, असारे, सिस्नेखोला, पालुथान, रानिदमार, गोठधारा, कुमाकी, सवारीकोट, छिटनेटा, जस्पुर, छेकबार, अम्लबास, हर्नोक, काउले, जुम्लेपानी, कमिरेचौर, श्रीवारीलगायतका गाउँका स्थानीय प्रत्यक्ष प्रभावित बनेका छन् ।  

स्थानीयले सडकको अवस्था दिनप्रतिदिन बिग्रँदै जाँदा पनि सरकार र सम्बन्धित उद्योगहरूले बेवास्ता गरेको स्थानीय असारे टोल विकास संस्थाका अध्यक्ष रामबहादुर पुन बताउनुहुन्छ । मुद्दाको बहाना देखाएर सडक मर्मत र स्तरोन्नति गर्नबाट पन्छिन खोजेको बताउनुभयो । सडक मर्मत नहुँदा हिउँदमा धुलो र बार्खामा हिलो र खाल्डाखुल्डीका कारण स्थानीयको दैनिक जीवन कष्टकर बनेको भन्दै तत्काल समाधानका लागि पहल गर्न आग्रह गर्नुभएको छ । 

उद्योगको पहुँच मार्ग पूर्ण रूपमा बिग्रिएका कारण विरोधमा उत्रनु परेको भन्दै उहाँले भन्नुभयो,“हाम्रो पहिलो र मुख्य माग भनेको यो सडक कालोपत्रे गर्नु हो । जनताको धैर्यको सीमा सकिएको छ ।” शुक्रबार आन्दोलनका क्रममा स्थानीयले टिपर रोकेर विरोध गरेका थिए । स्थानीयले यसअघि भएका सहमति उद्योग र सरोकारवालाले कार्यान्वयन नगरेको आरोप लगाएका छन् । 

टिपरहरूले क्षमता भन्दा बढी चुनढुङ्गा बोक्ने, तीव्र गतिमा सवारी चलाउने र तोकिएको समयसीमा उल्लंघन गर्ने जस्ता गतिविधि निरन्तर भइरहेको पालुथान निवासी स्थानीय कमल आचार्य बताउनुहुन्छ। सडक सुरक्षाको कानुन सबैका लागि समान रूपमा लागु हुने तर उद्योग र ढुवानीकर्ताले उल्लंघन गरिरहेको बताउनुहुन्छ ।  

सडकको नियमित मर्मतसम्भार नगर्ने, धुलो नियन्त्रणका लागि पानी नछर्किने, अत्यधिक भार बोकेर सवारी चलाउने जस्ता समस्या समाधान नभए आन्दोलन अझ सशक्त बनाउँदै लैजाने बताउनुहुन्छ । स्थानीयले प्रहरी प्रशासनसँग पनि टिपरहरूको अनुगमन कडा बनाउन माग गरेका छन् । क्षमताभन्दा बढी भार बोक्ने, तीव्र गतिमा गुड्ने र नियमविपरीत सञ्चालन हुने सवारीमाथि कारबाही गर्न आग्रह गरेका छन् । 

घोराही–हर्नेक–तापा सडकखण्डमा सिमेन्ट उद्योगका लागि दैनिक एक सयभन्दा बढी टिपर सञ्चालन हुने गरेका छन् । धुलोका कारण स्वास्थ्य समस्या बढ्नुका साथै बालबालिका, वृद्धवृद्धा र सर्वसाधारणको स्वास्थ्यमा असर गर्ने गरेको स्थानीयको आरोप छ ।