चन्द्र पन्दाक
ताप्लेजुङ, चैत १२ गते। विश्वव्यापी अन्तर्राष्ट्रिय अनलाइन पालाम प्रतियोगिताकी विजेता सुनिता केदेम (लाबुङ) को म्युजिक भिडियो ‘याक्थुङ हुक्वा’ सार्वजनिक गरिएको छ। गायिका सुनिताको पालामको म्युजिक भिडियो ‘याक्थुङ हुक्वा’ बिहीबार सार्वजनिक गरिएको हो।
ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा बिहीबार आयोजित कार्यक्रमकाबिच कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङले म्युजिक भिडियो सार्वजनिक गर्नु भएको हो। पालाम ‘याक्थुङ हुक्वा’ मा लिम्बू संस्कृतिको उजागर गरिएको छ। लिम्बू भाषा तथा संस्कृतिमा आधारित गीत पालाम गाउने, पालाम गाउँँदै धान नाच्ने, तङ्नाम (चाडपर्व) मनाउने शैलीजस्ता दृश्यहरु म्युजिक भिडियोमा समावेश गरिएको छ।
जिल्लाको फुङ्लिङ नगरपालिका–९ हाङ्देवा निवासी गायिका सुनिताको आफ्नै लय र स्वर रहेको ‘याक्थुङ हुक्वा’ पालामको शब्द तथा कथा लेखन केवी किरातीको रहेको छ। यस्तै पालाम गाउनमा सुनितालाई गायक असारसिंह निङ्लेकुले साथ दिनुभएको छ। म्युजिक भिडियोको सम्पादन र छायाङ्कन भिडियो तथा फोटोग्राफर देउमानप्रताप पालुङ्वाले गर्नुभएको हो। जिल्लाको पर्यटकीय स्थल मिक्वाखोलास्थित साँवामा रहेको फङ्फुङगे झरना, तेम्बा होमस्टे, मेरिङ्देनको गुराँसे पोखरी, हेलुम्बा, सदरमुकाम फुङ्लिङको किराँतेश्वर मन्दिर लगायतका क्षेत्रमा म्युजिक भिडियो छायाङ्कन गरिएको हो।
म्युजिक भिडियोमा गायिका तथा निर्माता सुनितासहित २२ जना कलाकारको अभिनय रहेको छ। करिव ३६ मिनेट लामो म्युजिक भिडियो ‘याक्थुङ हुक्वा’ निर्माण गर्न दुई लाख ५० हजार रुपियाँ जति खर्च भएको निर्माण पक्षले जनाएको छ। लिम्बू भाषामा पालामको अर्थ दोहोरी गीत र याक्थुङ हुक्वाको अर्थ लिम्बूको कोसेली भन्ने हुन्छ।
भिडियो सार्वजनिक कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङ्खिम, फुङ्लिङ नगपालिकाकी उपप्रमुख भीमादेवी ओझा, सहायक प्रमु्ख जिल्ला अधिकारी यादव भट्टराई लगायतको उपस्थिति रहेको थियो।