• १२ चैत २०८२, बिहिबार

‘स्वास्थ्य क्षेत्रको विकासको लागि सरकार प्रतिबद्ध’

blog

चन्द्रपुर (रौतहट), चैत १२ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित चन्द्रनिगाहपुर अस्पतालको अनुगमन गर्नुहुँदै मुख्यमन्त्री यादवले अस्पतालमा बिरामीको चाप अत्यधिक बढदै गएको अवस्थामा आमनागरिकले सरकारी स्वास्थ्य संस्थाबाट पाउनुपर्ने सुविधा सहज रुपमा प्रदान गर्न प्रदेश सरकार काम गरिरहेको बताउनुभयो ।

चन्द्रनिगाहपुर अस्पतालमा बिरामीको सहज उपचार गर्न आवश्यक उपकरण, जनशक्ति र भौतिक पूर्वाधारको विकासका लागि आफूले सहयोग गर्ने मुख्यमन्त्री यादवले प्रतिबद्धता जनाउनुभयो । अनुगमनको क्रममा अस्पतालमा एम्बुलेस, शव भवन, थप प्राविधिकसहितको जनशक्ति आवश्यक परेको देखिएको उहाँले बताउनुभयो । 

चन्द्रपुर नगरपालिकाका नगरप्रमुख सञ्जयकुमार काफ्लेले बढ्दो सहरीकरण तथा बजारीकरणले गर्दा अस्पतालमा बिरामीको चाप बढिरहेको अवस्थामा अस्पतालको स्तरउन्नतिका लागि सहयोग गर्न मुख्यमन्त्री यादवलाई आग्रह गर्नुभयो । नगरप्रमुख काफ्लेले केही वर्षभित्र नै निर्माण कार्य सकिने गरी सुविधा सम्पन्न भवन निर्माण कार्य भइरहेको जानकारी दिनुभयो । अस्पताल व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका नगरप्रमुख काफ्लेले अस्पतालमा ट्रमा सेन्टर चाँडो सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

अस्पतालका मेसु डा अभिनन्दन श्रीवास्तवले प्राविधिक जनशक्ति, उपकरण र भौतिक पूर्वाधारको अभावका बिरामीको उपचारमा कठिनाइ भएको बताउनुभयो । १५ शैय्याको उक्त चन्द्रनिगाहपुर अस्पतालमा वार्षिक ५० हजार बिरामी आउने गरेको डा श्रीवास्तवले जानकारी दिनुभयो । रासस