शिवकुमार रिजाल
मनहरी (मकवानपुर), चैत १२ गते । पश्चिम मकवानपुरको दुर्गम क्षेत्रस्थित राक्सिराङ गाउँपालिकाले बस्तीमै पुगेर नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र र अपाङ्गता परिचयपत्र बितरण गर्ने तयारी गरेको छ ।
गाउँपालिकाले वडा ९ खैराङमा बृहद् एकीकृत घुम्ती शिविर सञ्चालन गरी जिल्ला प्रशासन कार्यालय र पञ्जीकरण विभागसँग आपसी समन्वय गरी गाउँमै नागरिकता, राष्ट्रिय परिचयपत्र, अपाङ्गता परिचयपत्र बितरण गर्न लागेको जनाएको छ । शिविरमा गाउँपालिकाले उपलब्ध गराउने सबै सेवा एकै पटक दिनेगरी टिम तयारी गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।
चालू आर्थिक बर्षमा घोषित कार्यक्रमअनुसार चैत १६ गते वडा ९ को खैराङ, चैत १८ गते वडा ८ को पाम्बुङ र चैत २० गते वडा ७ को जुरेथुममा बृहद एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने तयारी छ ।
चैत १ गते वडा १ को दुंगुमा एकीकृत शिविर सञ्चलान गरी गाउँपालिकाले कृषि, पशु, स्वास्थ्य, शिक्षा, विकास निर्माणसम्बद्ध सेवाहरु उपलब्ध गराएको थियो । ‘बृहत एकीकृत शिविरमा वडा ९ मा सकेसम्म प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा नागरिकता बितरण गर्ने र पञ्जिकरण विभागबाट आएका अधिकारीहरुकै हातबाट राष्ट्रिय परिचयपत्र बितरण गर्ने तयारीमा लागेका छौं’, अध्यक्ष मल्लले भन्नुभयो ।
उहाँका अनुसार राष्ट्रिय परिचयपत्र नपाएका र नागरिकता बनाउन सदरमुकाम हेटौँडा आउन नसकेका कैयौँ ज्येष्ठ नागरिकहरु यस शिविरबाट लाभान्वित हुनेछन् । ‘हामीले घर–घर सिंहदरबारको नारा दियौं, स्थानीय सरकारले जनताको दुःख बुझ्नुपर्छ भन्यौं’ अध्यक्ष मल्लको भनाइ थियो– ‘गाउँ गाउँमा विकास निर्माणका कामहरुसँगै सामाजिक विकासका काममा पनि योगदान गर्दा मात्रै स्थानीय सरकार र संघीयताप्रतिको महत्व पुष्टि हुनेछ ।’
हालै प्रकाशित गरिव पालिकाहरुको सूचिमा राक्सिराङ गाउँपालिका पनि सुचिकृत छ । राक्सिराङमा ४६ प्रतिशत तामाङ र ४३ प्रतिशत चेपाङ जातिको बसोबास रहेको छ भने घरधुरी सर्वेक्षण २०७५ अनुसार ३० हजार ८३० जनसंख्या रहेको छ ।