• २२ वैशाख २०८१, शनिबार

राजनीतिको अदृश्य पाटो : दिमाग खराब

blog

काठमाडौँ, मङ्सिर ७ गते । नेपाली चलचित्र कि त राजनीतिक कथाले बिक्छ कि हाँसो रोधनले । दर्शकलाई साढे दुई घण्टा चलचित्र हलमा रोकिराख्न ‘सस्सपेन्स’ पनि कायम राख्न सक्नु पर्छ । यस्तै विशेषता भर्न सक्दा पछिल्ला चलचित्र ‘नाङ्गो गाउँ’, ‘जारी’, ‘भस्मे डन’ र अहिले ‘दिमाग खराब’ ले दर्शकको वाहवाही पाउन सफल भएका छन् । 

त्यसो त चलचित्र ‘दिमाग खराब’ को कथावस्तु नयाँ होइन पुरानै हो तर कथा प्रस्तुतिको शैली भने बिल्कुलै नयाँ छ, त्यसैले पनि चलचित्र दर्शकको आँखामा जँचेको छ । चलचित्रमा राजनीतिको विकृत पात्रका रूपमा प्रजातान्त्रिक शासन व्यवस्थाका मेयरलाई उभ्याइएको छ भने अर्कोतर्फ चरम गरिबीका कारण जीवन जिउने आधार खोज्दै गरेको युवाले पाएका अनेकौँ सास्ती र हन्डरलाई प्रस्तुत गरिएको छ । 

सहरको शासकभन्दा पनि त्यसका वरपरका पात्रको हालीमुहालीले गर्दा सोझासाझा जनतामाथि हुने अन्याय र अत्याचार, धोका र छलकपटलाई निकै मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ । चलचित्रमा इन्द्र शर्मा (खगेन्द लामिछाने) देशमा भोग्दै आएको चरम गरिबीबाट मुक्त हुने सपना पूरा गर्न विदेश जान हिँड्छन् तर विदेश पठाउने कम्पनीको बदमासीका कारण उनी विमानस्थलभन्दा अगाडि बढ्न पाउँदैनन् । निराश, हतास मानसिकतामा उनी निकै लज्जित हुँदै गाउँ फर्कन्छन् । इन्द्रकी श्रीमतीको नचुहिने छानोमुनि ओत लाग्ने, छोरीलाई राम्रो स्कुल भर्ना गर्ने सपना पूरा गर्न र बिरामी आमाको उपचार गर्ने साथीभाइसँग लिएको ऋण तिर्ने सपना बोकेर विदेशको कमाइको कल्पना गर्दै उनीहरू सम्भव भएसम्मको कोसिस जारी राख्छन् ।

 उनी म्यानपावर कम्पनी धाउन छोड्दैनन् ।  उनको सोझोपनाको फाइदा उठाउँदै कम्पनीले उनैले भोट हालेर जिताएका नेतालाई गुहार्न लगाउँछन् । नेता गुहार्न पनि उनले निकै ठुलो सङ्घर्ष गर्नु पर्छ । जनताको भोट पाएर नेताको कुर्सीमा पुगेपछि नेताले देखाउने रवाफको नगरपालिकाका मेयर हरिप्रसाद (अर्पण थापा) सटिक रूपमा देखाउँछन् । 

  मेयरलाई सय भोट खोजिदिएर विदेश जानेका लागि सिफारिसको निगाहा खोजिरहेका इन्द्रले जब मेयर नै संलग्न मेनपावरले फ्री भिसा फ्री टिकटको नाममा ठगेको पत्तो पाउँछन् । उनीभित्र ठुलो विद्रोह जन्मन्छ । मेयरले सक्कली स्वरूप र नक्कली व्यवहारबाट आजित भएपछि उनीभित्रको आव्रmोश नियन्त्रण गर्न सक्दैनन् र सार्वजनिक स्थलमा मेयरलाई चप्पलले हिर्काउँछन् । त्यसपछि शक्तिको मातमा रहेका मेयरका आसेपासेले इन्द्रलाई दिने दुःखले दर्शकका आँखा रसाउँछन् तर पनि उनी झुक्दैनन् मेयरसँग माफी मगाउन लगिएको सार्वजनिक समारोहमा माफीको सट्टा उनले अनायासै आफ्ने उम्मेदवारी  घोषणा गर्छन् । उनको घोषणामा उनका केही साथी र परिवर्तनकारी केही युवाको नसोचेको साथ उनलाई मिल्छ । 

उनी निर्वाचनको तयारीमा लाग्छन् । माहोल उनको पक्षमा देखेपछि पुराना राजनीतिज्ञले उनलाई असफल बनाउन अनेकौँ दुःख दिन्छन् । नजिक रहेर साथ दिएको देखाउनेले उनको घर जलाइदिनेदेखि छोरीको अपहरण गर्ने गराउने हर्कत गर्छन् । ती सबै दुःखलाई चिर्दै के इन्द्र राजनीतिमा आउन सक्लान् भन्ने सस्पेन्स फिल्मको अन्त्यसम्म नै रहन्छ । त्यही सस्पेन्सको पर्खाइमा साढे दुई घण्टा बितेको दर्शकलाई पत्तै हुँदैन । 

चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, स्वस्तिमा खड्का, विजय बराल, सुमन कार्कीलगायतका कलाकारको अभिनय तारिफयोग्य छ । इन्द्रको भूमिकामा खगेन्द्र लामिछाने छन् । त्यस्तै भोला थोकरको भूमिकामा दयाहाङ राईको अभिनय पनि उच्च छ । नायिका स्वस्तिमा खड्का गाउँले परिवेशको भू्मिकामा बिल्कुलै फरक देखिएकी छन् । उनले दर्शकले सोचेभन्दा उम्दा अभिनय गरेकी छन् । सधैँ दयाहाङ राईको छायाका रूपमा देखिने विजय बराललाई गुन्डाको भूमिका सुहाएको छ । मेयर हरिप्रसाद अर्थात् अर्पण थापाले राम्रो अभिनय गर्ने कलाकारबाट यस पटक पनि बाजी मारेका छन् । चलचित्रमा सुमन कार्कीको अभिनयले पनि खासै तुक राख्दैन । मध्यान्तरपछि उनी कहाँ हराउँछन् कसैको मतलबको विषय बन्दैन । त्यस्तै निर्देशक निश्चल बस्नेतको अभिनयमा पनि खासै नयाँपन झल्किँदैन । ‘लुट’ मा निर्देशकीय पक्षबाट नाम कमाएका निश्चल ‘दिमाग खराब’ मा पनि निर्देशनमा जमेका छन् तर अभिनय भने उही फिक्का लाग्छ ।