काठमाडौँ, असोज २४ गते । रङ्गमञ्च एकान्तलाई सार्वजनिक गर्ने कला हो । यो मनोरञ्जनको मात्रै विधा नभएर समाजमा जागरण फैलाउने र समाजभित्र लुकेका सामाजिक आर्थिक र हरेक बेथितिलाई उजागर गर्ने एउटा सशक्त माध्यम पनि हो ।
चलचित्र आउनुभन्दा अघिदेखि नै नेपालमा मात्र होइन विश्वमै डबलीमार्फत नाटक मञ्चन गर्ने चलन थियो । प्रविधिको विकाससँगै रङ्गमञ्च विकसित हुँदै गयो । दर्शकले रङ्गमञ्चमा चासो देखाउन थाले । नाट्य विधाको फराकिलो दायरामा रङ्गमञ्चले हरेक पु्स्तालाई आकर्षित गर्दै लग्यो । अहिले रङ्गकर्मीले समाजलाई डो¥याउने खँदिलो विषयवस्तु पस्किरहेका छन् । यति सशक्त माध्यम भए पनि राज्यको निकायबाट र व्यावसायिक रूपमा नेपालमा अझै पनि रङ्गमञ्च फस्टाउन सकेको छैन । रङ्गमञ्च माथि उठ्न नसक्नुको कारण सरकारका तर्फबाट गर्नुपर्ने पर्याप्त लगानीको अभाव, निजी क्षेत्रको कम रुचि रहेको नाट्यकर्मी बताउँछन् ।
वरिष्ठ रङ्गकर्मी अशेष मल्लका अनुसार रङ्गमञ्च अझै पनि व्यावसायिक रूपमा स्थापित हुन सकेको छैन । अहिले पनि हामीले रङ्गमञ्चलाई नितान्त निजी रुचिका रूपमा मात्र चलाइरहेका छौँ । “रङ्गमञ्च माथि नउठ्नुको मुख्य कारण राज्यबाट केही कतै सहयोग नहुनाले पनि हो,” उहाँले भन्नुभयो, “रङ्गमञ्च भनेको पसल थापेको जस्तो होइन, चाडपर्व आयो किन नखोलेको र अन्य महिनामा किन नखोलेको भनेर गरिने प्रश्न आफैँमा निरर्थक छ । व्यावसायिक रूपमा हुनुपर्ने आधारभूत कुरा नेपाली रङ्गमञ्चमा फिटिक्कै नभएको उहाँले बताउनुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ तथा रङ्गकर्मी पुरु लम्सालको भनाइ फरक छ । जेनजी आन्दोलनले गर्दा समग्र क्षेत्रमा अस्थिरता उत्पन्न भएको अवस्थामा नाट्य क्षेत्र पनि अछुतो रहन नसकेको उहाँले बताउनुभयो । यसको प्रत्यक्ष असरस्वरूप चलिरहेका नाटकको मञ्चन बन्द गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “नेपालीको महान् चाडपर्व सुरु भएकाले कलाकारहरू चाडपर्व मनाउन आआफ्नो घरतिर लागे । यसै कारण दसैँको अवधिभर नयाँ वा रोकिएका नाटकको मञ्चन हुन सकेन । यद्यपि यो अवस्था रङ्गमञ्च सुस्ताएको नभई अस्थायी विराम मात्र भएको उहाँको भनाइ छ । “कलाकारहरू चाडपर्वमा व्यस्त भएका कारणले मात्र मञ्चन रोकिएको हो अब चाडपर्व सकिएसँगै रङ्गमञ्चमा फेरि नाटकको मञ्चन सुरु हुने छ र यसले नाट्य क्षेत्रमा नयाँ ऊर्जा भर्ने छ,” उहाँले भन्नुभयो ।
जेनजी आन्दोलनले पनि रङ्गमञ्चलाई केही प्रभाव त अवश्य पारेको थियो । त्यसो हुँदाहुँदै पनि जेनजी आन्दोलनपछि मुक्तिप्रसाद पौडेल र प्रवीण पौडेलको निर्देशनमा नाटक ‘काली पार’ र अनुप न्यौपाने निर्देशित नाटक ‘सिरुमारानी’ मञ्चन भएका थिए । रङ्गकर्मी सरिता गिरीले दसैँ र तिहारमा खासै कलाकार नहुने हुनाले नाटक घर सुनसान देखिएको हुन सक्ने बताउनुभयो । तिहारलगत्तै नयाँ नाटक मञ्चनको तयारीमा रहेको उहाँको भनाइ छ । जेनजी आन्दोलनले रङ्गमञ्चलाई सामान्य प्रभाव भने अवश्य नै पारेको उहाँको ठम्याइ थियो ।
दसैँपछि नाटकघर सुनसान जस्तै छन् । नाटकघरमा नाटक मञ्चन भएका छैनन् । चाडपर्वले गर्दा नाटक मञ्चन नभएको हुन सक्ने नाट्यकर्मी बताउँछन् । यद्यपि धमाधम रिहर्सल चलिरहेको हुँदा तिहारपछि केही नाटक मञ्चन हुने नाट्यकर्मीको विश्वास छ ।