ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक २ गते। हिन्दु नेपालीको दोस्रो ठूलो पर्व तिहारको आगमनसँगै बेनीमा देउसी भैलोको रौनक छाएको छ।विभिन्न संघसंस्थाको आयोजनामा बजारमा देउसी भैलो खेल्न थालेका छन्।
बजारका साथै देउसी भैलोका कारण ग्रामीण वस्तीमा समेत रौनकता छाएको छ।जिल्लाको विभिन्न ग्रामीण बस्तीमा सामुदायिक विद्यालय, संघ संस्था, युवा क्लब आमा समूहले तिहारको अवसरमा देउसी भैलोको आयोजना गरेका छन्।दसैँ तिहारको बिदाको अवसर पारेर गाउँ पुगेका विद्यार्थी तथा युवाहरु मिलेर देउसी भैलो खेल्दा गाउँ गुञ्जायमान भएको छ।
परम्परागत समाजमा मनोरञ्जनका लागि खेलिने देउसी भैलोबाट सामाजिक कामका लागि आर्थिक स्रोत जुटाउने प्रभावकारी माध्यम देउसी भैलो बनेको छ।
युवापुस्ताको समूह एविसी डान्स स्टुडियोले बेनीमा देउसी भैलोको कार्यक्रम गरेको छ।मौलिक पोषाकमा सजिएका युवती सालैजो र कौरा गीतमा छमछमी नाचेका थिए।तिहार पर्वको मौलिकताको संरक्षणका लागि देउसी भैलो संचालन गरेको निसा बुदुजाले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘हामीले हाम्रो संस्कृतिको संरक्षण गर्नुपर्दछ।हाम्रा मौलिक चाडपर्व र परम्पराको जगेर्ना गर्ने दायित्व युवापुस्ताको हो।देउसी भैलोले संस्कृति पुस्तान्तरणमा पनि टेवा पु¥याउँछ ।’’ देउसी भैलोमा करिब पचास जना भन्दा बढी युवायुवतीको सहभागिता रहेको उहाँले बताउनुभयो।
परम्परागतदेखि आधुनिक कला संस्कृतिलाई समावेश गरेर देउसी भैलो खेलिएको बुदुजाले बताउनुभयो।देउसी भैलोमा जिल्लाको कला संस्कृति संरक्षण, मनोरञ्जन प्रदानसँगै बचत रहेको रकमले सामाजिक काम गर्ने प्रचलन छ।
देउसी भैलोमा थाली नाच, कौरा, सिरफुले, सालैजो जस्ता मौलिक गीत, नृत्य तथा तिहारका गीतले बजार गुञ्जन थालेको छ।
विशेष गरी युवायुवतीको देउसी भैलोमा मौलिकपन हराउँदै जाँदा देउसी भैलोको मर्म नै मेटिने खतरा बढेको बुढापाकाको चिन्ता छ।देउसी भैलोमा आधुनिकीकरणको प्रभाव बढ्नु स्वाभाविक रहेपनि देउसी भैलोको खास महत्त्व र मर्मलाई भने हराउन दिन नहुने सर्वसाधारणले बताउँछन्।
तिहारको समयमा बालबालिकादेखि किशोरकिशोरी, युवायुवती सामूहिक रुपमा देउसी भैलो गाउँदै नाच्दै आशिष दिने र घरधनीले दिने दान रकम लिने चलन छ।