काठमाडौँ, असोज ३ गते । पुस्तक पढ्नु भनेको केवल अक्षरलाई आँखाले पछ्याउनु मात्र होइन, यो त मस्तिष्कको एउटा सूक्ष्म र सार्थक यात्रा पनि हो । यो यात्राले समाज, संस्कृति, इतिहास र मानव मनोविज्ञानका बारेमा नयाँ तरिकाले बुझ्न मद्दत गर्छ । अहिलेको डिजिटल युगमा हाम्रो ध्यान सामाजिक सञ्जालका छोटा भिडियो र क्षणिक पोस्टहरूमा अल्झिएको छ तर एउटा पुस्तकले दिने गहिरो शान्ति र आनन्दको अनुभव अद्वितीय छ । पुस्तकले हाम्रो मनलाई शान्त बनाउँछ, हाम्रो सोचाइलाई गहिराइ दिन्छ र हाम्रो कल्पनालाई फराकिलो बनाउँछ ।
एउटा किताबले हामीलाई एउटा विषयमा मात्र होइन, विभिन्न विषयमा गहिरो जानकारी दिन्छ । अहिले पठन संस्कृति हराउँदै गएको छ भनिन्छ तर यो पूरै सत्य होइन । हाम्रो समाजमा धेरै युवा पाठक छन्, जो लुकेर पुस्तक पढिरहेका छन् । उनीहरूले पढ्छन्, मनन गर्छन्, तर आफ्ना विचारलाई लेखेर वा बोलेर बाहिर ल्याउन हिचकिचाउँछन् । उनीहरू सामाजिक सञ्जालमा त सक्रिय छन्, तर पढ्ने कुरालाई त्यहाँ बाँड्न चाहँदैनन् । यो एकप्रकारको सङ्कोच हो, जसलाई हटाउन जरुरी छ ।
पठन संस्कृति हराएका भन्दा पनि झन् जुरमुराउन थालेको पठन संस्कृतिका अभियन्ता त्रिलोचन सापकोटा बताउनुहुन्छ । उहाँका अनुसार, “यहाँ अझै पनि धेरैले पठन संस्कृति के हो भनेर बुझेका छैनन् । पठन संस्कृति भनेको केवल पुस्तक पढ्न प्रेरित गर्ने भन्ने मात्र बुझाइ छ ।” यो बुझाइ सरासर गलत हो, उहाँले थप्नुभयो, पठन संस्कृतिमा कवि साहित्यकारहरू आउँछन् र अरूका प्रस्तुति सुन्छन् । उनीहरूले कविता, गीत, पुस्तक समीक्षाहरू सुनिसकेपछि प्रभावित भएर म पनि कोसिस गर्छु भनेर आउने हो । यसलाई नै पठन संस्कृतिको विकास भनिन्छ । कमसेकम यो माध्यमले पठन संस्कृतिमा केही न केही वृक्षरोपन त गरिदियो नि, उहाँले भन्नुभयो ।
शिखा बुक्सका सञ्चालक पुष्पराज पौडेलको भनाइ भने केही फरक छ । उहाँको अनुसार पठन संस्कृतिको लहर हराउँदै गएको छ । कुनैबेला पुस्तक किन्नेहरूलाई कुन पुस्तक किन्ने र पढ्ने भनेर सोच्न गाह्रो हुन्थ्यो तर अहिले त्यो समय बदलिएको छ । अहिले पढ्ने पाठक नै देशमा नभएको पौडेलको बुझाइ छ । उहाँले भन्नुभयो, “पठन संस्कृति हराउँदै जानुको अर्को कारण हामी प्रकाशक पाठकले खोजेको जस्तो पठनीय चिज उपलब्ध गराउन नसकेर हो की ?
सैद्धान्तिक रूपमा, पठनलाई शिक्षा प्रणालीको अभिन्न अङ्ग बनाउनु पर्छ । विद्यालयमा विद्यार्थीलाई केवल पाठ्यक्रमका किताब मात्र होइन, बाहिरी किताब पनि पढ्न प्रोत्साहन गर्नु पर्छ । बहस, पुस्तक समीक्षा र आलोचनात्मक लेखनका कार्यले विद्यार्थीलाई गहिरो सोचाइको विकास गर्न मद्दत गर्छ । पढ्ने बानीलाई एउटा सांस्कृतिक आन्दोलनको रूपमा अगाडि बढाउन हामी सबैको भूमिका हुन्छ । चाहे त्यो एउटा किताब किन्नु होस्, आफ्नो मनपर्ने किताबका बारेमा अरूसँग कुरा गर्नुहोस् वा एउटा पुस्तकालयको सदस्य बन्नुहोस् । के हामी सबै मिलेर यो यात्रामा लाग्न तयार छौँ ?