काठमाडौँ, असोज १२ गते । सुभाष कपुर निर्देशित चलचित्र ‘जोली एलएलबी ३’ को कथा अघिल्ला दुई शृङ्खलाका जस्तै कानुनी कुराकै मिश्रण हो । यस पटक निर्देशक कपुरले दुवै जोलीलाई चलचित्रमा एकै ठाउँमा उभ्याएका छन् । जोली मिश्रा (अक्षय कुमार) र जोली त्यागी (अरशद वारसी) ले कृषकमाथि भएको अन्यायका विषयलाई कसरी कानुनी माध्यमबाट जितसम्म पु-याउँछन् भन्ने कुरा चलचित्रको कथाले बताउँछ । चलचित्रभित्र दुवै जोलीले लडेका लडाइँका कुराहरूमात्र नभएर हाँसो, व्यङ्ग्य, भावना र सामाजिक सन्देशहरूको मिश्रण पनि छ । पहिलो शृङ्खला ‘जोली एलएलबी’
(२०१३) मा अभिनेता अरशद वारसीले गर्नुभएको वकिल जोलीको भूमिका एकदमै चर्चाको विषय बनेको थियो र दर्शकले उहाँको अभिनयलाई रुचाएका थिए । यद्यपि, २०१७ को ‘जोली एलएलबी २’ मा उहाँको ठाउँमा अभिनेता अक्षय कुमारलाई स्थान दिइयो । त्योबेला अरशद केही निराश पनि हुनुभयो र उहाँले यो अनुमान लगाउनुभयो कि निर्माताले ‘चलेका कलाकारहरू’ बढी खोज्ने रहेछन् ।
‘जोली एलएलबी ३’ बाट निर्देशक कपुरले दुवै कलाकारलाई एउटै फ्रेममा अभिनय गराउनुको कारण पुरानो विवादलाई भुलाउन खोज्नुभएको हो भन्ने प्रस्ट हुन्छ । चलचित्रको कथा एउटा किसान परिवारले आफ्नो जमिनमाथि भएको ज्यादती र आफ्नो जमिन पाउनका निम्ति लडेको लडाइँ वरपर घुमेको छ । एउटा किसानले आफ्नो जमिन बचाउन खोज्छ तर शक्तिशाली शक्ति र भ्रष्ट राजनीतिज्ञले ती किसानलाई आत्महत्या गर्न बाध्य बनाउँछन् । अम्मी (सीमा विश्वास) न्यायको खोजीमा अदालत जानुहुन्छ । अदालतमा जोली मिश्रा र जोली त्यागी दुवैसँग उहाँको भेट हुन्छ । दुवै जोली सुरुमा फरक फरक पक्षबाट वकालत गर्छन् तर पछि दुवैलाई सँगै काम गर्न बाध्य पारिन्छ, जसले गर्दा अदालत भित्रको कानुनी बहस अझ रमाइलो बन्दै जान्छ । चलचित्रले किसानको मुद्दालाई हास्य र व्यङ्ग्यका साथ अन्वेषण पनि गर्न खोजेको छ ।
चलचित्रमा अक्षय कुमारले जोली मिश्राको भूमिका आत्मविश्वासका साथ गर्नुभएको छ । अरशद वारसी, सधैँ जस्तै सहज र स्वाभाविक देखिनुभएको छ । सीमा विश्वासको भूमिका निकै भावनात्मक छ । कुनै कुनै दृश्यमा उहाँको अभिनयले दर्शकको आँखा रसाउने पनि बनाउँछ । न्यायाधीश त्रिपाठीका रूपमा सौरभ शुक्लाले अदालतको कोठामा सन्तुलन र मनोरञ्जन दुवै पस्कन खोज्नुभएको छ । यस पटक वकिलको भूमिका निर्वाह गर्नुभएका राम कपुरको अभिनय पनि तारिफयोग्छ छ । गजराज रावको भूमिकाबाट जो कोही पनि आश्चर्यचकित बन्न सक्छ । उहाँले भ्रष्ट व्यापारीको अभिनयलाई यति प्रतिभाशाली ढङ्गले चित्रण गर्नुभएको छ कि उहाँको अनुहारको भाव र संवाद प्रस्तुति दर्शकले लामो समयसम्म सम्झने छन् । सानो तर प्रभावशाली भूमिकामा शिल्पा शुक्ला जम्नुभएको छ नायिका अमृता राव र हुमा कुरेशीको अभिनय खासै महìवपूर्ण देखिँदैन ।
निर्देशक कपुरले हास्य र व्यङ्ग्यको बलियो भावनाका साथ अदालतभित्र सबैकुरालाई अटाउने काम गर्नुभएको छ । उहाँले अक्षय र अर्शदको अभिनयबाट राम्रो लाभ उठाउन सक्नुभएको छ । साथै किसानको मुद्दालाई संवेदनशील रूपमा सम्बोधन गर्नुभएको छ । क्यामराको प्रयोग र तिखा संवादले दर्शकलाई अदालतभित्रै हो कि भन्ने महसुस गराउँछ । यद्यपि भावनात्मक भागहरूमा अत्यधिक मेलोड्रामा र कमजोर सङ्गीत चलचित्रको सबैभन्दा कमजोर पक्ष हो ।
चलचित्रको कथा बलियो भए पनि यसले ठाउँ ठाउँमा दर्शकलाई निराशा पनि बनाउँछ । केही दृश्य यति धेरै नाटकीय छन् कि ती यथार्थपरक छन् भनेर विश्वास गर्न गाह्रो हुन्छ । चलचित्रले मनोरञ्जन र सामाजिक सन्देशलाई संयोजन गरेको छ । अक्षय र अरशदबिचको लडाइँ, सीमा विश्वासको भावनात्मक अभिनय, राम कपुरको शक्तिशाली वकालत र गजराज रावको भ्रष्ट व्यापारीको शक्तिशाली चित्रणले चलचित्रलाई हेर्न लायक अवश्य बनाएको छ ।