काठमाडौँ, कात्तिक १ गते । ‘राष्ट्रिय लघुत्तम चलचित्र महोत्सव’ मा उत्कृष्ट लघुचलचित्र ‘सङ्गिनी’ भएको छ भने उत्कृष्ट निर्देशक ‘कलर अफ टी’ बाट राज सरगम हुनुभएको छ । रेडियो नेपालका प्रथम गायक रङ्गकर्मी, अभिनेता तथा गीतकार स्वर्गीय हरिप्रसाद रिमालको १०१ औँ जन्मजयन्तीका अवसरमा हरिप्रसाद कल्याणी रिमाल नाट्य सङ्गीत प्रतिष्ठानले महोत्सवको आयोजना गरेको हो ।
महोत्सवमा नौ लघुचलचित्र प्रतिस्पर्धी थिए । प्रतिष्ठानका सदस्यसचिव सम्राट् सापकोटाका अनुसार दुई दर्जन लघुचलचित्रमध्ये प्रतिस्पर्धाका लागि नौ चलचित्र छानिएको हो । उत्कृष्ट तीन चलचित्रमा विनोद लोहार निर्देशित ‘सङ्गिनी’, राज सरगम निर्देशित ‘कलर अफ टि’, सुरेश पोर्तेल निर्देशित ‘अन्तिम राप’ चयन भए । उत्कृष्टलाई प्रतिष्ठानले एक लाख, ५० हजार, २५ हजार र सम्मानपत्रले सम्मान गरेको हो ।
व्यक्तिगततर्फ उत्कृष्ट सम्पादन, उत्कृष्ट लेखक, निर्देशक, अभिनेता, अभिनेतृ, क्यामरा म्यान र सम्पादक गरी छ विधाकाले जनही १५ हजार रुपियाँ र सम्मानपत्र पाए । रङ्गकर्मी, कलाकार तथा निर्देशक हरिहर शर्मा, पहिलो नेपाली नायिका भुवन चन्द र रेडियोकर्मी तथा कलाकार मदनदास श्रेष्ठको निर्णायक टोलीले निर्णय गरेको थियो ।