• २ कात्तिक २०८२, आइतबार

साहित्यमा नयाँ पुस्तासँगै नयाँ चिन्तन

blog

काठमाडौँ, कात्तिक २ गते । जेनजी आन्दोलनअघि काठमाडौँ उपत्यकाभित्र दैनिक तीनदेखि चार वटा साहित्यिक कार्यक्रम हुन्थे । यी कार्यक्रममा साहित्यकारदेखि साहित्य अनुरागीहरू व्यस्त देखिन्थे तर अहिले साहित्यिक गतिविधि सुस्त देखिएका छन् । साहित्यिक गतिविधिलाई पहिलेकै लयमा ल्याउने उपायको खोजी भने नभएको होइन । जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन भयो । देशले एउटा गति लिन थाल्यो । साहित्यिक क्षेत्रमा पनि यसको प्रभाव निश्चय नै परेको छ । 

केही दिनअघि लेखक यज्ञशको संवादमा आधारित अभिनेता राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक भयो । यीबाहेक अन्य गतिविधि पनि भइरहेका छन् तर तुलनात्मक रूपमा पहिलेकै लय समाउन भने बाँकी नै छ । पुस्तक विमोचन, साहित्यिक मन्थन, विचारविमर्श जस्ता कार्यक्रमले पहिलेकै गति लिनेमा आशा गर्न सकिन्छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव डा. धनप्रसाद सुवेदी पहिलेको तुलनामा साहित्यिक गतिविधि कम भएको स्विकार्नुहुन्छ । “आन्दोलनसँगै चाडपर्वले गर्दा पनि साहित्यिक गतिविधि कम देखिएको हुन सक्छ,” उहाँले भन्नुभयो । जेनजी आन्दोलनले दसैँतिहारमा गरिने भनिएका विभिन्न साहित्यिक गतिविधि धेरै नै प्रभाव पारेको उहाँको ठम्याइ छ । उहाँका अनुसार दसैँतिहारको बिचमा महोत्सव, गोष्ठी र विभिन्न स्थानीय पालिकासँग मिलेर गरिने भनिएका गतिविधि अन्दोलनले गर्दा अन्योलमा परेको छ । उहाँले थप्नुभयो, “दसैँतिहारको बिचमा हामीले जुन योजना बनाएर साहित्यक गतिविधि गर्ने भनेका थियौँ, त्यो गर्न सकेका छैनौँ । कति कार्यक्रम रद्द गर्नु परेको छ भने कतिको मिति परिवर्तन भएको छ । स्रष्टाहरू स्वयम्ले पनि आफूले लेखिरहेका विषय पछिल्लो पुस्ताले कसरी हेरिरहेको छ भनेर सोच्नुपर्ने बेला आएको पनि उहाँले औँल्याउनुभयो ।

साहित्यकार युवराज नयाँघरेको भनाइ भने केही भिन्न छ । उहाँका अनुसार जेनजी आन्दोलनभन्दा अघि र पछि साहित्यिक गतिविधिमा तात्त्विक अन्तर छैन । साहित्यकारले समाजका अप्ठ्यारा र असजिला विषय हिजो पनि देखेका थिए र आज पनि देख्छन् । उहाँले कलात्मक साहित्यको विकास राजनीतिसँग नजोडिने बताउनुहुँदै त्यसको महत्व बेग्लै हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “महाकवि देवकोटाले र पारिजातले लेखेको साहित्यमा जुन कलात्मक विशिष्टता छ, आज पनि त्यही चिन्तनले लेखिएको छ । केही गतिविधिमा कम बेसी भए होला तर रचनात्मक तथा सिर्जनात्मक ढङ्गले लेखनको गतिमा तात्त्विक फरक नपर्ने दाबी उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, “मनको शान्ति नभएका कारणले पनि होला बलिया साहित्यिक काम हुन सकेका छैनन् ।” अब नयाँ पुस्ता जस्तै नयाँ चिन्तनका साथ लेखकले लेख्ने उहाँको विश्वास छ । 

अब हरेक आन्दोलन रूपान्तरणको आँधी भएर आउने कवि तथा साहित्यकार डा. नवराज लम्सालको धारणा छ । त्यही आँधीले समाजको अन्तरविरोध र साहित्यको मूल स्पर्श जीवित राख्नेमा उहाँ ढुक्क हुनुहुन्छ । सायद समाजबारे लेख्नेका लागि अब लेखनको नयाँ अध्याय सुरु हुने छ ।