• २ कात्तिक २०८२, आइतबार

‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह

blog

काठमाडौँ,  कात्तिक २ गते ।  अभिनेता नीर शाहले आफ्नो लागि चलचित्र ‘परान’ विशेष रहेको बताउनुभएको छ । चलचित्र ‘परान’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक भएसँगै रासससँगको सङ्क्षिप्त कुराकानीमा उहाँकोले आफ्नो झण्डै छ दशकको कलाकारिता यात्रामा यो चलचित्र एउटा परीक्षा भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “मैले चलचित्रमा धर्मनाथको भूमिका निर्वाह गरेको छु । यो पात्रसँग कहीँकतै मेरो मनोविज्ञान जोडिएको छ, सोही कारण यसको कथा सुन्नेबित्तिकै मैले अभिनय गर्न सहमति दिएको हुँ । मेरो चलचित्रकर्मीमा यस्ता प्रस्ताव निकै कम आएका छन्, त्यसैले मैले यो भूमिका निर्वाह गरेँ । यसले अहिलेको नेपाली समाजको चित्रण गरेको छ ।”

अभिनेता शाहले चलचित्रमा आफूले पात्रलाई निर्वाह गर्न सतप्रतिशत  मिहिनेतको भन्दै यसको मूल्याङ्कन दर्शकले गर्ने बताउनुभयो । अभिनेता मदनकृष्ण श्रेष्ठसँगै अन्य सहकर्मी कलाकारसँग चलचित्रमा काम गर्दा केही नयाँ विषयबारे सिक्ने अवसर पाएको उहाँले धारणा राख्नुभयो ।

“मेरा लागि यो एउटा पाठशाला झैँ भयो । मेरा सहकर्मी कलाकारसँग धेरै र नयाँ कुरा सिक्न र बुझ्न पाएँ । मैले अभिनय गरेको छ दशक हुँदा आफूले निर्वाह गरेको यो भूमिकाका बारेमा मैले भन्ने धेरै कुरा छैन, दर्शकले चलचित्र भवनसम्म पुगेर मूल्याङ्कन गरिदिनुहुने छ भन्ने विश्वास छ”, अभिनेता शाहले भन्नुभयो । उहाँले दर्शकलाई चलचित्र हेरेर मूल्याङ्कलन गरिदिन आग्रह पनि गर्नुभयो ।

अभिनेत्री केकी अधिकारीले चलचित्रले एउटा परिवारमार्फत वर्तमान समाज र देशलाई चित्रण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो कथा सबैसँग जोडिएको छ । एउटा परिवारमा सबैले राम्रो गर्न खोज्दाखोज्दै पनि आउने घटनाक्रम चलचित्रको विषय हो । यो चलचित्रमा देखाए जस्तो परिवार सबैको चाहना हुन्छ, मैले यसमा माइली बुहारीको भूमिका निर्वाह गरेकी छु ।”

निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ ले चलचित्र ‘परान’ को मुख्य कथा आफ्नै परिवारको भए पनि यसले अधिकांश नेपालीको व्यथा देखाउन खोजेको विश्वास व्यक्त गर्नुभयो । 

“यो कथाको कल्पना मलाई मेरो परिवारबाट आएको हो । तर, चलचित्र हेर्दा सबैले मेरो कथा वा मेरो समाजको कथा भन्नु हुने छ । मैले एउटा कथाकार वा निर्देशकका रूपमा देखेको पात्रलाई सबै कलाकारले जीवन बनाउनुभएको छ । म पहिलो निर्देशकीय चलचित्रमा पात्रलाई न्याय गर्ने कलाकारसँग काम गर्न पाउँदा निकै उत्साहित छु”, उहाँले भन्नुभयो । 

परिवार, सम्बन्ध र सङ्घर्षको कथालाई प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेता शाह र अभिनेत्री अधिकारीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय गर्नुभएको छ । 

शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गर्नुभएको उक्त चलचित्रमा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डि गुरुङले सम्पादन र गगन थापामगरले सङ्गीत सिर्जना गर्नुभएको छ । 

चलचित्र यही कात्तिक १४ गतेदेखि नेपालभर प्रदर्शन हुने श्रव्यदृश्य सार्वजनिक गर्न शनिबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । रासस