• १ कात्तिक २०८२, शनिबार

द क्लिफमा हाइलाइन अभ्यास : के हो स्ल्याकलाइन र हाइलाइन ?

blog

कालीगण्डकी खोँचमा भइरहेकाे हाइलाइन अभ्यास । तस्बिर : रासस

काठमाडौँ, कात्तिक १ गते । पर्वतको कुस्मा र बाग्लुङको बलेवाबीचमा रहेको कालीगण्डकी खोँचमा हाइलाइन अभ्यास गरिएको छ । 

हाल जर्मनीमा बसोबास गरिरहेका धनकुटा हिलेका शङ्कर कोइरालाले हाइलाइन अभ्यास गर्नुभएको हो । उहाँ विगत १५ वर्षदेखि युरोपका विभिन्न ठाउँमा हाइलाइन गर्दै आउनुभएको छ । 

बञ्जीलगायत एड्भेञ्चर हबका रूपमा परिचित ‘द क्लिफ’मा पहिलोपटक हाइलाइन अभ्यास गरिएको हो । साहसिक पर्यटन प्रवद्र्धनको उद्देश्यले कोइरालाको संयोजनमा नेपालमा हाइलाइन प्रयास हुनु सुखद् रहेको द क्लिफका अध्यक्ष राजु कार्कीले बताउनुभयो ।

हाइलाइनको क्रु सदस्यहरूमा कोइराला सहित तीन जना नेपाली, एक जना न्यूजील्यान्डका नागरिक र दुई जना जर्मनी नागरिक सहभागी छन् । कोइरालासँगै सुलभ चालिसे, सहन महर्जन, डायलन, कासिया, मटासे र मिथियासलाई नेपाल स्ल्याकलाइन कम्युनिटीले पनि साथ दिएको छ ।

गत असोज २९ देखि सुरु भएको हाइलाइन अभ्यास कात्तिक १ गतेसम्म चल्नेछ । द क्लिफका अध्यक्ष कार्कीका अनुसार नेपालमा पहिलोपटक यति उचाइमा हाइलाइन गरिएको हो । यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाका ढोका खोल्ने अपेक्षा गरिएको छ । उचाइ, जोखिम र कौशलका कारण यो खेल अत्यन्त चुनौतीपूर्ण मानिन्छ । हाइलाइनको पहिलो दिनको अभ्यास बेनेट डायलन रेडले गर्नुभएको थियो । 

चार सय आठ मिटर लम्बाइको हाइलाइन गर्ने डोरीले कुस्मातर्फ हार्नेस जिपलाइन र बलेवातर्फ द क्लिफलाई जोडेको छ । यो हाइलाइन परियोजना दक्षिण–पूर्व एसियामा दोस्रो लामो भएको भनिएको छ र नेपालमा अहिलेसम्म सबैभन्दा लामो र अग्लो हाइलाइन मानिएको छ ।

के हो स्ल्याकलाइन र हाइलाइन ?

स्ल्याकलाइन सामान्यतया जमिनबाट ३० सेन्टिमिटरदेखि १ मिटर उचाइमा तानिएको पट्टीमा शरीर हल्का मोडेर, हात फैलाएर सन्तुलन मिलाउँदै हिँड्ने खेल हो । यो संसारभर पार्क, समुद्रकिनारा र बगैंचामा अभ्यास गरिन्छ। ध्यान, शरीर नियन्त्रण र लचकता बढाउने लोकप्रिय गतिविधि हो ।

हाइलाइन भने २० मिटरदेखि सयौँ मिटर उचाइमा तानिएको लाइनमा सेफ्टी हार्नेस र लिस प्रणालीसहित हिँड्ने साहसिक खेल हो । सन्तुलनका लागि गहिरो ध्यान, स्थिर नजर र श्वास नियन्त्रण अत्यावश्यक हुन्छ । यो पर्वत, पुल र खोँचमा अभ्यास गरिन्छ र मानसिक तथा शारीरिक शक्ति परीक्षण गर्ने अत्यन्त रोमाञ्चक खेल हो ।