• १४ फागुन २०८०, सोमबार

सामाजिक सद्भावको पर्व छठ

blog

नेपाललाई कला, संस्कृतिको धनी देश त्यतिकै भनेको होइन । नेपाल पर्वै पर्वको देश पनि हो । नेपालमा प्रायः प्रत्येक महिना कुनै न कुनै पर्व मनाउने गरिन्छ । नेपालमा सबैभन्दा ठुलो पर्वका रूपमा दसैँ र त्यसपछिको दोस्रो ठुलो पर्व तिहार हो । दसैँ र दीपावली पर्वपछिको ठुलो पर्व छठ पनि हो । सूर्य र उनको देवी रूप उषालाई छठी मैयाका रूपमा षष्ठी तिथिमा मुख्य पूजा गरिने हुनाले यो पर्वको नाम छठ पर्न गएको हो ।

आस्था र सहअस्तित्वको पर्व छठको तेस्रो दिन; जसलाई लोक बोलीमा ‘सँझियाँ घाट’ भन्ने गरिन्छ । मानव र प्रकृतिबिचको सम्बन्धलाई छठले प्रत्येक वर्ष प्रगाढ बनाउँदै आइरहेको छ । मानव जातिको पीडाप्रति सजग रही हरेक वर्ष दीपावली अर्थात् लक्ष्मीपूजा समाप्तिपछि मनाउँदै आएको छठपर्वले मानव र प्रकृतिबिच हराउँदै, बिलाउँदै, लोप हुँदै गइरहेको अटुट संवाद–सम्बन्धको सूत्रधारलाई सबलीकरण गर्दै मानव र प्रकृतिबिच सम्बन्धलाई डोरीको गाँठो जस्तो बाँध्ने काम गर्छ । 

छठपर्वले प्रकृतिसँग जोड्ने काम मात्र होइन, समाजलाई जोड्ने काम पनि गरेको छ । समाजमा देखिएको शत्रुता, कटुता, वैरभावलाई अन्त्य गर्दै एक अर्कालाई नजिक ल्याउने काम गरेको छ ।

पुजारीबिनाको पर्व

यो नै एउटा यस्तो पर्व हो, जसमा पुजारी र पुरोहित आवश्यक पर्दैन । त्यसैले भनिन्छ, “भक्त र भगवान्सँग सिधा वार्तालाप छठपर्वमा मात्र हुन्छ ।” छठमा अर्घ दिइने सूर्य भगवान् प्रत्यक्ष देखिन्छ । त्यसैले पुजारी चाहिँदैन । छठपर्वको तयारीदेखि लिएर त्यसको सम्पन्नसम्म व्रतालु त्यसमा आफैँ संलग्न हुनु पर्छ । आस्था र निष्ठाका साथ कसैले सकी नसकी छठको तयारीमा एक महिना पहिलादेखि नै लागेका हुन्छन् । कुटानी पिसानीदेखि लिएर बजारबाट सामान ल्याउँदा पनि आफैँ त्यसमा संलग्न हुन्छन् । सुरुदेखि अन्त्यसम्म त्यसमा आफैँ संलग्न भएको कारण छठको आस्था र विश्वासलाई नजिकबाट अनुभव गरेका हुन्छन् र छठ प्रमेश्वरीसँग प्रत्यक्ष भेटेको अनुभूति हुन्छ । 

यो छठपर्व बिस्तारै युवा पुस्तामा हस्तान्तरण हुँदै गइरहेको छ । घरका मूली अर्थात् आमाबुवा बुढो भएपछि उपवास बस्न वा अरू गतिविधि गर्न नसक्ने अवस्थामा पुगेपछि त्यो पर्व युवा पुस्तामा हस्तान्तरण भएको हुन्छ । छठपर्वलाई अवलोकनसँगै विधिहरू सिधै सिक्ने र यो व्रmम नयाँ पुस्तामा हस्तान्तरण हुँदै आएको छ । केहीले छठ घाटमा सूर्य भगवान्को मूर्ति निर्माण गरी व्रतालुले सूर्यलाई नमस्कार गर्छन् । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिँदा पनि पुजारी आवश्यक पर्दैन । व्रतालुहरू सूर्य मन्त्र उच्चारण गर्दै अर्घ अर्पण गर्छन् ।

ऐतिहासिक पक्ष

छठ शब्द संस्कृतको ‘षष्ठी’ शब्दबाट विकसित भएको इतिहास छ । चार दिवसीय छठ व्रतमा सबैभन्दा कष्ट, कठिनाइ, दौडधुप, श्रमशक्ति र महìवको हिसाबले कात्तिक शुक्लषष्ठीको दिनमा हुन्छ । कात्तिक शुक्लषष्ठी तिथिका दिन यो पर्व सबै ठाउँमा एकैसाथ मनाइन्छ । यो पर्व षष्ठी पूजाको अपभ्रंशका रूपमा आएको हो । यस पर्वमा सूर्यको उपासना गरिन्छ र छठी माता (श्रीसपता) को पूजा गरिन्छ । अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेर प्रारम्भ हुने यो व्रत भोलिपल्टको उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेर विसर्जन हुने गर्छ । निकै पवित्र, सफासुग्घर र निष्ठापूर्वक मनाइने लोकपर्व धेरै दृष्टिकोणबाट मननयोग्य छ । छठपर्वका विभिन्न विशेषता रहेका छन् ।

सामाजिक सद्भाव

छठपर्व समाजिक सद्भावको पर्व हो । कानुनी रूपमा छुवाछुतको अन्त्य भए पनि हाम्रो समाजमा छुवाछुत, भेदभाव, तल्लो जाति–माथिल्लो जातिबिच पानीबराबारको अवस्था अझै कायमै छ तर छठपर्वले सामाजिक भेदभावको बाँध भने परापूर्वकालदेखि नै भत्काइदिएको छ । यो पर्वमा छुवाछुत, उँच–नीच, गरिब–धनी केही पनि हेरिँदैन । छठपर्वमा डोम जातिको अति नै आवश्यक पर्ने गर्छ । उनीहरूले तयार गरेर बनाएको ढक्की, नाङ्ग्लो, डलिया, सुपली, कोनिया, चलनी आदिमा छठी मैयालाई चढाउन प्रसाद राख्न व्रतालुहरू प्रयोग गर्छन् ।

त्यसै गरी यो पर्व मनाउने सनातन धर्मावलम्बीबिच समुदायगत, जातिगत, भाषागत भिन्नता पनि छन् । धार्मिक भिन्नता पनि छन् तर यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबिच त्यसका आधारमा कुनै वैमनश्य वा द्वन्द्व कहिल्यै हुने गरेको छैन । सबै जातिका व्रतालु एउटा ठाउँमा अटाएर पूजाआजा गर्ने गरिन्छ । तसर्थ यो व्रतले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ बलियो बनाएको देखिन्छ । अरू बेला अछुत भनेर तिरस्कार गर्ने समाजका कुलीन वर्गका छोरी र बुहारी पनि बाटोको छेउमा अँचरा (आँचल) थापेर प्रसाद माग्छन् र प्रसाद जुनसुकै जातजातिका मानिसले दिए पनि त्यसलाई पवित्र मानेर ग्रहण गर्ने गरिन्छ । 

सामाजिक एकता

छठको तयारी हुँदैको बखतदेखि समाजमा एक अर्कालाई सहयोग गर्ने चलन छ । पूजा सामग्री तयार गर्दा एउटा छिमेकले अर्को छिमेकलाई सहयोग गरेका हुन्छन् । जाँतो, ढिकीमा कुटाइ, पिसाइ गर्दा एक अर्काले सहयोग गरेका हुन्छन् । सबै मिलेर घाट बनाउने, त्यसलाई सजाउने, नदी तथा तालतलैयाको सरसफाइ गर्ने, त्यसको सुरक्षा दिने, रमाउने, नाचगान गर्ने जस्ता कार्य समूहमै भएका हुन्छन् । जसले गर्दा समाजमा एकताको सन्देश दिएका हुन्छन् । समाजमा हुने त्यस्ता गतिविधिले मानवीय भाइचारा, सामाजिक एकता र सामाजिक सद्भावलाई दह्रो बनाउन छठपर्वले मद्दत गरेको हुन्छ । तराईमा मनाइने यो पर्व पछिल्ला दिनमा हिमाल र पहाडमा पनि मनाउन थालिएको छ । जसले मधेशी र पहाडीबिच एकता, सद्भाव बनाउने काम गरेको छ, एकता अभिवृद्धि गराउने काम गरेको छ । 

लोकतान्त्रिक पर्व

छठपर्वलाई लोकतान्त्रिक पर्व पनि भन्न थालिएको छ । यो पर्वमा सबै समुदायको संलग्नता भएको हुनाले लोकतान्त्रिक पर्व भनिएको हो । कसैमाथि विभेद तथा भेदभाव गर्न नहुने संस्कृति छठपर्वमा भएकाले लोकतान्त्रिक पर्व भन्ने गरिएको हो । पहिला पहिला हिन्दु धर्म मान्नेहरू नै यो पर्व मनाउँथे । अहिले यो पर्व सबै जातजाति, धर्म तथा भूगोलको पर्व भएको छ । 

अहिंसाको पर्व

छठपर्वलाई अहिंसाको पर्व पनि भनिन्छ । यो पर्वमा कुनै प्रकारको जीवजन्तुको बलि दिइँदैन । बरु यो पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्नका लागि भगवान्सँग प्रार्थना गरिन्छ । बलि प्रथालाई यस पर्वले निषेध गरेको छ । शाकाहारी, अहिंसा भाव र शुद्धतालाई निकै महìव दिई छठपूजा गरिन्छ । यो पर्वमा सबैभन्दा बढी शुद्धतामा ध्यान दिइएको हुन्छ । छठका लागि तयार पारिएको प्रसाद तथा अन्य सामग्री जुठो नहोस् भनेर निकै सचेतता अपनाइन्छ । व्रतालु यस पर्वमा प्याज, लसुन, माछामासु खाँदैनन् । पवित्र मन बनाएर छठको तयारी गर्नुका साथै त्यसका लागि प्रसादहरू तयार गरिएका हुन्छन् ।

गीतमय पर्व

छठको सुरुदेखि अन्त्यसम्म सबै विधि, विधान गीतबाटै बुझ्न सकिन्छ । छठको तयारीदेखि लिएर समापनसम्म व्रतालुहरू गीत गाइरहेका हुन्छन् । छठका लागि पकाई ठकुवा, भुसवा, खिरका लागि चाहिने पिठो तथा चामल बनाउँदा महिलाले छठको गीत गाइरहेका हुन्छन् । जतामा पिठो बनाउँदा महिलाले गीत गाउँदा कम मनमोहक र सौन्दर्यता प्रदान गरेको हुँदैन । छठपर्व आउन २० दिन अघिदेखि नै छठको गीत, सङ्गीत घरघरमा गुञ्जिने गरेका हुन्छन् । पहिलाको जस्तो तरिकाले पछिल्ला दिनमा गीत गाउने चलन हराउँदै गएको छ । त्यसका ठाउँमा रेडियो, टिभी र टेपरेकर्डरबाट गीत बजाउने प्रचलन देखिन थालेको छ । 

नारी शक्तिको पर्व

छठपर्वमा शक्तिस्वरूपा छठ प्रमेश्वरीको पर्व हुने भएका हुनाले यो पर्वलाई नारी शक्तिको पर्व पनि भनिएको छ । यो पर्वमा नारीको महìव निकै बढी हुन्छ । यो छठपर्वको तयारीदेखि लिएर अन्त्यसम्म महिलाको संलग्नता मुख्य हुन्छ । कुटानी पिसानीदेखि लिएर पूजाको सामग्री तयारी गर्नुका साथै उपवास बस्ने काम पनि महिलाले नै गरेका हुन्छन् । 

पछिल्लो समय पुरुष पनि उपवास बस्न थालेका छन् । छठ सूर्यको उपासनाको पर्व भए पनि यस पर्वले सामाजिक सद्भाव, मानवीय सद्भाव, श्रम र प्रकृतिलाई आदर र पवित्रताका धर्म यसको मूल मान्यता हो भन्न सकिन्छ । सूर्यको उपासनामा कृपालु छठी माईको आशिषबिना अनुष्ठान पूरा हुन सक्दैन । यो मातृशक्तिप्रतिको श्रद्धा हो । छठ मात्र यस्तो अनुष्ठान हो, जसमा छोरीको कामना गरिन्छ । छठी माईको गीतमा यसको स्पष्ट झझल्को पाइन्छ । छठपर्वमा सूर्य देवताका साथै उषाको पनि पूजा हुन्छ । उषा भनेको देवी नै हो । यो पर्वमा उदाउँदो सूर्यलाई मात्र होइन, अस्ताउँदो सूर्यको पनि पूजा हुन्छ ।