• ९ चैत २०८२, सोमबार

मधेशवादी दलको यात्रा

blog

आमनिर्वाचन २०८२ को जनादेशले नेपालको राजनीतिमा नयाँ मोड ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिटमा विजय हासिल गरेको छ । यो सिट सङ्ख्या दुई तिहाइ (१८४) नजिकको हो । नेपालमा प्रजातन्त्रको पुनस्र्थापनापछिको साढे तीन दशकमा यति ठुलो चुनावी सफलता कुनै पनि राजनीतिक दलले प्राप्त गरेको थिएन । यसभन्दाअघि २०१५ सालको पहिलो आमनिर्वाचनमा बिपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले दुई तिहाइ सिट हासिल गरेको थियो । यस पटकको निर्वाचन परिणामले देशका स्थापित राजनीतिक शक्ति नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र राप्रपाको मत धेरै नै खुम्चिएको छ । विगत साढे तीन दशकदेखि निरन्तर प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएका मधेशवादी दल र नेपाल मजदुर किसान पार्टीको त प्रतिनिधित्व नै शून्य भएको छ । मधेशवादी दल जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र संरक्षक महन्त ठाकुरबिचको एकताले पनि तिनको अस्तित्वलाई जोगाउन सकेन । जनमत पार्टीका अध्यक्ष सिके राउतको पार्टीले पनि उल्लेखनीय मत पाप्त गर्न सकेन । यस निर्वाचन परिणामले मधेशी दलहरूलाई जातिवाद, परिवारवाद र सत्तालोलुप राजनीतिबाट बाहिर बस्न जनताले आदेश दिएका छन् । मधेशको नाममा राजनीति गर्ने दलहरूले आफ्नो कमीकमजोरीको समीक्षा र तत्पश्चात् आत्मालोचना गर्न आवश्यक छ । आफूभित्रको कमीकमजोरी महसुस गरी कार्यशैलीमा सुधार ल्याउने मार्गमा अब मधेशवादी दल लाग्नुपर्ने देखिन्छ ।

मधेशवादी राजनीतिक दलहरूको चुनावी इतिहासलाई हेर्ने हो भने प्रजातन्त्रको पुनस्र्थापनापछि २०४८ सालको आमनिर्वाचनमा गजेन्द्रनारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीले करिब चार प्रतिशत मतसहित छ वटा सिट प्रतिनिधि सभामा जितेको थियो । पार्टीले राष्ट्रिय सभामा पनि एक सिट प्राप्त गरेको थियो । देशमा एकात्मक शासन प्रणालीलाई अन्त्य गरी सङ्घीय संरचना लागु गर्नुपर्ने यस पार्टीको प्रमुख माग थियो । नागरिकता समस्याको समाधान हुनुपर्ने, समावेशी र जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको गठन हुनुपर्ने जस्ता माग पनि यस पार्टीले अघि सारेको थियो । पार्टीको एउटा माग त २०४८ सालको निर्वाचनअघि नै पूरा भइसकेको थियो । देशमा जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको गठन भइसकेको हो । २०५१ सालको मध्यावधि निर्वाचनमा यस पार्टीले ३.४९ प्रतिशत मतसहित तीन सिट ल्याएको थियो तर पार्टीभित्र पद र सत्ताका निम्ति उत्पन्न कलहका कारण तीन जना सांसद तीन वटा पार्टीमा विभाजित भए । विसं २०५६ को आमनिर्वाचनमा पार्टीले ३.२२ प्रतिशत मतसहित पाँच सिट जित्न सफल भयो । नेकपा माओवादीको एक दशक लामो सशस्त्र सङ्घर्षका कारण नेसपाका सङ्गठन शिथिल हुँदै गए । २०५९ सालमा तात्कालीन राजा ज्ञानेन्द्रको कदमका कारण नेसपा दुई टुक्रामा विभाजित भयो । एक पक्षले राजाको कदमको समर्थन ग¥यो भने अर्को पक्ष सडक आन्दोलनको मार्ग रोज्यो । 

जनआन्दोलन–२ को सफलतापछि नेसपा (आनन्दी देवी) मा पनि पद र सत्ताका लागि सङ्घर्ष सुरु भयो । पार्टी विभिन्न गुट हुँदै अनेकौँ टुक्रामा विभाजित भयो । यसका कतिपय नेता नेसपा आनन्दी देवी, सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी त कतिपयले मधेशी जनअधिकार फोरमलाई रोजे । एक किसिमले योे टुटफुट र विभाजन नै गजेन्द्र नारायण सिंह नेतृत्वको नेपाल सद्भावना पार्टीको अन्त्यको प्रस्थान विन्दु साबित भयो । 

विसं २०६४ मा भएको संविधान सभाको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालले ६.३२ प्रतिशत मतसहित प्रत्यक्षतर्फ ३० सिट ल्याउन सफल भयो । सोही चुनावमा महन्त ठाकुर नेतृत्वको तराई मधेश लाकेतान्त्रिक पार्टीले ३.३५ प्रतिशत मतसहित २० सिट (प्रत्यक्ष र समानुपातिकसमेत गरी) जित्न सफल भयो । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीले प्रत्यक्षमा पाँच र त्यति नै समानुपातिकतर्फ सिट प्राप्त ग¥यो । नेसपा आनन्दी देवीले समानुपातिकमा दुई सिट प्र्राप्त गर्न सफल भयो । 

पहिलो संविधान सभामा राम्रो सङ्ख्यामा उपस्थिति जनाएका मधेशी दल पाँच वर्षभित्रमै मन्त्री पद र पार्टी नेतृत्वका निम्ति झन्डै दर्जन पार्टीमा विभाजित भए । मधेशी जनअधिकार फोरम पार्टीबाट तराई मधेश फोरम, फोरम (लोकतान्त्रिक), फोरम (गणतान्त्रिक), राष्ट्रिय मधेश समाजवादी पार्टी भए । तराई मधेश लोकतान्त्रिक पार्टीबाट तराई  मधेश सद्भावना पार्टी, सद्भावना पार्टीबाट राष्ट्रिय सद्भावना पार्टी र सङ्घीय सद्भावना पार्टी अस्तित्वमा आयो । विसं २०७० को संविधान सभा निर्वाचनमा मधेशी दलहरूको लज्जास्पद पराजय भयो । 

विसं २०७२ मा देशका ठुला दलहरूले मिलेर जारी गरेको नेपालको संविधानमा सङ्घीय संरचनालाई आत्मसात् गरी देशमा सात वटा प्रादेशिक एकाइको गठन गरियो । यसरी मधेशी दलहरूका राजनीतिक माग संवैधानिक तरिकाले नै सम्बोधन भयो । २०७४ सालको आमनिर्वाचनमा मधेशी दलहरू एउटै मोर्चा बनाई चुनाव लड्दा राष्ट्रिय जनता पार्टीले प्रत्यक्षतर्फ ११ र समानुपातिक छ वटा गरी १७ सिट जित्न सफल भयो । जबकि उपेन्द्र यादवको फोरम नेपालले १० सिट प्रत्यक्ष र छ वटा समानुपातिक गरी १६ सिट जित्न सफल भयो । राजपाले पनि हाराहारी यति नै मत ल्याएको थियो । २०७९ सालको आमनिर्वाचनमा जसपा नेपालले ३.९९ प्रतिशत मतसहित १२ सिट प्राप्त ग¥यो । महन्त ठाकुर नेतृत्वको लोसपाले प्रत्यक्षतर्फ चार सिट जित्न सफल रह्यो तर पार्टीले राष्ट्रिय मान्यताका निम्ति आवश्यक मानिएको तीन प्रतिशत मत ल्याउन सकेन । सिके राउतको जनमत पार्टी, राष्ट्रिय मान्यता पाउन सफल भयो । हालै सम्पन्न फागुन २१ को निर्वाचनमा उपेन्द्र यादव र महन्त ठाकुर मिलेर चुनाव लड्दा पनि दुई प्रतिशत मत ल्याउन सकेनन् भने प्रत्यक्षतर्फ नै एक सिट जित्न पनि सकेनन् । सिके राउतको पार्टी जनमत र राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीको पनि अकल्पनीय पराजय भयो ।

नेपाली जनताले आफ्नो जनादेशमार्फत यथास्थितिवादी राजनीतिलाई पूर्णतः खारेज गरेका छन् । आश्वासन, भाषण र झुटा प्रतिबद्धतालाई खारेज गरेका छन् । नेपाली जनताले गरिबी, बेरोजगारी र महँगीलाई मुख्य प्राथमिकतामा राखी मतदान गरेका छन् । बालेन शाहको लोकप्रियता मधेशमा उत्कर्षमा नै देखियो । नेपाली जनताले घन्टी छाप र रास्वपाप्रति विश्वास गरी मत दिएका दिएका छन् । पढेलेखेका युवा रास्वपाको उम्मेदवार भएर बढी सङ्ख्यामा चुनाव जिती प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने भएका छन् । अहिले त सरकार गठन पनि भएको छैन । मधेशीहरूको साझा मञ्च संयुक्त लोकतान्त्रिक मोर्चाले रास्वपालाई चुनावी सफलताका निम्ति बधाई दिएको छ । प्रतिनिधि सभामा एक सिट पनि नभएको पार्टीको सद्भाव र समर्थनले सरकारको स्थायित्वमाथि असर पार्न सक्दैन तर नयाँ सरकारको निम्ति जुन सुकै पक्ष, तह र कोणवाट पनि समर्थन र सद्भाव आउनु सकारात्मक नै हो । मधेशी दलहरू इमानदार प्रयास र जिम्मेवारीपूर्ण राजनीतिमार्फत पुनः नेपाली राजनीतिको केन्द्रमा स्थापित हुन सक्छन् ।