• ३ असार २०८१, सोमबार

कृत्रिम रूपमा पकाइएको आँप जोखिमयुक्त

blog

काठमाडौँ, जेठ १२ गते । आँप फलेपछि छिट्टोमा जेठको अन्तिमदेखि मात्र पाक्न थाल्छन् र त्यो खानयोग्य हुन्छ तर यहाँ बजारमा दुई-तीन महिनादेखि पाकेको आँप छ्यापछ्याप्ती पाउन थालेका छन् । बजारमा अहिले बिक्रीवितरण भइरहेको आँप खानयोग्य छैन किनभने ती आँपलाई कृत्रिम ढङ्गले रासायनिक पदार्थ हालेर प्रयोग गरी पकाएर बिक्रीवितरण गरिरहेको विज्ञहरू बताउँछन् । 

काँचो आँपलाई क्याल्सियम कार्बाइड जस्ता रासायनिक पदार्थ प्रयोग गरेर पकाउने गरेका छन् जो स्वास्थ्यका लागि एकदमै हानिकारक छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव सञ्जीव कर्णले बजारमा अहिले बिक्री भइरहेको आँप कार्बाइड हालेर पकाइएको छ कि छैन त्यो परीक्षणबाट मात्र पुष्टि हुने बताउनुभयो । 

खाद्य ऐनले नै कार्बाइड प्रयोग गरी पकाइएको फलफूल बिक्री गर्न पाइँदैन भनी उल्लेख भएका कारण यदि त्यसरी पकाइएको आँप बजारमा बिक्रीवितरण गर्न नपाइने उहाँले बताउनुभयो ।

कार्बाइड प्रयोग गरेको आँप अन्य मुलुकबाट पनि ल्याउन पाइँदैन, भन्सार नाकामा नै यसलाई नियन्त्रण गर्नुपर्ने बताउँदै उहाँले कार्बाइड प्रयोग गरिएको आँप स्वास्थ्यका लागि हानिकारक हुन्छ, स्वास्थ्यलाई हानी गर्ने भएकाले बजारमा बिक्रीवितरण गर्न नपाइने बताउनुभयो ।

कृषि प्रयोगशालाका प्रमुख महेशचन्द्र आचार्यले सरकारले कार्बाइडलाई विषादीका रूपमा राखिएको छैन, त्यसैले यसलाई सरकारले रोक्न सक्दैन, बजारमा यो सजिलो तरिकाले पाउँछ त्यही भएर व्यापारीले फलफूल पकाउनका लागि प्रयोग गर्दै आएको उहाँले बताउनुभयो ।

यो विषादी नभए पनि मानव स्वास्थ्यका लागि जोखिम पदार्थ हो भन्नु हुँदै उहाँले यसले स्वास्थ्यलाई असर पुर्याइरहेका हुनाले पकाइएका आँप तथा फलफूल खाँदा सावधानीपूर्वक खानुपर्ने बताउनुभयो । कृत्रिम रूपमा पकाइएका आँप खाँदा बोक्रा फ्यालेर त्यसलाई पुनः धोएर काटेर खाँदा जोखिम कम हुने बताउँदै उहाँले खानुअघि नुन पानीमा राख्दा पनि जोखिम कम हुने जानकारी दिनुभयो । समयभन्दा पहिला नै कृत्रिम ढङ्गबाट पकाइएको आँप स्वास्थ्यका लागि जोखिमयुक्त नै हुने गरेको उहाँले बताउनुभयो ।

क्याल्सियम कार्बाइड प्रयोग गरी पकाइएको आँप खाँदा बान्ता हुने, छाती दुख्ने, घाँटीमा घाउ आउने, पेट पोल्ने, तिर्खा लाग्ने, निल्न गाह्रो हुने, आँखा पोल्ने, आँखामा दीर्घकालीन क्षति हुने, अल्सर हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखा पर्न सक्ने उहाँले बताउनुभयो । 

नेपालको खाद्य नियमावली २०२७ को नियम (घ) ले फलफूलको आयात, उत्पादन, भण्डारण तथा बिक्रीवितरणमा संलग्न सबै व्यवसायीलाई फलफूल पकाउन प्रयोग हुने कार्बाइड प्रयोग गर्न निषेध गरिएको छ । तैपनि व्यापारी काँचो आँपमा त्यस्ता रासायनिक तत्व प्रयोग गर्ने गरेका छन् । 

एथिलिन तथा धुवाँ प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि त्यति हानिकारक हुँदैन तर जोखिममुक्त भने हुँदैन । कार्बाइड प्रयोग गरी पकाइएको आँप तथा फलफूल खान नहुने भनी सरकारले नै रोक लगाएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले सीमानाकामा नै जाँच गरी आयात गरिएको हुनाले फलफूलमा कार्बाइड प्रयोगको सम्भावना निकै कम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा १२ वटै कार्यालयले फलफूलमा कार्बाइड प्रयोग भएको छ कि छैन भनी जाँच गरेर मात्र आउन दिन्छ त्यसैले बजारसम्म कार्बाइड पदार्थ प्रयोग भएको आँप वा अन्य फलफूल आउने सम्भावना निकै कम छ ।”

विभागले बजारबाट नमुना सङ्कलन गरेर पनि जाँच गरिरहेको छ, हालसम्म कार्बाइड प्रयोग भएको आँप फेला नपरेको उहाँले बताउनुभयो । गत वर्ष तीन सय नमुना परीक्षण गर्दा दुई वटा मात्र कार्बाइड प्रयोग भएको फेला परेको थियो, यसपालि हालसम्म एउटा पनि फेला नपरेको उहाँले बताउनुभयो ।