• २७ कात्तिक २०८२, बिहिबार

इजरायलको इन्जिन छिटो ल्याई जहाज सञ्चालन गर्न निर्देशन

blog

प्रधानमन्त्री सुशीला कार्की नेपाल वायु सेवा निगमको सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई निर्देशन दिँदै । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, कात्तिक २७ गते । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को ए–३२० जहाजका इजरायलमा रहेका इन्जिन छिटो ल्याई सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको छ।

उहाँले सिंहदरबारमा निगम सञ्चालक समिति र व्यवस्थापनका अधिकारीहरूलाई बोलाएर निगमको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै इन्जिन इजरायलमा थन्क्याएर भाडाको इन्जिन प्रयोग गर्ने प्रवृत्तिमाथि कडा आपत्ति प्रकट गर्नुभयो।

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “उता आफ्नो इन्जिन त्यसै थन्किएको छ, यता भाडा बढ्दैछ। यस्तो पनि हुन्छ? जनताको पैसा लगानी भएको संस्थालाई यसरी ग्राउन्डेड अवस्थामा राख्न मिल्दैन।”

उहाँले सञ्चालक समिति र व्यवस्थापन दुवै पक्षलाई जिम्मेवारीपूर्वक छिटो नतिजा दिन निर्देशन दिँदै भन्नुभयो, “सञ्चालक समितिले निर्णय गरेर होस् वा व्यवस्थापनले, जसरी पनि परिणाम देखिनुपर्छ। कुनै प्रक्रियागत बहानामा ढिलाइ नगर्नुहोस्।”

प्रधानमन्त्री कार्कीले देश, जनता र संस्थाको हितमा निर्णय गर्दा नडराउन सुझाव पनि दिनुभयो। उहाँले भनिन्, “मुद्दा लाग्ला कि भनेर असल काम गर्न डराउनु हुँदैन, गलत काम गर्दा मात्र डराउनुहोस्।”

बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, मुख्यसचिव एकनारायण अर्याल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, निगमका अध्यक्ष विक्रम राई, निमित्त महाप्रबन्धक जनकराज कालाखेतीलगायतका अधिकारीहरूको उपस्थिति थियो।