• २७ कात्तिक २०८२, बिहिबार

मतदाता नामावली र राष्ट्रिय परिचय प्रणाली जोडिँदै

blog

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारी

काठमाडौँ, कात्तिक २७ गते । निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रणाली (Pre-registration System) र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली (NID-MIS) बीचको अन्तरआवद्धता (Integration) गर्ने सेवा सुरु गरेको छ।

उक्त सेवाको शुभारम्भ आज आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले एक विशेष कार्यक्रमबीच उद्घाटन गर्नुभयो। 

कार्यक्रममा निर्वाचन आयुक्तद्वय डा.जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा, सचिव महादेव पन्थ तथा अन्य अधिकारीहरूको उपस्थिति थियो।

नवीन प्रणाली सुरु भएपछि अब मतदाता नामावलीमा नाम दर्ता गर्न इच्छुक सेवाग्राहीले आयोगको वेबसाइट applyvr.election.gov.np मा गएर राष्ट्रिय परिचय पत्र नम्बर भएका व्यक्तिले आफ्नो नम्बर र जन्ममिति प्रविष्टि गरी राष्ट्रिय परिचय पत्र प्रणालीमार्फत व्यक्तिगत तथा जैविक विवरण स्वतः प्राप्त गर्न सक्नेछन्।

आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार यस व्यवस्थाले राष्ट्रिय परिचय पत्र नम्बर भएका सेवाग्राहीलाई फोटो र औंठाछाप दिन निर्वाचन कार्यालय पुग्नुपर्ने झन्झट हटाएको छ। उनीहरूले घरमै बसेर अनलाइनमार्फत सेवा प्राप्त गर्न सक्ने सुविधा पाउनेछन्। राष्ट्रिय परिचय पत्र नम्बर नभएकाहरूले भने अनलाइन आवेदन भरेर तोकिएको मितिमा निर्वाचन कार्यालय पुगेर फोटो र औंठाछाप दिई सेवा लिन सक्ने व्यवस्था यथावत् रहनेछ।

निर्वाचन आयोगका अनुसार, यो प्रणाली कार्यान्वयन भएपछि कार्तिक ३० गतेसम्म मतदाता नामावली दर्ताको अवधीभित्र सेवाग्राहीहरूलाई सहज पहुँच हुनेछ र कार्यालयमा हुने भीड घट्ने अपेक्षा गरिएको छ।

आयोगले पहिले नै मतदाता नामावलीमा नाम दर्ता गरिसकेका व्यक्तिहरूले पुनः आवेदन नगर्न आग्रह गरेको छ। दोहोरो आवेदनका कारण दोहोरो नाम दर्ता हुने र असहज अवस्था सिर्जना हुन सक्ने आयोगले जनाएको छ।