• २७ कात्तिक २०८२, बिहिबार

जीवन्त लोकतन्त्रका चुनौती

blog

  • जनप्रतिनिधिबाट शासन चलाउनु नै प्रजातन्त्र हो ।
  • प्रजातन्त्र केवल शासन पद्धति मात्र होइन, जीवन पद्धति हो ।  
  • अहङ्कार, दम्भलाई नेपालको जनमतले तिरस्कार गर्छ भन्ने भदौ २३ गतेको जेन जेडको प्रदर्शनले पनि पुष्टि गरेको छ ।

नेपालीमा प्रजातन्त्र, जनतन्त्र, लोकशाही आदि विभिन्न नामले सम्बोधन गरिने लोकतन्त्रको अङ्ग्रेजीमा मात्र एउटा शब्द डेमोक्रेसी छ । डेमोक्रेसी लेटिनी शब्द डेमोक्रेसियाबाट उत्पत्ति भएको इन्साइक्लोपेडिया ब्रिटानिकामा उल्लेख छ । जसलाई ‘डेमो’ भनेको जनता र ‘क्रातोस’ भनेको शासन भनी अथ्र्याइएको छ । अर्थात् आफूमाथि आफै शासन गर्नु नै डेमोक्रेसी हो । प्राचीन सहर र सभ्यताको धनी एथेन्समा जनताको प्रत्यक्ष शासन थियो । हरेक विषयको निर्णय जनताको प्रत्यक्ष सहभागिता र सम्मतिबाट गरिन्थ्यो । त्यस समयमा एथेन्स सानो सहर थियो । जनसङ्ख्या धेरै थिएन । प्रत्यक्ष प्रजातन्त्र सम्भव भयो । अहिले अधिकांश देशको जनसङ्ख्या धेरै भएको कारण प्रत्यक्ष प्रजातन्त्र अर्थात् प्रत्येक विषयमा वा विधि निर्माणमा जनताको प्रत्यक्ष मतदान सम्भव हुँदैन । जनताले छानेका प्रतिनिधिबाट विधि निर्माण गर्नु र जनताको अभिमत अनुसार शासन सञ्चालन गर्नुलाई नै प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र भनिन्छ । अहिले पनि स्विट्जरल्यान्डमा स्थानीय तहमा केही हदसम्म प्रत्यक्ष प्रजातन्त्रको अभ्यास गरिन्छ । 

जनप्रतिनिधिबाट शासन चलाउनु नै प्रजातन्त्र हो । प्रश्न उठ्छ, के जनप्रतिनिधिको निर्वाचन गर्नु र तिनीहरूबाट पाँच वर्षसम्म शासित हुनु मात्र प्रजातन्त्र हो ? चार या पाँच वर्षमा निर्वाचन हुनुलाई मात्र प्रजातन्त्र मान्न सकिन्छ ? अहिले विश्वका प्रजातन्त्रमा देखिएको समस्यामा यो विचार पनि एउटा हो । प्रजातान्त्रिक संस्कार नभएका वा सत्तामा पुगेपछि प्रजातान्त्रिक चरित्रबाट स्खलित आचार भ्रष्ट शासकले आफ्नो सर्वाधिकारवादी शासनलाई प्रजातन्त्रको जलप लगाउन आवधिक निर्वाचनलाई देखाउने गरेका छन् । आवधिक निर्वाचन लोकतन्त्रको अनिवार्य र महत्वपूर्ण अवयव अवस्य हो तर यो मात्र हुनु लोकतन्त्र होइन । लोकतन्त्र हुनका लागि आवधिक निर्वाचनको साथै सरकारलाई जनताप्रति हरहमेसा उत्तरदायी बनाउने र सरकारका निर्णय लोकसम्मति अनुसार तथा जनहितमा हुनुपर्ने महत्वपूर्ण तथा अनिवार्य पक्ष हो । 

यो प्रजातान्त्रिक सभ्यताको युग हो । प्रजातन्त्र केवल शासन पद्धति मात्र होइन, जीवन पद्धति हो । जबसम्म प्रजातन्त्र सम्बन्धित देशका जनताको जीवन पद्धति बन्दैन, त्यहाँ प्रजातन्त्रले राम्रोसँग काम गर्न र उत्तम परिणाम दिन सक्दैन । अहिले आफूलाई प्रजातान्त्रिक नभन्ने मुलुकमा केही सैनिक शासक र केही धर्मान्ध मुस्लिम देश मात्र छन् । वास्तविक प्रजातन्त्र होस् कि नहोस् अधिकांशले आफ्नो शासन व्यवस्थालाई प्रजातन्त्र नै भन्छन् । जनवाद वा साम्यवादको नाममा वंश शासन चलाइरहेको क्रूर तानाशाह किम उलको उत्तर कोरियासम्मले आफूलाई प्रजातान्त्रिक भन्दछ । अहिलेको प्रजातन्त्र शब्द २० औँ सताब्दीको छैटौँ  दशकको समाजवाद जस्तै जसले लगाए पनि हुने टोपी ( टोप) बनेको छ । सबैको टाउकोमा झुन्डिने । कालो, सेतो, ढाकाको जस्तो पनि हुन सक्ने । को कसलाई सुहाउँछ कसलाई सुहाउँदैन त्यो अलग कुरा छ । 

विश्वको उदार प्रजातन्त्र अहिले दक्षिणपन्थी अनुदारवादको आक्रमणमा छ । उदार प्रजातन्त्रको जननी मानिने युरोपका धेरै प्रजातन्त्रमा दक्षिणपन्थी सङ्कीर्ण अनुदारवादबाट त्यहाँका जनता प्रभावित बनेका छन् । युरोप र एसियाको बिचमा पर्ने टर्कीमा एर्दोगानले त्यहाँका सम्पूर्ण संवैधानिक अङ्गलाई कब्जा गरी शासन चलाएका छन् । लोकप्रिय प्रतिद्वन्द्वी उम्मेदवारलाई निर्वाचनमा भाग लिनसमेत वञ्चित गर्दै छन् । हङ्गेरीमा भिक्टर ओर्वानले सन् २०१० देखि एकछत्र शासन चलाएका छन् । त्यहाँको निर्वाचनलाई मानवाधिकारवादीले निष्पक्ष नभएको मान्छन् । इटालीमा दक्षिण पन्थी पार्टी ब्रदर्श अफ इटालीकी जर्जिया मेलोनीले सरकारको नेतृत्व गरेकी छन् । स्लोभाकिया जो युरोपको समृद्ध देश मानिन्छ, त्यहाँ पनि अहिले अनुदारवादी रोवर्ट फिकोले शासनको नेतृत्व समालेका छन् । अत्यधिक उदारवादी जनमत रहेका फिनल्यान्ड, डेन्मार्क, स्विडेनमा पनि अनुदारवादीको प्रभाव विस्तार भइरहेको छ । न्युजिल्यान्ड र अस्ट्रेलियालाई एसिया नमान्ने हो भने जापान दक्षिण कोरियाबाहेक एसियाका अन्य देशमा उदार प्रजातन्त्र छैन । प्रजातन्त्रका अन्य अवयव कमजोर रहेका भए पनि नेपालको सञ्चार जगत् भने जागरुक छ । यसैले सर्वाधिकारवादको विरोध गर्नेमा नेपाल दक्षिण एसियामा अग्र पङ्क्तिमा पर्छ । नेपालको जनमतले सर्वाधिकारवादलाई सधैँ अस्वीकार गरेको छ । अहङ्कार, दम्भलाई नेपालको जनमतले तिरस्कार गर्छ भन्ने भदौ २३ गतेको जेन जेडको प्रदर्शनले पनि पुष्टि गरेको छ । दुई तिहाइको दम्भमा रहेको एमाले नेतृत्वको गठबन्धन सरकारको अहङ्कार तोड्न २४ घण्टा पनि लागेन । गल्र्याम गुर्लुम हुँदै ढल्यो । 

उत्तर अमेरिकी राज्य संयुक्त राज्य अमेरिका सन् २०१६ देखि उग्र अनुदारवादीको प्रभावमा छ । सन् २०२० मा उदारवादी वाइडेनले जितेका भए पनि २०२४ मा पुनः पुरुष अहङ्कारवादी डोनाल्ड ट्रम्प राष्ट्रपतिमा विजयी बनी न्यायपालिका तथा सञ्चार जगत्लाई त्रसित पार्दै शासन चलाइरहेका छन् । दक्षिण अमेरिकाको अर्जेन्टिनामा पनि दक्षिण पन्थी अनुदारवादी जेभियर मिलेई राष्ट्रपति बनेका छन् । यी अनुदारवादी शासक यति असभ्य छन् कि यिनीहरू आफ्ना राजनीतिक विरोधीलाई, गधा, किरा, बहुलाहा आदि शब्दले गाली गर्छन् । किन उदार प्रजातन्त्रले जनतालाई सन्तुष्टि दिन सकेन भन्ने देखाउन मात्र अँध्यारा पक्ष मात्रै उल्लेख गरिएको हो । यो कुरा स्वीकार गर्नै पर्छ कि उदार प्रजातन्त्र अन्तर्गतका जनता पपुलिस्ट र उग्र दक्षिणपन्थतर्फ आकर्षित हुनुमा ती जनता असुरक्षित महसुस गर्नु र सन्तुष्ट नहुनु हो । यो भन्दा पनि पश्चिमा प्रजातन्त्रमा आकर्षणको कमी मुख्य कुरा हो । यो कमजोरीको उपचार प्रजातन्त्रले खोज्नै पर्छ । अन्यथा जनता पुनः सैनिक तानाशाही वा सर्वाधिकारवादी अनुदारवादीको प्रभावमा जान सक्छन् । त्यसबाट मुक्त हुन भविष्यमा ठुलो मूल्य चुकाउनुपर्ने हुन सक्छ, जसरी अहिले टर्की, हङ्गेरी, भेनेजुयलाका लोकतन्त्र चाहने, स्वतन्त्रता चाहने जनताले चुकाइरहेका छन् ।

युरोपियन युनियनभित्रका २७ देशमध्ये हङ्गेरीलाई छाडेर अरू सबै देशमा जीवन्त प्रजातन्त्र (भाइव्रेन्ट डेमोक्रेसी) का अधिकांश गुण रहेका छन् । स्वतन्त्र न्यायपालिका, स्वतन्त्र सञ्चार, कानुनको शासन, जागरुक नागरिक समाज, निष्पक्ष निर्वाचन आयोग, सचेत तथा सक्रिय मतदाता, भ्रष्टाचारमा शून्य सहनशीलता मजबुत नागरिक सुरक्षालगायत जीवन्त प्रजातन्त्रमा हुनुपर्ने गुण छन् । हङ्गेरीमा यी गुणमध्ये आधा पनि नरहेका कारण युरोपियन पार्लियामेन्ट तथा काउन्सिलले हङ्गेरीले पाउनुपर्ने अनुदान रोकिदिएको छ । यी सब हुँदाहुँदै पनि अस्ट्रिया, फ्रान्स, जर्मनी, इटाली, स्लोभाकिया, स्वेडन, फिनल्यान्डलगायतका देशमा दक्षिणपन्थी अनुदारवादीले जनमत बढाइरहेका छन् । 

पश्चिमी मुलुकले प्राप्त गर्नुपर्ने भौतिक समृद्धि प्राप्त गरी सकेका छन् । भौतिक समृद्धिको प्रचुरता र जीवन यापनको सहजताले गर्दा तिनीहरू अब के लक्ष लिने भन्ने अलमलमा वा लक्ष्यविहीन छन् । अहिले उनीहरूको एक मात्र चिन्ता रुसको सुरक्षा चुनौतीबाट कसरी जोगिने भन्ने मात्र छ । यो मात्रले मानिसको अन्तर आत्मालाई डो¥याउन सक्दैन । मानिसलाई गतिशील बनाउन उसको अन्तरआत्मादेखि नै प्रेरणा उत्पन्न गर्न कुनै लक्ष वा सिद्धान्त चाहिन्छ । आदर्श वा सिद्धान्तले मानिसमा गतिशील हुने प्रेरणा उत्पन्न गर्छ । पूर्वी युरोप कम्युनिस्ट रुसको प्रभावमा रहँदा पश्चिमी युरोपका मानिस प्रजातान्त्रिक समाजवादको आदर्शबाट प्रेरित थिए । सन् १९८९ मा बर्लिन पर्खाल ढली समग्र पूर्वी युरोप प्रजातन्त्रमा आबद्ध भएपछि त्यहाँका नेता, जनतामा आदर्श वा सिद्धान्तको प्रतिद्वन्द्विता समाप्त भयो । उनीहरू केवल आर्थिक विकासमा केन्द्रित हुन पुगे । आर्थिक विकास कहिल्यै परिपूर्ण हुँदैन । मानिसका नयाँ नयाँ आवश्यकता सिर्जना हुन्छन् । समाजमा सबै समृद्ध हुन सक्दैनन् । त्यसैले आर्थिक विकासले मात्र मानिसलाई सन्तुष्टि दिन सक्दैन । 

अहिले आध्यात्मिकता वा आदर्शको अभावमा युरोपका मानिस स्ट्याग्न्यान्ट (गतिहीनता) को अवस्थामा छन् । यसै कारण उनीहरू दक्षिणपन्थी पपुलिस्टहरूको आप्रवासी समस्या देखाई भयभीत पार्ने प्रचार शैलीबाट आतङ्कित भएका छन् । उनीहरूमा आप्रवासीबाट असुरक्षित भइन्छ भन्ने हौवाको सिर्जना गरिएको छ । मानवताको उपेक्षा गरिएको छ । यो सत्य हो कि सानो सानो भूगोल रहेका तथा सानो आकारकै अर्थतन्त्र रहेका युरोपियन अन्तर्गत रहेका देशका उदारवादी पनि आप्रवासी समस्यालाई कसरी समाधान गर्ने भन्ने दुविधामा रहेका छन् । एकातर्फ मानवता, वन्धुत्व र लोकतान्त्रिक पद्धतिको सम्मान गर्नु छ । अर्कोतर्फ जनसङ्ख्या सेचुरेसनमा पुगेको छ । युरोपका रूपान्तरण पक्षधर लोकतन्त्रवादी अहिले राष्ट्रको यस्तो विरोधाभाषी स्थितिबाट कसरी पार पाउने भन्ने चेपुवामा परेका छन् । आफ्नै नागरिकको सुरक्षा चासोलाई सर्वमान्य मानवाधिकारमा बन्देज नलगाई सम्बोधन गर्नु युरोपका उदारवादी लोकतन्त्रवादीको अहिलेको समस्या हो । 

पश्चिमी युरोप सन् २०१६ सम्म नाटोमा कम योगदान गरी अमेरिकी रक्षा कवच अन्तर्गत रहेको थियो । अमेरिकाले पनि रुसी प्रभुत्वलाई नियन्त्रण गर्न र आफ्नो विश्वव्यापी प्रभुत्व कायम राख्न एटलान्टिक पारिका मित्रशक्तिलाई नाटो अन्तर्गत सुरक्षा प्रदान गरेको थियो । यसबाट पश्चिमी युरोपका देशलाई सुरक्षा खर्च कम गरी आफ्नो देशको आर्थिक उत्पादन बढाउन पूर्वाधारका कार्यक्रम तथा औद्योगिक लगानी बढाउन सहज भएको थियो । पश्चिमी युरोप सम्पन्न हुनुमा यो पनि एउटा कारण रहेको हो । सन् २०१६ पछि स्थिति परिवर्तन भएको छ । डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि युरोपलाई आफ्नो सुरक्षा अवधारणा नै बदल्नुपर्ने अवस्था सिर्जना भएको छ । अब नाटोमा आबद्ध युरोपका देशले आफ्नो राष्ट्रिय बजेटको ३ देखि ५ प्रतिशतसम्म सन् २०३० सम्ममा रक्षा खर्च पु¥याउनुपर्ने छ । जसले गर्दा जनकल्याणका कार्यक्रममा दबाब पर्ने निश्चित छ । यो पनि युरोपका प्रजातन्त्रका लागि चुनौती बन्न सक्छ । प्रजातन्त्रमा समयको अन्तरालमा चुनौती देखा पर्ने गर्छन् । यी चुनौती सामना गर्नु र चुनौतीका विचबाट अवसर सिर्जना गर्न सक्नु नै जीवन्त प्रजातन्त्रको विशेषता हो । ।

हालै परिवर्तनका केही लक्षण देखिन थालेका छन् । अमेरिका जस्तो रूढिवादी तथा मुस्लिम विरोधी जनमत रहेको देशको अन्तर्राष्ट्रिय राजधानी बनेको न्युयोर्क सहरको मेयरमा मुस्लिम व्यक्ति जोहोरान ममदानी अत्यधिक बहुमत साथ विजयी बने । नेदरल्यान्डमा उग्रदक्षिणपन्थी पार्टी पिभिभीका ग्रिट विल्डर्स नेतृत्वको गठबन्धन पराजित भई सामाजिक उदारवादी पार्टी डी ६६ का रोब जिटेन नेतृत्वको गठन्धनले बहुमत ल्यायो । सन् २०२४ मा बेलायतमा उदारवादी लेवर पार्टीले विजय प्राप्त गर्‍यो । ब्राजिलमा बोल्सेनारो पराजित भई वाम पन्थी लुला डी सिल्भा विजयी बने । डोनाल्ड ट्रम्पको हेपाहा प्रवृत्तिको विरुद्धमा क्यानाडाली जनताले मार्क कार्नीको लिवरल पार्टीलाई नै पुनः सत्ता सुम्पे । यी परिणामले के देखाउँछ भने प्रियतावादी दक्षिणपन्थी नकारात्मकता फैलाएर तथा विरोधीलाई आरोपित गरेर सत्तामा पुग्न सफल हुन सक्छन् तर तिनीहरू राष्ट्रका समस्या समाधान गर्न असक्षम छन् । हाम्रै देशको अनुभवले पनि यो कुरासिद्ध गरिसकेको छ । यी प्रियतावादी, उग्र दक्षिणपन्थी र यस्तै खालका लोकतन्त्रका धमिराबाट लोकतन्त्रको रक्षा गर्दै अझ उन्नत लोकतन्त्र कायम गर्न लोकतन्त्रवादी सधैँ सजग रहनु पर्छ ।