• ३ चैत २०८२, मङ्गलबार

कछुवा दह विकासका लागि ढेढ करोड लगानी

blog

कछुवा दह क्षेत्रमा वराह मन्दिर सिलान्यास गर्दै कालिमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसी । तस्बिरः शङ्कर केसी

शङ्कर केसी

सल्यान, चैत ३ गते । धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण सल्यानमा रहेका धेरै सम्भावनायुक्त पर्यटकीय स्थलहरू अझैसम्म अपेक्षित रूपमा विकास र प्रचारप्रसार हुन सकेका छैनन् । तर पछिल्लो समय स्थानीय तहहरूले आफ्ना क्षेत्रका प्राकृतिक तथा धार्मिक सम्पदालाई संरक्षण गर्दै पर्यटन विकासतर्फ पहल सुरु गरेका छन् । 

यसै क्रममा सल्यानको कालिमाटी गाउँपालिकाले पालिकाभित्र रहेको महत्त्वपूर्ण पर्यटकीय स्थल कछुवा दहको संरक्षण तथा विकासलाई प्राथमिकतामा राख्दै पर्यटकीय पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ ।

कालिमाटी गाउँपालिका–३, रामपुरमा अवस्थित कछुवा दह प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थल हो । तल बग्ने शारदा नदी, वरिपरि हरियाली पहाड र पहाडको काखमा रहेको दहको दृश्यले यहाँ पुग्ने जो कोहीलाई आकर्षित गर्छ । कछुवा दह क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न गाउँपालिकाले सङ्घीय सरकारसँगको साझेदारीमा डेढ करोड रुपियाँभन्दा बढी लागतमा विभिन्न संरचना निर्माण कार्य सुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर केसीका अनुसार चालु आर्थिक वर्ष २०८२-०८३ मा करिब एक करोड ५४ लाख रुपियाँको बजेटबाट कछुवा दह क्षेत्रको समग्र विकास योजना कार्यान्वयनमा ल्याइएको हो । “कछुवा दहलाई महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले दह वरिपरि पर्खाल निर्माण, मन्दिर, पार्क तथा अन्य संरचना निर्माणको काम अघि बढाइएको छ,” अध्यक्ष केसीले भन्नुभयो । सोही योजना अन्तर्गत सोमबार कछुवा दह क्षेत्रमा वराह मन्दिर निर्माण कार्यको औपचारिक शुभारम्भ गरिएको छ । गाउँपालिका अध्यक्ष केसीले मन्दिर निर्माणको सिलान्यास गर्दै धार्मिक पर्यटनलाई प्रवर्धन गर्न यसले महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका अनुसार दह क्षेत्रलाई आकर्षक बनाउने उद्देश्यले मन्दिरसँगै विभिन्न संरचनाहरू निर्माण कार्य तीब्र रूपमा अघि बढेका छन् । दहको अगाडि ठुलो कछुवाको आकृति (मुर्ति) तथा नागको आकृति निर्माण गरिने योजना छ । साथै पर्यटकलाई आकर्षित गर्ने किसिमको पार्क निर्माण, बालबालिकाहरूका लागि खेल्ने संरचना, विश्राम स्थल तथा अन्य सौन्दर्यीकरणका काम पनि हुने छन् । 

कछुवा दह सल्यानको कुपिण्डे दह पछि दोस्रो ठुलो दह मानिन्छ । यसलाई प्राकृतिक तथा धार्मिक महत्त्व बोकेको स्थलको रूपमा समेत चिनिन्छ । स्थानीय जनविश्वास अनुसार यस क्षेत्रमा वराह देवताको पूजा अर्चना हुँदै आएको छ । जसका कारण यस दहको धार्मिक महत्त्व झनै बढेको छ ।

स्थानीय अग्रजहरूका अनुसार यस दहमा पहिले कछुवा पाइने भएकाले यसको नाम कछुवा दह रहन गएको हो । तर पछिल्लो समय चोरी सिकारी, वातावरणीय परिवर्तन तथा मानवीय गतिविधिका कारण यहाँ कछुवा देखिन छाडेको बताइन्छ । कछुवा दह क्षेत्र नजिकै रहेको गङ्गामाला भगवती मन्दिर लगायत अन्य धार्मिक स्थलहरूले पनि यस क्षेत्रलाई धार्मिक सांस्कृतिक केन्द्रको रूपमा चिनाउने गरेका छन् । विशेष गरी धान्य पूर्णिमाको अवसरमा लाग्ने मेला, पूजा अर्चना तथा धार्मिक गतिविधिका कारण विभिन्न जिल्लाबाट श्रद्धालु तथा पर्यटक यहाँ आउने गरेका छन् । 

यसअघि पनि दह संरक्षण, सरसफाइ तथा प्रचारप्रसारका लागि विभिन्न कार्यक्रम सञ्चालन भएको गाउँपालिकाले जनाएको छ । हाल निर्माण भइरहेका संरचनाहरू ठेक्का प्रक्रियामार्फत अघि बढाइएको हो । चालु आर्थिक वर्षभित्रै योजना सम्पन्न गर्नेगरी काम भइरहेको गाउँपालिकाका सूचना अधिकारी विष्णु भण्डारीले बताउनुभयो । उहाँका अनुसार कछुवा दह क्षेत्रमा भइरहेको विकासले स्थानीय पर्यटन प्रवर्धन हुनुका साथै रोजगारी सिर्जना हुने र आन्तरिक तथा धार्मिक पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।

यहाँका पर्यटकीय क्षेत्रको विकासले दीर्घकालीन रूपमा सल्यान जिल्लालाई नै कर्णाली प्रदेशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न टेवा पुग्ने विश्वास गरिएको छ ।