• ३ चैत २०८२, मङ्गलबार

फागुनमा १३८ प्रतिवादी पक्राउ, ठूलो मात्रामा लालुऔषध बरामद

blog

सन्तोष सुवेदी

कास्की, चैत ३ गते । जिल्ला प्रहरी कार्यालय कास्कीले फागुन महिनामा १३८ जना प्रतिवादी पक्राउ गर्न सफल भएको छ ।

प्रहरीको मासिक प्रतिवदेन अनुसार फैसला कार्यान्वयन अन्तर्गत फरार रहेका २६ जना प्रतिवादी पक्राउ परेका छन् । उनीहरूबाट १२ वर्ष ११ महिना २८ दिन कैद सजाय कार्यान्वयन हुनुका साथै एक करोड २५ लाख ११ हजार ५५० रुपैयाँ बिगो रकम असुल गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महिनाभर १८३ वटा अपराधका मुद्दा दर्ता भएका छन् ।महिला, बालबालिका र ज्येष्ठ नागरिकसँग सम्बन्धित सामाजिक हिंसाका ६७ वटा उजुरी दर्ता भएका छन् भने ११ वटा घरेलु हिंसाका घटना प्रहरी समक्ष पुगेका छन् ।

 लागुऔषध नियन्त्रणतर्फ प्रहरीले ठूलो परिमाणमा बरामद गरेको छ ।फागुन महिनामा ब्रुफिन ७४८, डाईजापाम ७२६ र फेनारगन ७४७ एम्पुल, साथै ब्राउन सुगर ७.३१ ग्राम, ट्यापेण्डाडोल २५६ ट्याब्लेट र गाँजा २९८ ग्राम बरामद गरिएको छ ।

यसमा संलग्न १४ जना पक्राउ परेका छन् । यस्तै, फागुन महिनामा ६७ जना हराएको निवेदन परेकोमा ४६ जना फेला पारिएको प्रहरीले जनाएको छ ।सवारी दुर्घटनातर्फ फागुनमा १७ वटा दुर्घटना भएका छन् ।

ती घटनामा छ जनाको मृत्यु र २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभएको छ ।

सवारी चेकजाँचका क्रममा प्रहरीले चार हजार तीन वटा कारवाही गर्दै ३४ लाख ५० हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।विपद् व्यवस्थापनतर्फ नौ वटा आगलागी र एक वटा नदी कटानका घटनामा प्रहरी परिचालन गरिएको थियो ।

 आगलागीबाट करिब २४ लाख ८५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।प्रहरीले अपराध न्यूनीकरणका लागि जनचेतना कार्यक्रम पनि सञ्चालन गरेको छ । 

फागुन महिनामा ४० वटा सामुदायिक कार्यक्रममार्फत ९६६ जना र तीन वटा विद्यालय कार्यक्रममार्फत २०२ जना विद्यार्थीलाई प्रशिक्षण दिइएको छ ।