- एक मतदाता, एक जेनजी पुस्ताको प्रतिनिधि र एक नागरिकको रूपमा लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सक्षम व्यक्ति ल्याउने गरी पहल गर्दै छौँ
- जनचेतना अभिवृद्धि गर्ने काम गरिरहेका छौँ । मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि जेनजी र युवा पुस्तालाई आग्रह गरिरहेका छौँ ।
- हामीले क्षमतावान्, लोकतन्त्रप्रति प्रतिबद्ध र काम गर्न सक्ने व्यक्तिलाई मत दिने हो ।
काठमाडौँ, कात्तिक २७ गते । नवपुस्ता (जेनजी) ले भदौ २३ र २४ गते गरेको विद्रोहको जगमा नयाँ सरकार गठनपछि देशमा निर्वाचनको तयारी भइरहेको छ । सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमार्फत समुन्नतिको खाका बनाउन जेनजी पुस्ता पनि निर्वाचनमा जुटेका छन् ।
जेनजी पुस्ताको माग प्रस्ट छ– देशमा सुशासन, रोजगारी र आर्थिक विकास । राजनीतिक दल वा स्वतन्त्र, क्षमतावान् व्यक्ति नेतृत्वमा आएर संविधान र लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरेर देशलाई नवीनतम मार्गमा अघि बढाउन उत्प्रेरित गर्ने उद्देश्यका साथ जेनजी पुस्ता जागरण अभियानमा जुटेका हुन् ।
जेनजी पुस्ताका अभियन्ताहरू प्रवेश दाहाल, बिनिता बोगटी, रक्षा बम र नाजरे आलमले संविधान र लोकतन्त्रभित्र रहेर सुशासन र समुन्नतिका साथै देशमा नयाँ जनादेश प्राप्तिका लागि यो पुस्ता अग्रसर भएको बताउनुभयो । अभियन्ता दाहालले लोकतान्त्रिक व्यवस्थालाई सुदृढीकरण गर्न निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचन नजिकिँदै जाँदा सरकारले जनविश्वास आर्जन गर्ने गरी नागरिकमा सुरक्षाको प्रत्याभूति गराउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल प्रहरीको आत्मबल र आत्मविश्वास बढाउनु पर्छ । सुरक्षाको वातावरणले मात्रै जनता विभाजित नहुने परिस्थिति बन्छ । राजनीति सुध्रिँदैन होइन, अब राजनीति सुधारेर देश बनाउने अभिभारा हामी लिन्छौँ भन्ने सोचेर निर्वाचन सफल बनाउन आआफ्नो ठाउँबाट अग्रसर हुनु पर्छ ।”
जेनजी अभियन्ता बोगटीले निर्वाचनलाई विश्वसनीय बनाउन सरकारलाई सकारात्मक ढङ्गले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले मताधिकार प्रयोग गर्ने, जेनजीदेखि पुरानो पुस्ताका नेतासम्म उम्मेदवार बन्ने स्थितिमा सौहार्दपूर्ण वातावरण बनाउनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनसँगै देशका पक्षमा युवामा जागरण सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राजनीतिक रूपमा रूपान्तरणको अठोट लिनु पर्छ, सबै युवाले नयाँ विचार र नयाँ सोच बोकेका उम्मेदवारलाई सहयोग गर्नु पर्छ । निर्वाचनमा उत्साहजनक रूपमा सहभागी भएर देशलाई निकास दिनु पर्छ । लोकतन्त्र सुदृढ बनाउनु पर्छ ।”
योग्य प्रतिनिधि छान्ने हो
जेनजी अभियन्ता नाजरे आलम र नेपाल जेनजी फ्रन्टका संयोजक रक्षा बमले लोकतन्त्रलाई सुदृढ गर्न निर्वाचन अपरिहार्य भएकाले सबैले साझा दृष्टिकोणका साथ अघि बढ्नुपर्ने बताउनुभयो । अभियन्ता आलमले प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गर्ने प्रतिबद्धता गर्नुभएकाले उहाँमाथि विश्वास र भरोसा गरेको र निर्धारित मितिमा निर्वाचन हुने बताउनुभयो । उहाँले भन्नुभयो, “जेनजी आन्दोलनका क्रममा अग्रसर भएका युवाले पनि समूह बनाएर निर्वाचनमा जुट्नतर्फ लागेका छन् । जेनजीका सबै समूहबिच सहकार्य हुने छ ।
मिलेर काम गर्ने अनि निर्वाचन सफल बनाउन काम गर्ने पक्षमा हामी छौँ ।” जेनजी अभियन्ता बमले जेनजी पुस्ता र युवा सहभागिता अभिवृद्धि गर्न पनि राजनीतिक क्षमता र सचेतना प्रदान गरेर युवा पुस्ताको शक्तिलाई प्रवर्धन गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समग्रमा एक मतदाता, एक जेनजी पुस्ताको प्रतिनिधि र एक नागरिकको रूपमा लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन सक्षम व्यक्ति ल्याउने गरी पहल गर्दै छौँ ।”
मताधिकार सदुपयोग
जेनजी अभियन्ता बिनिता बोगटीले फागुन २१ गतेको निर्वाचनमा युवा र जेनजी पुस्ताबाट पनि निर्वाचनमा मताधिकार सदुपयोग गर्ने गरी अभियान चलाइरहेको बताउनुभयो । उहाँका अनुसार मतदाता परिचयपत्र बनाउन जेनजी पुस्ताका अभियन्ता अग्रसर भएका छन् । उहाँले भन्नुभयो, “निर्वाचन आयोगको तथ्याङ्क अनुसार एक लाखभन्दा धेरैले मतदाता परिचयपत्र बनाउन नाम दर्ता गराएका छन् । जिल्ला तथा प्रदेशमा जेनजी पुस्ताका अभियन्ता लागेका छन् । घरदैलो कार्यक्रम पनि भइरहेको छ । युवा पुस्ताका उम्मेदवार बनाउन र जिताउन पहल पनि थालेका छौँ ।” अभियन्ता रक्षा बमले निर्वाचनप्रति जागरण पैदा गर्ने अभियान सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जनचेतना अभिवृद्धि गर्ने काम गरिरहेका छौँ । मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि जेनजी र युवा पुस्तालाई आग्रह गरिरहेका छौँ । जनचेतना अभियानमा सबै साथीहरू जुट्नुभएको छ ।”
सुशासनमार्फत लोकतन्त्र सुदृढीकरण
जेनजी अभियन्ता प्रवेश दाहाल र नाजरे आलमले सुशासनले मात्रै लोकतन्त्र सुदृढ हुने बताउँदै क्षमतावान् व्यक्तिले देशको शासन सत्ता सञ्चालन गर्नुपर्ने बताउनुभयो । अभियन्ता दाहालले भन्नुभयो, “संविधान अनुसार सांसद् पदको उम्मेदवार बन्नका लागि मेरो उमेर पुगेको छैन तर हाम्रो भूमिका क्षमतावान् व्यक्ति, देशको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक धरातल बुझेको, देशभक्तिको भावना भएको, पढेलेखेको, कमजोर वर्गदेखि माथिल्लो वर्गलाई समन्वय गरेर, मिलाएर अघि बढाउन सक्ने युवा नेतृत्वलाई स्थापित गराउने कार्यमा हुन्छ ।”
अभियन्ता आलमले मताधिकार प्रयोग गर्ने अधिकार १८ वर्ष पुगेका सबै नेपालीलाई रहेको बताउँदै रूपान्तरणका लागि मताधिकार प्रयोग गरी सुशासन स्थापित गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जरुरी छैन कि, कुनै दल विषयको होस्, हामीले पार्टी दर्ता गराएका छैनौँ । योग्य प्रतिनिधि छान्ने हो ।
जेनजी पुस्ता सबै मिलाएर नै राजनीतिक दल वा स्वतन्त्र उम्मेदवार भएका हुन् । हामीले क्षमतावान्, लोकतन्त्रप्रति प्रतिबद्ध र काम गर्न सक्ने व्यक्तिलाई मत दिने हो । युवालाई हाम्रो अपिल पनि मतदाता नामावलीमा सूचीकृत हुन भनिरहेका छौँ ।”