• १२ असार २०८१, बुधबार

नार्कले तयार पार्‍यो जलवायुसम्बन्धी डिजिटल नक्सा

blog

काठमाडौँ, असार १ गते । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले अत्याधुनिक प्रविधि प्रयोग गर्दै एकै क्लिकमा आफ्नो क्षेत्रको जलवायुबारे थाहा पाउन सक्ने गरी दक्षिण एसियाको जलवायु अनुकूलन डिजिटल नक्सा तयार पारेको छ । 

साउथ एसिया देशहरूको जुनसुकै ठाउँको जलवायुबारे एकै क्लिकमा थाहा पाउने गरी नक्सा तयार पारेको हो । यो नक्साबाट तत्काल (राइट टाइम) देखि ३० वर्षपछि जलवायुको अवस्था कस्तो हुने कुराको पनि जानकारी पाउन सकिने नार्क अन्तर्गतको नेपाल कृषि वतावरण अनुसन्धान केन्द्रका वैज्ञानिक एवं यो योजनाको राष्ट्रिय संयोजक रोशनबाबु ओझाले बताउनुभयो । 

यो नक्सा सार्वजनिक भएपछि किसानले अनलाइनमार्फत आफ्नो वडाको जलवायुको अवस्थाबारे जानकारी लिएर खेती गर्न सकिन्छ । किसानले मात्र होइन, जलवायुको क्षेत्रमा अध्ययन गर्ने अध्येताका लागि पनि सहयोगी हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वका कुनै व्यक्तिलाई साउथ एसियाको जलवायुका बारेमा जानकारी लिनु पर्‍यो भने एक क्लिकमै जानकारी लिन सकिन्छ । साउथ एसियामा यो खालको डिजिटल नक्सा पहिलो हो ।”

जलवायु परिवर्तनले कृषिमा चुनौती थपिएको छ । बालीनालीमा पनि असर पु¥याई उत्पादनमा समेत कमी ल्याएको छ, यो नक्सा आइसकेपछि जलवायुको अवस्था थाहा पाएर त्यसका आधारमा खेती वा बालीनाली लगाएमा जोखिम कम हुने र उत्पादनमा पनि वृद्धि हुने विश्वास लिएको उहाँले बताउनुभयो । 

यो नक्सामा नेपालको ७७ वटै जिल्लाका सबै वडाका डाटा राखिएका छन् । आफ्नो वडाको हालको जलवायुको अवस्था कस्तो छ, आउने महिना वा वर्ष यहाँसम्म कि ३० वर्षपछि कस्तो अवस्था रहने त्यसको जानकारी लिन सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यो नक्साले क्लाइमेट चेन्जको रिस्क म्यापिङ गरेका हुन्छन्, आफूले चाहेको ठाउँमा क्लिक गरेपछि जोखिमको उपाय पनि त्यहीँ दिएको हुन्छ ।” जोखिम र उपाय एउटै क्लिकबाट थाहा पाउने भएपछि यो किसानका लागि उपयोगी हुन्छ नै यसबाट वैज्ञानिक, अनुसन्धानकर्ता, विद्यार्थीका लागि पनि उपयोगी हुने विश्वास आफूहरूले लिएको उहाँले बताउनुभयो । 

बाली अनुसार जलवायुबाट जोखिम हुन सक्ने अवस्थाको विवरण पनि नक्सामा हुने भएकाले मौसम वा जलवायुको अवस्था अनुसार कस्तो बाली लगाउनेसम्मको जानकारी दिने नार्कले जनाएको छ । नेपालमा मात्र होइन साउथ एसियाका सबै देशको जलवायुका बारेमा यसै गरी एकै ठाउँबाट एकै क्लिकमा जानकारी लिन सकिने वैज्ञानिक ओझाले बताउनुभयो । जलवायु तथा कृषिमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था बिसा र सिमिटको सहयोगमा तयार भएको यो नक्सा आआफ्नो देशले सञ्चालन गर्ने बताइएको छ । 

अहिले सार्वजनिक गर्दा साउथ एसियाका लागि एउटा अनलाइन अर्थात् एडमिन हुन्छ पछि हरेक देशको छुट्टाछुट्टै बनाउने तयारी चलिरहेको वैज्ञानिक ओझाले बताउनुभयो । साउथ एसियाको प्रत्येक देशमा यसको गोष्ठी सम्पन्न भएर अन्तर्राष्ट्रिय गोष्ठी पनि सम्पन्न भइसकेको छ । केही काम अझै भइरहेका छन् जुनको अन्तिममा यसलाई सार्वजनिक गरिने उहाँले बताउनुभयो । 

नार्कले यस्तै माटोका लागि डिजिटल नक्सा पनि सञ्चालनमा ल्याइसकेको छ । यो नक्साको सार्वजनिक तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो । यो माटोको गुणस्तर मापनसम्बन्धी डिजिटल नक्साबाट किसानले आफ्नो खेतको माटोको गुणस्तर कस्तो रहेको छ, त्यसमा के के छन् ती सबै कुरा एउटै क्लिकमा थाहा पाउँछन् । त्यही अनुसार बाली लगाउने, मल तथा सिँचाइको प्रयोग गर्ने गरेको छ । माटोसम्बन्धी डिजिटल नक्साको सफलता पछि नार्कले जलवायु अनुकूलसम्बन्धी डिजिटल नक्सा सार्वजनिक गर्न लागेको हो ।