रामकृष्ण बोहरा
बागलुङ, मङ्सिर ३ गते । अव्यवस्थित रूपमा भइरहेको दोहनले दरम र ताराखोलाको अस्तित्व सङ्कटमा परेको छ । खोलामा जथाभाबी ढुङ्गागिटी र बालुवाको दोहन भइरहेको छ। ताराखोलामा केही जलविद्युत् आयोजना बनिसकेका छन् भने आधा दर्जन आयोजना निर्माणको चरणमा छन् । दरम र ताराखोलाको दोहन रोक्न नसके जलचरको अस्तित्व नै खतरामा पर्ने भन्दै तटीय क्षेत्रका बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।
दरमखोला र ताराखोला असला माछाको खानीको रूपमा परिचित छन् । स्थानीयले दरम र ताराखोलाको दोहन रोक्न माग गरेका छन् । विशेषगरी ताराखोलामा आधा दर्जन जलविद्युत् आयोजना बन्दै गरेको र केही बनिसकेकोले खोलामा पानीको सतह घट्दा जलचरको जीवन नै सङ्कट परेको उनीहरूले औल्याएका छन् ।
ताराखोला गाउँपालिका र गलकोट नगरपालिकाको ध्यानाकर्षण गरिरहेका युवाहरूले प्रेस विज्ञप्ति जारी गर्दै समयमा ध्यान नदिएमा पानीको स्राेत समाप्त हुने, पर्यावरणमा नकारात्मक असर पर्ने, जलचरको जीवन सङ्कटमा पर्ने तथा कृषि प्रणाली र मानव जीवनमा असर पर्ने चेतावनी दिएका छन् । जलश्रोतको धनी ताराखोलामा कृषिको संभावना बढी छ । अहिलेसम्म कृषि क्षेत्रबाटै ताराखोलाले आफ्नो पहिचान बनाइरहेको छ ।
कानुन अनुसार खोलामा जलविद्युत् उत्पादन गर्दा कुल पानीको १० प्रतिशत छाड्नुपर्ने व्यवस्था छ । ताराखोलामा अहिले ५ वटा जलविद्युत् थपिएका छन् । जलविद्युत् ऐनको दफा २७ ले जलस्राेत संरक्षण, सुरक्षा र गुणस्तर सुनिश्चित गर्ने प्रावधानलाई कसैले पनि वास्ता नगरेको अभियानकर्मी दिल निशानी मगरले बताउनुहुन्छ ।