सिराज खान
नेपालगन्ज, असोज १९ गते । नेपालगन्जमा सामाजिक सद्भाव कायम गर्न बाँकेस्थित विभिन्न नागरिक समाजका अगुवाहरुको तर्फबाट सामूहिक अपिल गरिएको छ । केही दिन यता नेपालगन्जमा बढिरहेको तनावले सामाजिक सद्भावमा खलल पुगेको उल्लेख गर्दै नागरिक समाजका अगुवाहरुको तर्फबाट सो अपिल गरिएको हो ।
नागरिक समाजका प्रतिनिधिमुलक विभिन्न संघसंस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुले संयुक्त विज्ञप्ति जारी गर्दै सामाजिक सदभाव एवम् धार्मिक सहिष्णुता खल्बलिन नदिन कानुन विपरीतका कार्य गर्ने जो कोहिलाई कानुनी कठघरामा ल्याउन, नागरिकहरुको जिउधनको सुरक्षा गर्न प्रहरी, प्रशासनसँग जोडदार माग गरिएको छ ।
विज्ञप्तिमा विभिन्न धर्मका धार्मिक गुरु, अगुवा, नागरीक समाजका अगुवा, जनप्रतिनिधि, प्रहरी, प्रशासन लगायतलाई सामाजिक सद्भाव कायम गर्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह पनि गरिएको छ ।
बाँकेका विभिन्न ठाउँहरुमा भएको झडपका क्रममा भएको सम्पत्ति तोडफोडको मूल्याङ्कन गरी तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न सोही विज्ञप्तिमार्फत माग गरिएको छ ।
झडपका क्रममा घाइते भएका व्यक्तिहरुको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन पनि माग गरिएको छ । अवस्था सहज हुँदै गए पनि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुन जाने स्थितिलाई मध्येनजर गर्दै उच्च सुरक्षा सतर्कता अपनाउन प्रहरी, प्रशासनसँग माग गरिएको छ ।
विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘‘साइबर अपराधसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनका साथै सामाजिक सञ्जालका माध्यमबाट भइरहेको अराजकतालाई नियन्त्रण, नियमन गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।’’
नागरिक समाजका तर्फबाट विज्ञप्ति जारी गर्नेहरुमा नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, वरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपालगन्ज उपमहानगरपालिकाका पूर्व उपप्रमुख उमा थापा मगर, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामी, गैर सरकारी संस्था महासङ्घ नेपालका केन्द्रीय सदस्य नमस्कार शाह, धर्मलाल रोकाय, उच्च अदालत बार एसोसिएसन, नेपालन्जका अध्यक्ष चित्रबहादुर शाही, अधिकारकर्मी रवीन्द्र कर्ण, गैर सरकारी संस्था महासङ्घ बाँकेका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सिना, थर्ड एलाइन्स, नेपालगन्जका प्रमुख आलम खान, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्का, फातिमा फाउण्डेसनका अध्यक्ष मैमुना सिद्धिकी, नेपाली उपभोक्ता संरक्षण महासङ्घ बाँकेका अध्यक्ष डा. विनोद कर्ण लगायत दुई दर्जनभन्दा बढी अगुवाहरु रहनुभएको छ ।