• २८ मङ्सिर २०८२, आइतबार

पाठेघर क्यान्सरको जोखिम : समस्या बल्झिएपछि उपचार खोज्दै आमाहरु

blog

सत्यवतिका आमाहरु पाठेघर र स्तन क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ गर्दै । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), मङ्सिर २८ गते ।
सत्यवति (४७) अपाङ्ग हुनुहुन्छ । उहाँलाई खुट्टाको समस्या मात्रै थिएन पाठेघर बाहिर खस्ने समस्याले समेत हैरान हुनुहुन्थ्यो । धेरै पटक रिङ्ग राखेर पनि नअडिने अवस्था भएपछि शल्यक्रियाका लागि जान सुझाव दिएको जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको सिनियर अनमी सरिता पुरीले बताउनुभयो । त्यस्तै गाडीमा बसेको बेला गन्ध आएपछि एक जना ६० वर्षीया आमालाई गाडीबाटै अस्पताल लगेर उपचार गर्नुपरेको बिडम्बना समेत पुरीले सुनाउनुभयो । उहाँले भन्नुभयो, “गहन्याउने पानी बगेर भित्रै कपडा राखेका ६० वर्षदेखिका पूरै पाठेघर बाहिर आएका ४०/४५ वर्षमा आमाहरु पनि समयमै उपचार गर्दैनन् ।”

आमाहरुले समस्या बल्झिएपछि मात्रै पाठेघरको उपचार खोज्दै स्वास्थ्य संस्था आउँदा क्यान्सरको जोखिम बढेको छ । योे समस्याबाट ३० देखि ६० वर्षसम्मका आमाहरु बढी पीडित छन् । सिनियर अनमी पुरीले लामो समयदेखि गाउँ–गाउँमा पाठेघरको मुखको क्यान्सर, स्तन तथा आङ्ग खस्ने आमाहरुको परीक्षण गर्दै आउनु भएको छ ।

पुरीको कार्यक्षेत्र सत्यवति गाउँपालिका भए पनि तालिम र सीपका कारण बाहिरका स्थानीय तहमा पनि सेवाका लागि पुग्ने गर्नुभएको छ । उहाँको काम र अनुभवमा अधिकांश आमाहरु सुत्केरी अवस्थामा पनि काम गरेका कारण, सरसफाइमा ध्यान नदिँदा, बेलैमा उपचार नगरेका कारण पाठेघरको समस्याबाट पीडित हुने गरेका छन् । कैयन केहि छैन भनेर बसेका सचेत महिलाको जाँच गर्दा पाठेघरको समस्या पहिचान भएका उदाहरण रहेकाले उपचारको चेतना र पहुँच नभएका महिलाहरु घरमै रोगले तड्पिएको पुरीले बताउनुभयो ।

गुल्मीको सत्यवति गाउँपालिकाको बर्सेनी पाठेघर र स्तन क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ (भि.आइ.ए) शिविर गर्ने गरेको छ । भर्खरै सत्यवति गाउँपालिकाका जोहाङ्ग, जुनियाँ र लिम्घा स्वास्थ्यचौकीमा गरिएको शिविरमा १९३ जना महिलाहरुले सेवा लिएका थिए । जसमा ४१ जना महिलाहरुलाई पाठेघर खस्ने समस्याको उपचार गरिएको र सात जनालाई थप उपचारको लागि विशेषज्ञकोमा रेफर गरिएको गाउँपालिकाले जनाएको छ । शिविरमा आएका महिलाहरु मध्ये अधिकांशमा पाठेघरकै समस्या देखिएकाले रिङ्गप्रेसरी राख्ने र औषधी प्रदान गरिएको थियो ।

सत्यवति गाउँपालिका उपप्रमुख निरमाया तरामुले स्वास्थ्य महत्त्वपूर्ण भएकाले रोग पालेर बस्न नहुने बताउनुभयो । उहाँले हरेक वर्ष ३० देखि ५० वर्ष उमेरका आमा तथा दिदिबहिनीहरुलाई लक्षित गरेर पाठेघर र स्तनको क्यान्सरको परीक्षण गरिरहेकाले स्वास्थ्य समस्या देखा पर्नुभन्दा पहिलेनै चेकजाँजमा लाग्न आग्रह गर्नुभयो । कामको लहबरी, लाज र सचेतनाको कारण पाठेघरको समस्यासँग कैयन आमाहरु जुधिरहनु परेकाले बैलैमा जोगिन आग्रह गर्नुभयो । गाउँपालिकाले निःशुल्क आँखाको मोतियाबिन्दुको शिविर, स्वास्थ्य बिमा तथा आर्युवेद औषधालय स्थापना र सञ्चालनका काम पनि गाउँपालिकाले गरिरहेको छ ।

सत्यवति गाउँपालिकाका १४ स्वास्थ्यसंस्था रहेका छन् । एउटा प्राथमिक स्वास्थ्य केन्द्र, सात स्वास्थ्यचौकी, एउटा आधारभूत स्वास्थ्य केन्द्र र पाँच वटा सामुदायिक स्वास्थ्य केन्द्र रहेका छन् । भण्डारीका अनुसार भार्से स्वास्थ्यचौकी, जुनियाँ स्वास्थ्यचौकी, जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, लिम्घा स्वास्थ्यचौकी, ठूलोलुम्पेक स्वास्थ्यचौकी र अस्लेवा स्वास्थ्यचौकीमा बर्थिङ्ग सेन्टर रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक हिमलाल भण्डारीले बताउनुभयो ।

मापदण्ड अनुसार तीन सामुदायिक स्वास्थ्य केन्द्र बाहेक सवै स्वास्थ्य संस्थाका आफ्नै भवन रहेका छन् । आउने पुस महिनाभित्र पूर्ण संस्थागत प्रसूती सेवायुक्त गाउँपालिका घोषणा गर्ने योजनाका साथ वडास्तरमा काम भइरहेको स्वास्थ्य संयोजक भण्डारीले बताउनुभयो ।