सिराज खान
नेपालगन्ज, मङ्सिर २७ गते । बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०८१/८२ मा उपचारका लागि आएका बिरामीमध्ये १७४ जना नयाँ कुष्ठरोगी भएको पुष्टि भएपछि उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गरिएको अस्पतालका प्रमुख मंगल बहादुर थारुले बताउनुभयो ।
उहाँले भेटिएका नयाँ कुष्ठरोगीमध्ये बाँकेका ७१ जना, बर्दियाका ४२, भारतका ३०, सुर्खेतका ५, दैलेखका ३, जाजरकोटका ४, दाङका ५, सल्यानका २, प्युठानका २, रुकुमका ३ र सुदूरपश्चिम प्रदेशका ६ जना रहेको बताउनुभयो ।
साइनिङ अस्पताल पश्चिम नेपालमा कुष्ठरोगको निदान र उपचारका लागि रेफरल सेन्टरको रुपमा विकास भएको छ ।
सो अस्पतालले बहिरङ्ग सेवामार्फत गत वर्ष १८ हजार ९०८ जनालाई सेवा प्रदान गरेको जनाएको छ । जसमा कुष्ठरोगसम्बन्धी समस्या लिएर आएका दुई हजार ७८४ तथा छालाजन्य समस्या भएका १६ हजार १२४ जना रहेका थिए ।
अन्तरङ्ग तर्फ १६४ जना बिरामीलाई भर्ना गरेर उपचार गरिएको अस्पताल प्रमुख थारुले बताउनुभयो । साइनिङ अस्पाललले वार्षिक रुपमा अपाङ्गता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदाय स्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायस्तरमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवा लगायतका गतिविधिहरू सञ्चालन गरिरहेको जनाएको छ ।
यस्तै सो अस्पतालले कुष्ठरोगमा अनुसन्धान कार्य पनि गरिरहेको छ । गत वर्ष मात्रै दुई वटा अनुसन्धान कार्य सम्पन्न गरिएको अस्पताल प्रमुख थारुले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले अहिले पनि यसरी कुष्ठरोगका बिरामी यति धेरै जना भेटिनु निकै चिन्ताजनक भएको बताउनुभयो ।
उहाँले यसको पूर्ण रुपमा निदानका लागि सरकारले कुनै न कुनै उपाय पत्ता लगाउन आवश्यक भइसकेको पनि बताउनुभयो । जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले साइनिंग अस्पतालले कुष्ठरोग एवम् छालाजन्य रोगहरूको निदान र उपचारसँगै सचेतना प्रवर्धनमा महत्त्वपूर्ण भूमिका निभाइरहेको बताउनुभयो ।