भवानीदत्त भट्ट
कञ्चनपुर, मङ्सिर २७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस जिल्ला कार्य समिति कञ्चनपुरले दुई वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
कांग्रेसले कञ्चनपुर क्षेत्र १ बाट दुई नेतालाई उम्मेदवारका लागि सिफारिस गरेको छ । चार जना आकाङ्क्षी देखिएपछि क्षेत्र नम्बर १ मा निर्वाचन गरिएको थियो । क्षेत्रीय सभापतिसमेत रहेका गोपालीप्रसाद उपाध्याय ५२ र पुराना नेता भरत विष्ट ५८ मत पाएर सिफारिस भएको क्षेत्रीय सभापतिसमेत रहेका गोपीप्रसाद उपाध्यायले बताउनुभयो ।
यसैगरी क्षेत्र नम्बर १ बाट समानुपातिक र राष्ट्रिय सभातर्फ भने सर्वसम्मत नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ सगुना राना, खिना भण्डारी, राष्ट्रिय सभातर्फ युवा नेता हरेन्द्र विष्ट (होसियार) र प्रकाश पन्तसमेत सर्वसम्मत छनोट हुनुभएको छ । क्षेत्रीय सभापति उपाध्यायले पार्टी केन्द्रको निर्णयअनुसार उम्मेदवार सिफारिस गरेर माथिल्लो समितिमा पठाइएको बताउनुभयो ।
यसैगरी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फ पूर्वमन्त्री एनपी साउँद, हरि बोहरा र दल बहादुर बोहरा सिफारिस हुनुभएको छ । कांग्रेस केन्द्रीय सदस्य साउँद २०७९ को आम निर्वाचनमा क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको थियो ।
यसैगरी, समानुपातिकमा गणेश नेपाली र तौला राना सिफारिस हुनुभएको छ । राष्ट्रिय सभामा पुस्करराज ओझा, देबराज पाठक र इश्वरी खाती सिफारिस हुनुभएको छ ।
यसैगरी, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट भने १९ जना आकाङ्क्षी देखिएकाले अन्तिम टुङ्गो लाग्न भने बाँकी रहेको जनाइएको छ । जसका लागि शनिबार थप छलफल भइरहेको कांग्रेस कञ्चनपुर क्षेत्र नं. ३ का क्षेत्रीय सभापति केशव चन्दले बताउनुभयो ।
उहाँका अनुसार, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्व गृहमन्त्री रमेश लेखक, प्रेमबहादुर विष्ट र शंकरबहादुर चन्द आकाङ्क्षी देखिनुभएको छ ।
यसैगरी, प्रतिनिधि सभा समानुपातिकमा माया भट्ट, कल्पना केसी र हरि ठाकुर आकाङ्क्षी हुनुहुन्छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भने १३ जना आकाङ्क्षी देखिएको क्षेत्र नं. ३ का क्षेत्रीय सभापति चन्दले बताउनुभयो । शनिबार साझँसम्म निक्र्याेल लगाएर उम्मेदवारहरु सिफासिर गरिने जिल्ला कार्यसमितिले जनाएको छ । सरकारको निर्णय अनुसार प्रतिनिधि सभा निर्वाचन फागुन २१ गते र राष्ट्रिय सभा निर्वाचन माघ ११ गते निर्धारण गरिएको छ ।