सन् १८०९ मा महाराजा रणजित सिंहको अधीनमा रहेको काँगडा किल्लामाथि विजय हासिल हुन नसकी सतलजवारि नै नेपाल राज्यको खेमा गाड्नु परेको वर्णन लोकगाथा तथा इतिहासमा पाइन्छ ।
वीर बलभद्र कुँवर नेपाल र नेपालीका लागि गौरवका पात्र हुन् । नेपालको इतिहासमा उनको नाम स्वर्णाक्षरले लेखिएको छ । नेपालको इतिहासमा मात्र होइन, वैश्विक युद्धको इतिहासमा बलभद्र कुँवर अविस्मरणीय व्यक्तित्व बनेका छन् ।
नालापानी युद्धका नायक हुन्– बलभद्र कुँवर । उनको वीरता, सौर्य, पराक्रम र सुझबुझको प्रशंसा शत्रुबाट समेत हुनु दुनियाँमै असामान्य पाटो बनेको छ । अहिले पनि देहरादुनको सहस्त्रधारा मार्गमा अवस्थित ‘खलङ्गा स्मारक’ ले उनको अदम्य साहस र वीरताको अनुपम गाथा गाइरहेको छ । देहरादुनको पल्टन बजारबाट करिब साढे छ किमी दुरीमा रहेको छ यो स्मारक । नेपाल–अङ्गे्रज युद्ध सकिएपछि यहाँ स्मारक बनाइएको हो । यसमा अङ्ग्रेज जनरल जिलेस्पीका साथै बलभद्रको पनि स्मारक राखिएको छ । अङ्ग्रेज सरकारद्वारा स्थापित शिलालेखमा ‘हाम्रा वीर शत्रु र उनका वीर गोरखालीहरूको स्मृतिमा सम्मानोपहार’ उल्लेख हुनुले यस स्मारकलाई बिरलाकोटीकै तुल्याएको छ ।
हाल भारतीय पुरातत्व विभाग अन्तर्गत रहेको यस स्मारकको शिलालेख पनि यतिखेर स्मरणीय बनेको छ । यसमा ‘कलिंगा (खलंगा) स्मारक’ शीर्षक दिई ‘इतिहासमा आफ्नै प्रकारको एक अलग स्मृति स्मारक जसमा विजयी सेनाले आफ्ना सहिद सेनानायक ‘जिलेस्पी तथा अङ्ग्रेज साथीहरूको सम्झनामा र गोरखा सेनापति बलभद्र थापाको अदम्य वीरताका लागि संयुक्त श्रद्धाञ्जलि दिँदै यस स्मृति स्मारकलाई रिस्पना नदीतटमा निर्मित गरियो ।’ हिन्दी भाषामा उल्लेख छ । यही बेहोरामुनि अर्को अनुच्छेदमा अङ्कित छ, ‘सन् १८१४ मा दुन उपत्यकामा नालापानीको पहाडमा अवस्थित गोरखालीको किल्लामाथि अङ्ग्रेज फौजका सेनानायक जनरल जिलेस्पीले आक्रमणको प्रयास गरे । गोरखा सेनापति बलभद्र थापा जो अमरसिंह थापाका नाति थिए, को नेतृत्वमा गोरखा सेनाका सिपाहीसहित किल्लामा उपस्थित महिला तथा केटाकेटीले पनि वीरतापूर्वक अङ्गे्रजी फौजको सामना गरे जसमा जनरल जिलेस्पी आफ्ना कैयन् साथीसहित ३१ अक्टुबर १८१४ मा मारिए । पछि विपरीत परिस्थितिहरूमा गोरखा सेनापति बलभद्र थापाले नालापानी किल्ला त्याग्नु प¥यो ।’ उक्त बेहोरामुन्तिर ‘अधीक्षण पुरातत्वविद् भारतीय पुरातत्व सर्वेक्षण २००५’ उल्लिखित छ । शिलालेखको पल्लोपट्टि यसको अङ्गे्रजी अनुवादसमेत राखिएको छ ।
बहादुरीको कदर
नालापानी युद्धमा नेपाली (गोरखाली) को विजय नभए पनि बहादुरीको कदर गर्दै अङ्गे्रज सरकारद्वारा ‘हाम्रा वीर शत्रु र उनका वीर गोरखालीहरूको स्मृतिमा सम्मानोपहार’ उल्लेख रहनुले समस्त नेपालीको शिर गौरवले उँचो बनाएको छ । शिलालेखमा उल्लिखित नाम तथा स्थानका बारेमा चाहिँ सच्याउनुपर्ने खाँचो रहेकामा दुईमत छैन । बलभद्र कुँवर हुनुपर्ने ठाउँमा बलभद्र थापा रहनुलाई संशोधनीय मानिएको छ । शिलालेखको शीर्षकमा उल्लिखित ‘कलिंगा (खलंगा) स्मारक’ पनि यतिखेर विचारणीय बनेको छ । कलिङ्गा र खलङ्गाबिच कुनै साइनो छैन । कलिङ्गाको अर्थ कलिङ्ग देश वा त्यस देशका बासिन्दा मान्ने हो भने पनि यस खलङ्गासँग तालमेल बस्दैन । ओडिसाको प्राचीन नाम कलिङ्ग हो । नेपाली शब्दकोश अनुसार खलङ्गाको अर्थ छाउनी हुन्छ । गोरखाली फौजका छाउनी/गढीलाई खलङ्गा भनिएको छ । अङ्ग्रेजको उच्चारणमा खलङ्गा ‘कलिङ्गा’ बन्न पुगेकाले लिखितम्मा पनि त्यसको छाप परेको हुन सक्छ ।
अदम्य साहस
यो ‘खलङ्गा स्मारक पार्क’ बाट झन्डै चार किमी दुरीमा ‘बलभद्र खलङ्गा युद्ध स्मारक (१८१४)’ रहेको छ । यहाँ राखिएको शिलालेखमा चाहिँ बलभद्रको नाम ‘बलभद्र कुँवर थापा’ देखिन्छ ।
‘एंग्लो–गोर्खा युद्ध, बलभद्र खलंगा विकास समिति, नालापानी, देहरादून’ लेखिएको प्रतीकचिह्नमुन्तिर हिन्दीमा ‘उत्तराखण्डको गढवाल मण्डलमा स्थित ऐतिहासिक धरोहर ‘नालापानी युद्धस्मारक’ अङ्कित छ । यसको ठिक तल ‘खलंगा युद्ध–१८१४’ शीर्षकमुन्तिर रहेको बेहोरा यसप्रकार छ :
युद्ध स्मारक खलङ्गा, नालापानी, देहरादुनको क्षेत्रमा स्थित छ । यो युद्ध अक्टोबर १८१४ का बखत खलङ्गाको लडाइँमा गोरखा सैनिक, महिला र केटाकेटीको वीरता, अदम्य साहस, उच्चतम जुझ्ने क्षमता र सर्वोच्च बलिदानको प्रमाण हो । ब्रिटिस इन्फैट्री डिभिजनमा ३५ सय सैनिक सामेल थिए र साथमा धेरै तोपखाना, बन्दुकद्वारा मेजर जनरल रोबर्ट रोलाँ जिलेस्पीको कमानलाई खलङ्गा किल्ला नालापानीमा हमला गर्ने काम सुम्पिएको थियो । किल्लाको रक्षा बलभद्र कुँवर थापाले गरेका थिए, जसमा जनरलको हमला विफल तुल्याउन महिला र केटाकेटीसहित कुल पाँच सय/छ सयको सङ्ख्यामा गोरखा सैनिक थिए । कर्नल मोबेको अति आत्मविश्वास र उत्सुकताले २४ अक्टोबर १८१४ मा किल्लामाथि पहिलो हमला ग¥यो । अत्यधिक गोलाबारीपछि गोरखा सैनिकले दृढतासाथ युद्ध गरे अनि शत्रुको हमलालाई जवाफ दिए, त्यसपछि ब्रिटिस सेनामा धेरै क्षति भयो । ३१ अक्टोबर १८१४ मा जनरल जिलेस्पीले स्वयम् सेनाको नेतृत्व समाले । बलभद्र कुँवर थापा तथा उनका महिला तथा केटाकेटीसहित गोरखा सैनिक आफ्नो पूरै ताकतले हमला गर्दै आफ्नो धर्तीमा बलियोसित उभिइरहे । आफ्ना हतियार, खुकुरी, धनुकाण र कहाँसम्म भने ढुङ्गामुढाद्वारा बहादुरीसाथ अस्त्र, शस्त्रसित भिडे । यो नजिकको लडाइँमा जनरल जिलेस्पीका अतिरिक्त उनका क्याप्टेन पनि मारिए र कैयन् अन्य ब्रिटिस सैनिक लखेटिएका थिए । ब्रिटिस सैनिक आक्रमणकारीले ज्यादै नोक्सानी बेहोर्नु प¥यो र एक पटक फेरि तिनीहरू युद्धकिल्लाबाट पछाडि धकेलिए, जसकारण तिनले राहत खोज्न र पुनः सबल हुन बाध्य हुनु प¥यो । २९ नोभेम्बर १८१४ मा कर्नल मावेका नेतृत्वमा ब्रिटिस सेनाले खलङ्गामाथि चारैतिरबाट हमला गरे तर बलभद्रका साहसी वीर सैनिक, महिला र केटाकेटीसहित स्थानीय गढवाली एवं कुमाउनीको सहयोगले शत्रुको आक्रमणलाई विफल पारिदिए । राति २९/३० नम्बर १८१४ मा गोरखा सैनिक अधिक सङ्ख्यामा हताहत हुनाले रसदको कमी र एक मात्र पानीको स्रोत पनि बन्द हुनुको विषम स्थितिमा बलभद्र सक्षम ७० सैनिकसँगै स्वेच्छाले खलङ्गा किल्ला छाडी दवारा गाउँतिर प्रस्थान गरे ।
एङ्ग्लो–गोरखा युद्धका बखत मारिएका ब्रिटिस सेना : अधिकारी ३१, अन्य र्यान्क ७५०, घाइते अधिकारी ३५, अन्य र्यान्क १५०० खलङ्गा युद्धका बखत गोरखाद्वारा प्रदर्शित अविश्वसनीय बहादुरी र युद्धकौशलको उच्चतम गुणवत्ताले ब्रिटिस अधिकारीहरूलाई प्रभावित गर्यो । कहाँसम्म भने यो सायद युद्धको इतिहासमा एकमात्र उदाहरण हो, जहाँ एक विजयी सेनाले आफ्नो जनरल जिलेस्पी र उनका सैनिकहरूको स्मारकका अतिरिक्त आफ्ना प्रतिद्वन्द्वी बलभद्र कुँवर थापा र उनका बहादुर गोरखा सैनिकहरूको सम्झनामा दुई स्मारक बनाउन लगाए; जुन आज भारतीय पुरातत्व सर्वेक्षणको तत्वावधानमा सहस्त्रधारा रोड, देहरादुनमा स्थित छ ।
बलभद्र कुँवर थापा तथा उनका बहादुर सेनानीहरूलाई कोटि कोटि नमन एवं भावपूर्ण श्रद्धाञ्जली द्वारा–बलभद्र खलङ्गा विकास समिति, नालापानी, देहरादुन, उत्तराखण्ड । उपर्युक्त बेहोराको अङ्ग्रेजी अनुवाद पनि राखिएको छ ।
पहाडको सिरानमा अवस्थित यो युद्ध स्मारकको मुख्य द्वारअगाडि हिन्दी र अङ्गे्रजीमा लेखिएका दुई वटा सूचनापाटीसमेत छन् । ‘यो युद्ध स्मारक वीर, वीराङ्गनाहरूलाई श्रद्धाञ्जली दिने उद्देश्यले निर्माण गरिएको हो । डिसेम्बर १८१४ मा नालापानी युद्ध समाप्तिका बखत यस क्षेत्रमा ९७ वीर, वीराङ्गनाका दिवङ्गत शरीरलाई अग्निदहन गरिएको थियो । र, ३० वीर मृतक शरीरलाई आधाअधुरै तरिकाबाट गाडिएको थियो । ती वीर, वीराङ्गना देशभक्तको सम्मान र स्मृतिमा यस स्थलको गरिमालाई कायम राख्नु नै एक सच्चा श्रद्धाञ्जली हो’ उल्लेख गर्नुका साथै यस स्थलमा नसालु पदार्थ सेवन गर्न निषेध गर्नुका साथै फोहोरमैला नगर्न र नागरिक कर्तव्य निर्वाह गर्न अनुरोध गर्दै त्यसो नगरे कारबाहीमा पर्ने सूचनासमेत दिइएको छ । यस सूचनापाटीमा एकातिर बलभद्र खलङ्गा विकास समितिको नाम छ भने अर्कातिर ‘निर्देशक, सांस्कृतिक निदेशालय उत्तराखण्ड सरकार’ उल्लेख छ ।
गोरखालीको कीर्तिध्वज
सालका रूखले भरिएको यो डाँडा निकै रमणीय छ । मुख्यद्वारभित्र सबैतिर घेरिई बिचमा सहिद स्मारक रहेको छ, अग्लो यस स्तम्भमा गजुरसहित दुईतिर उजाइएका खुकुरी रहेका छन् । यहाँ पुग्दा नायक बलभद्रलगायत तमाम ज्ञात, अज्ञात वीर, वीराङ्गनाप्रति श्रद्धाले स्वतः शिर निहुरिन पुग्छ । यिनैका बहादुरीको फलस्वरूप भन्नै पर्छ– दुनियाँभरि गोरखालीको कीर्तिध्वज लहलहाइरहेको छ ।
‘कसैले मृत्युसित मलाई डर लाग्दैन भन्छ भने कि त्यो सरासर झुटो बोलिरहेको छ, हैन भने त्यो गोर्खाली हुनु पर्छ’ यो भनाइ यसै फैलिएको होइन । यसमा वीर बलभद्रलगायत अनेक बहादुर पुर्खाको अतुल्य देन रहेको छ ।
विसं १८४५ माघ १७ गते जन्मिएका बलभद्र कुँवरको जन्मस्थल कतै भमरकोट, पाँचखाल, काभ्रेपलाञ्चोक पाइन्छ त कतै प्याफलटोल, काठमाडौँमा जन्मिई भमरकोटमा हुर्किएको उल्लेख पाइन्छ । उनका पुर्खा पनि बहादुर थिए । पिता चन्द्रवीर कुँवर र माता अम्बिकादेवी कुँवर हुन् । ‘जिउँदो बाघ’ नामले प्रसिद्ध बडाकाजी, जर्नेल अमरसिंह थापा बलभद्रका मावली हजुरबा हुन् ।
अङ्ग्रेजको छलनीति
बडामहाराजाधिराज पृथ्वीनारायण शाहद्वारा थालिएको एकीकरणको अभियानमा अमरसिंह थापाको विशिष्ट भूमिका छ । नेपालको पश्चिम किल्लाका सर्वोच्च कमान्डर अमरसिंह थापा राष्ट्रिय विभूति हुन् । उनी कुमाउ, गढवालपछि काँगडा किल्लामाथि नेपालीको विजय चाहन्थे तर उनले यस युद्धमा पराजय बेहोर्नु पर्यो । काँगडाका तत्कालीन शासक, सामन्त संसार चन्दले ‘महिला, केटाकेटीलाई जान दिनू म शरण पर्छु’ भन्दा झुक्यानमा परे अमरसिंह । त्यसबखत संसार चन्द स्त्रीको भेष धारण गरी महाराजा रणजित सिंहको आश्रय लिन पुगे । सन् १८०९ मा महाराजा रणजित सिंहको अधीनमा रहेको काँगडा किल्लामाथि विजय हासिल हुन नसकी सतलजवारि नै नेपाल राज्यको खेमा गाड्नु परेको वर्णन लोकगाथा तथा इतिहासमा पाइन्छ । यसरी सुगौली सन्धि (४ मार्च, १८१६) भन्दा पहिले नेपालको सीमा पूर्वमा टिस्टादेखि पश्चिमतर्फ सतलजवारिसम्म रहन पुग्यो । नेपाली, मराठा र सिख आपसमा मिल्लान् र अजेय बन्लान् भन्ने ठुलो डर अङ्ग्रेजमा थियो । त्यसैले तिनलाई मिल्न नदिन ती अनेकखालका तिगडम गरिरहन्थे भनी इतिहासकारहरूले औँल्याएका छन् । ‘फुटाऊ र राज गर’ भन्ने अङ्ग्रेजको छलनीति सफल नभएको भए आज नेपाल तथा पूर्वीय जगत्को अनुहार बेग्लै हुने थियो ।
जे होस्, नालापानी युद्धपछि बलभद्र कुँवर नेपाल आए र केही समय यहाँ बिताई उनी सिख सेनामा आबद्ध हुन गए । सिख–अफगान युद्धमा १८७९ चैत ३ गते उनले वीरगति प्राप्त गरेको इतिहास भेटिन्छ ।
भद्रकाली मन्दिर
आफ्नो सम्पूर्ण जीवन युद्धमा बिताएका ‘कालीभक्त’ बलभद्र कुँवरले मन्दिर पनि स्थापना गरेका थिए । यसका लागि उनले काठमाडौँबाट भद्रकालीको मूर्ति लगेको भनाइ छ । देहरादुनको प्रिन्सचोकबाट झन्डै १३ किमी दुरीमा यो मन्दिर छ । देहरादुनस्थित ‘सहारनपुर मार्ग’ मा अघि बढ्दा आउने सुरुङमार्गको बायाँतर्फ झन्डै पाँच सय मिटर दुरीमा भद्रकाली मन्दिर पर्छ । सुरुङपारि सहारनपुर हो भने वारि देहरादुन हो । सहारनपुरतर्फ पनि सुरुङ सकिनासाथ बायाँतर्फ करिब उस्तै दुरीमा अर्को मन्दिर छ । यसलाई ‘डाटकाली मन्दिर’ भन्छन् । नयाँ सवारीसाधन किन्नेहरू पूजा आदिका लागि यहाँ पुग्छन् । यो मन्दिर पनि भद्रकालीकै हो । यसमा प्रस्ट रूपमा ‘प्राचीन सिद्धपीठ श्री माँ भद्रकाली (घाटेवाली) डाटकाली मन्दिर’ लेखिएको छ । कुनै शिलालेख आदि नपाइएकाले यो मन्दिर वीर बलभद्रद्वारा स्थापना गरिएको भन्न सकिएन । त्यही मन्दिर सामुन्ने हुँदै देहरादुनतिरको बाटो फर्किएमा पनि वल्लो भद्रकाली मन्दिर आउन सकिन्छ । यस मन्दिरमा पनि ‘प्राचीन सिद्धपीठ श्री माँ भद्रकाली माँ डाटकाली मन्दिर’ नै लेखिएको छ । अघिल्लो मन्दिरमा झैँ यहाँ पनि ‘प्राचीन सिद्धपीठ श्री माँ भद्रकाली (घाटेवाली) डाटकाली मन्दिर’ उल्लेख छ । दुवैतिरका नामपाटीले मन्दिरको नाममा समानता मात्रै होइन, प्राचीनतामा पनि जोड दिएको छ । मन्दिरका केही सिँढी उक्लिई भद्रकाली माताको दर्शनसँगै दायाँतिर नजर दौडाउँदा अन्योल ‘छुमन्तर’ हुन पुग्छ । भित्तामा खिपिएको एक शिलालेखमा ‘ॐ श्री माँ भद्रकाली जी मंदिर द्वारा निर्मित सेनापति बल भद्र थापा सन् १८०४ ई.’ उल्लेख छ ।
मन्दिरको बाहिरपट्टि एउटा पाटीमा यस्तो उल्लेख भेटिन्छ–
‘सेनापति वीर बलभद्रद्वारा सन् १८०४ मा निर्मित श्री भद्रकाली मन्दिरको दुईशय वर्ष पुगेको उपलक्ष्यमा श्री श्री महन्त देवेन्द्र दास गुसाईंको सौजन्यबाट दुईशय वर्षको समारोह अखिल भारतीय नेपाली भाषा समितिको तत्वावधानमा सन् २००४ मई १५ तारीखमा सम्पन्न भयो ।
अखिल भारतीय नेपाली भाषा समिति (रजि.) (केन्द्रीय) देहरादून, उत्तरांचल’ शिलालेख तथा सूचनापाटीले मन्दिरको प्राचीनता र वीर बलभद्र कुँवरको देन छर्लङ्ग्याएकामा शङ्कै रहेन तर यहाँ पनि नाम बलभद्र थापा रहेकाले सच्याउनुपर्ने स्थिति छ ।
‘राजाजी नेसनल पार्क’ को मनोरम परिवेशमा अवस्थित यो भद्रकाली मन्दिर अहिले पनि भक्तजनको आस्थाकेन्द्र बनेको छ । निकुञ्ज क्षेत्र भएकाले मृगादि पशुपन्छी निर्भीकतासाथ विचरण गरिरहेका देखिन्छन् ।
हाल यस भद्रकाली मन्दिरका महन्त दिपेश गोस्वामी (गोसाईं) हुन् । यसअघि उनका पिता देवेन्द्रदास गोस्वामी महन्त थिए । मन्दिर स्थापना गरी यसको पूजाआजाको जिम्मा वीर बलभद्रले यिनैका पुर्खालाई दिएका हुन् रे !
वीर बलभद्रसँग सम्बन्धित यस्ता ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक स्थलमा वीर बलभद्रको सचित्र जीवनी तथा गोरखाली बहादुरी झल्काउने अन्य विषयवस्तुसमेत राख्न सकिए सुनमा सुगन्ध हुने छ ।