• १८ फागुन २०८२, सोमबार

कांग्रेसले विगतका कमजोरी सच्याएर देशलाई नयाँ दिशा दिन्छ : विश्वप्रकाश शर्मा

blog

उदयपुरको गाईघाटमा सोमबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै काङ्ग्रेस उपसभापति विश्वप्रकाश शर्मा । तस्बिर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल

गाईघाट, फागुन १८ गते । नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफूहरू यतिबेला पार्टीलाई बदलेर देश बदल्ने प्रतिज्ञासहित निर्वाचनमा होमिएको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले तोकेको प्रचारप्रसारको अन्तिम दिन सोमबार गाईघाटमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उपसभापति शर्माले निर्वाचनमार्फत मुलुकलाई निकास दिन अबको काङ्ग्रेस सक्षम रहेको र आम मतदाताको भरोसा एवं विश्वास गर्ने एक मात्र पार्टी काङ्ग्रेस भएकाले ढुक्क भएर मतदान गर्न आग्रह गर्नुभयो । नवीन ऊर्जा लिएर आएको काङ्ग्रेसले विगतका कमीकमजोरी सच्याउने र अबको पाँच वर्षमा देशलाई नयाँ अवधारणाअनुसार अगाडि बढाउने उहाँको दाबी छ ।

मुलुकलाई विकास र समृद्धिको बाटोमा लैजान संविधान संशोधन गर्ने, स्थिर सरकार गठनको मार्ग कोर्ने र भ्रष्टाचार नियन्त्रण गरी सुशासनको प्रत्याभूति गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । विकास निर्माणका कार्यमा ढिलासुस्ती गर्ने ठेकेदार, प्राविधिक र कर्मचारीलाई दण्डित गर्ने नभई २४सै घण्टा काममा लगाउने गरी नयाँ कार्यविधि ल्याइने उहाँले बताउनुभयो ।

नेपालको राजनीतिक इतिहासमा भएका महत्त्वपूर्ण परिवर्तनमा काङ्ग्रेसको अग्रणी भूमिका रहेको स्मरण गर्दै उहाँले २००७ सालको प्रजातान्त्रिक आन्दोलनदेखि २०४६ सालको जनआन्दोलनसम्मका ऐतिहासिक उपलब्धि काङ्ग्रेसकै नेतृत्वमा सम्भव भएको उल्लेख गर्नुभयो । साथै, २०६२/६३ को जनआन्दोलनमार्फत देशलाई लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण गर्ने नेतृत्वसमेत काङ्ग्रेसले नै लिएको उहाँले बताउनुभयो ।

उपसभापति शर्माले पछिल्लो समय नयाँ पुस्ताको आवाज र अपेक्षालाई काङ्ग्रेसले गम्भीरतापूर्वक लिएको बताउँदै अबको राजनीति पारदर्शिता, सुशासन र जवाफदेहितामा आधारित हुनुपर्नेमा जोड दिनुभयो । भ्रष्टाचार, बेथिति र अव्यवस्था अन्त्य गर्न काङ्ग्रेसले आत्मसमीक्षा गर्दै आफ्नै नेता तथा जनप्रतिनिधिबाट छानबिन प्रक्रिया सुरु गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वर्तमान जटिल राजनीतिक परिस्थितिलाई काङ्ग्रेसले नै जिम्मेवारीपूर्वक नेतृत्व गर्दै देशलाई स्थायित्व र समृद्धितर्फ लैजाने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो, "देश सङ्कटमा पर्दा काङ्ग्रेसले नै निकास दिएको इतिहास छ, अब पनि त्यो परम्परालाई निरन्तरता दिँदै देशलाई सही दिशामा लैजानेछौँ ।"