• ९ वैशाख २०८३, बुधबार

लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

blog

लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सवका बारेमा जानकारी गराउँदै आयोजक । तस्बिर : लीलाधर वली

लीलाधर वली  

घोराही, वैशाख ९ गते । दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ । सङ्कटको अवस्थामा पुग्दै गएको लाटोकोसेरो संरक्षण गर्ने गर्ने उद्देश्यले पहिलो पटक दाङको लमहीस्थित जैविक विविधता पार्कमा दुई दिने उत्सव हुने भएको हो ।  

अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमही र काठमाडौँस्थित ‘प्रकृतिका साथीहरू’ संस्थाको संयुक्त आयोजनामामा यहि वैशाख १८ र १९ गते लाटोकोसेरो उत्सव हुन थालेको छ । 

किसानको साथीका रूपमा चिनिने लाटोकोसेरोको संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले दाङमा पहिलो पटक उत्सवको आयोजना गरिएको प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले जानकारी दिनुभएको छ । उहाँका अनुसार पछिल्लो समय लाटोकोसेरोको अवैध व्यापार र चोरी सिकार बढ्दै जाँदा यसको अस्तित्व सङ्कटमा परेको छ । नेपालमा पाइने २४ प्रजातिका लाटोकोसेरोमध्ये दाङमा करिव ११ प्रजातिका पाइने गरेको निर्देशक आचार्यले बताउनुभयो । 

लाटोकोसेरोसँगै समग्र चरा तथा वन्यजन्तु संरक्षणको सन्देश पु¥याउने, स्थानीय समुदायलाई वातावरणप्रति जिम्मेवार बनाउने र जैविक विविधताको महत्वबारे जानकारी गराउने उद्देश्यले सन २०१२ देखि प्रत्येक वर्ष लाटोकोसेरो तथा हुचिल उत्सव गरिदै आएको बताउनुभयो । 

दाङअघि नेपालका धादिङ, चितवन, नवलपरासी, गोर्खा, कास्की, कपिलवस्तु, दोलखा र खोटाङलगायतका जिल्लामा उत्सव गरिएको प्रकृतिका साथीहरू संस्थाका निर्देशक आचार्यले जानकारी दिनुभएको छ । 

उत्सवले लाटोकोसेरो सम्वन्धी स्थानीय नागरिकलाई ज्ञानसँगै संरक्षणमा सहयोग पु¥याउने अजम्मरी सामुदायिक वन उपभोक्ता समूह लमहीका अध्यक्ष पवन शर्मा रिजाल बताउनुहुन्छ । दुई दिन चल्ने उत्सवमा पहिलो दिन लाटोकोसेरोको महत्व, संरक्षणका लागि गर्नुपर्ने कामसँगै चरा अवलोकन, लाटोकोसेरोसम्बन्धी अस्थायी लघु म्युजियम, रोबोट प्रदर्शनी तथा भिडियो–स्लाइड प्रस्तुति राखिनेछ । 

दोस्रो दिन संरक्षण, संस्कृति र लाटोकोसेरोसँग सम्बन्धित सामग्रीहरूको प्रदर्शनी गरिने आयोजकले जनाएको छ । यसका साथै स्थानीय थारु, मगर, गुरुङ, कुमाल लगायतका समुदायका सांस्कृतिक नृत्य, भजन तथा लोपोन्मुख स्थानीय खेल प्रतियोगिता पनि आयोजना गरिनेछ । 

उत्सवलाई थप आकर्षक बनाउन नेपालको सबैभन्दा ठूलो लाटोकोसेरोको मास्कोटसमेत प्रदर्शन गरिने तयारी गरिएको छ । विश्वभर २३ प्रकारका लाटोकोसेरो पाइने अभिलेख छ भने नेपालमा २४ प्रजाति पाइने गरेको उल्लेख छ ।